२०८१ वैशाख ८ गते | 20th of April 2024

पोखरा–१२ नमुना वडा बनाउँछु–लामिछाने

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २२ गते १०:५१

पोखरा, २२ बैशाख ।
नेकपा एमालेबाट पोखरा लेखनाथ–१२ मा वडाध्यक्षका उम्मेदवार ऋषिराम लामिछानेले आफ्नो वडालाई महानगरभरिकै नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । एमालेको वडा निर्वाचन कमिटीले शुक्रबार माटेपानी शीतलदेवीमा आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा उनले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
स्थानीय तहलाई दिइएका अधिकार जनताको पक्षमा सदुपयोग गर्ने बचनबद्धता पनि एमाले उम्मेदवार लामिछानेले व्यक्त गरे । ‘मौका दिनुभयो भने पारदर्शी र भ्रष्टाचारमुक्त सेवा वडाबासीलाई दिनेछौं,’ उनले भने, ‘एमालेलाई मत दिएकोमा जनताले पश्चाताप गर्नुपर्ने छैन ।’ शीतलदेवी, भद्रकाली मन्दिर, गुम्बाहरु लगायत धार्मिक सम्पदाको संरक्षण गर्ने, ढल व्यवस्थापन गर्ने, सडकहरु भत्कनेबित्तिकै मर्मत गरेर सधैं चुस्त बनाउने लगायत प्रतिबद्धता पनि वडाध्यक्षका उम्मेदवार लामिछानेले व्यक्त गरे । सफा सडक, छाडा चौपाय नियन्त्रण लगायत योजना उनले सुनाए ।
निजामती सेवाको अधिकृतबाट अवकासप्राप्त लामिछानेले प्रशासनिक क्षेत्रमा आफूले संगालेको सबै अनुभव जनताको सेवामा लगाउने बताए । अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातकपछि जनप्रशासनमा स्नातकोत्तर (एमए) गरेका उनले आफ्नो अध्ययन र अनुभव जनताको सेवामा लगाउने र घरदैलो सरकार आएको अनुभूति दिने विश्वास दिलाए । उक्त कार्यक्रममा एमाले सभासद चूडामणि जंगलीले महिला, दलित र आदिवासी जनजातिको समावेशिताको सुनिश्चितता संविधानमै गर्न एमालेले ठूलो भूमिका खेलेको बताए । जातीय सदभावको पक्षमा आफ्नो पार्टी रहेको पनि उनले सुनाए ।
एमालेबाट मेयरका उम्मेदवार मानबहादुर जिसीले समृद्ध महानगरः सुखी महानगरबासीको नारालाई साकार पार्ने प्रतिबद्धता व्यक्त गरे । उनले पोखरालाई उद्यमशीलहरुको सहर बनाउने, हरियाली र वातावरणमैत्री नगरको रुपमा विकास गर्ने योजना पनि सुनाए । उपमेयरकी उम्मेदवार मञ्जु गुरुङले घरआँगनमै सरकारी सेवा पुग्ने वातावरणका लागि एमालेका उम्मेदवार जिताउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘एमाले सधैं जनताको काम गर्छ, स्थानीय सरकारमा पनि एमालेलाई जिताउनुपर्छ ।’
एमाले पोखरा–१२ का अध्यक्ष गुप्तबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उक्त वडामा एमालेका इन्चार्ज शिव बरालले भूगोल, उमेर र जातीय सन्तुलनसहितका उम्मेदवार एमालेले उभ्याएको बताए । अध्ययन र अनुभवले खारिएका व्यक्तिलाई वडाध्यक्षको उम्मेदवार बनाएको पनि उनको भनाइ थियो । अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य नवजीप ढुंगानाले उक्त कार्यक्रम सञ्चालन गरेका थिए । उक्त वडामा एमालेले खुला वडा सदस्य देशभक्त केसी र निर्मल थापा, दलित महिला सदस्य विष्णु विक र महिला सदस्य शान्ति गुरुङलाई उम्मेदवार बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *