२०८१ वैशाख ७ गते | 19th of April 2024

नेपालमा बिदेशी : घुम्ने भिसामा अर्कै काम

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १२ गते ५:११

काठमाडौं  । गृह मन्त्रालयले गतिविधि अनुगमन गर्न नसक्दा नेपालमा बसिरहेका विदेशी नागरिकले प्रवेशाज्ञा (भिसा) को दुरुपयोग गरेको पाइएको छ । मन्त्रालयले नेपालमा बसिरहेका विदेशीको अनुगमन नगर्दा उनीहरू कहाँ र के गरिरहेका छन् यकिन जानकारीसमेत सरकारसँग छैन ।

पर्यटक, विद्यार्थी, व्यापार, नाता, कामदारलगायत भिसामा नेपाल बसेका कैयौं विदेशीले भिसाको दुरुपयोग गरी आफू अनुकूल काम गर्दै आएका छन् । पर्यटक भिसामा आएका कतिपय विदेशी नेपालमा इसाई धर्म प्रचारप्रसारमा संलग्न रहेको फेला परेको छ । कतिपय भिसाको म्याद सकिएपछि पनि यहाँ बसिरहेका (ओभर स्टे) छन् । विदेशीले लिएको भिसाअनुरूप काम गरे÷नगरेको वा भिसाको दुरुपयोग गरी अन्य गतिविधिमा संलग्न भए÷नभएकोमा मन्त्रालय अनभिज्ञ छ ।

करिब ३ वर्षअघि पर्यटक भिसामा नेपाल आएका ५४ जना उत्तर कोरियाली सुरुङ खनिरहेको भेटिएपछि तत्कालीन उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले उनीहरूलाई निष्कासनको निर्णय गरेका थिए । मन्त्रालयले प्रभावकारी संयन्त्र नबनाउँदा अध्यागमन विभागले अनुगमन गर्न सकेको छैन । पछिल्लो पटक पर्यटक र नातेदारको भिसामा नेपालमा बसेका विदेशी गैरकानुनी रूपमा काम गरेको सूचना आएको भन्दै अध्यागमन विभागले त्यस्तो पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।विभागले आइतबार सूचना प्रकाशन गरी पर्यटक र नातेदार भिसा भएका विदेशीले कुनै संघसंस्थामा काम गर्न नपाउने दोहोर्‍याएको छ।

सरकारले अनुगमनको स्पष्ट नीति बनाउन नसक्दा नेपालमा बसिरहेका विदेशीको भिसा दुरुपयोग बढेको छ ।

अध्यागमन नियमावली २०५१ को नियम २० मा पर्यटक र परिवारको सदस्यका हैसियतले भिसा पाउने विदेशीले नेपालमा रहँदा पारि श्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न नपाउने उल्लेख छ । अध्यागमन विभागले पर्यटक र रिलेसन भिसा लिएकाले काम गरेको पाइए काम गर्ने र लगाउने दुवैलाई अध्यागमन ऐनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ । रिलेसन भिसा लिएर नेपाल बसेकाले कुनै काम गर्न चाहे विभागको स्वीकृति लिएर काम गर्न सक्ने प्रावधान छ । पर्यटक भिसामा आएका कुनै पनि विदेशी नागरिकले काम गर्न पाउँदैनन् ।

विभागले नेपालमा बसिरहेका विदेशीको गतिविधि अनुगमन र नियन्त्रण गर्न बनाएको निर्देशिकासमेत मन्त्रालयले स्वीकृत गरेको छैन । पर्यटक भिसामा आएका कतिपय विदेशी विभिन्न संघसंस्थामा स्वयंसेवक (भोलेन्टियर) का रूपमा काम गरिरहेका छन् । पर्यटक भिसामा नेपाल आएकाले स्वयंसेवकका रूपमा समेत काम गर्न पाउँदैनन् ।

अध्यागमनले दसैंअघि नै ‘विदेशी नागरिक अनुगमन निर्देशिका २०७४’ पेस गरे पनि मन्त्रालयले चासो नदिँदा थन्किएको छ । विभागले गैरकानुनी रूपमा नेपाल बसिरहेका र भिसा दुरुपयोग गर्नसक्ने विदेशीको गतिविधि अनुगमन गर्न निर्देशिका बनाएर मन्त्रालयमा पेस गरेको थियो । विभागका महानिर्देशक दीपक काफ्लेले विदेशी नागरिक अनुगमन निर्देशिका पारित हुने चरणमा रहेको बताए । महानिर्देशक काफ्लेले भने, ‘निर्देशिकामाथि विभिन्न चरणमा छलफल भइरहेको छ । छिट्टै पारित हुन्छ ।’ अनुगमन अभावमा पर्यटकीय स्थल पोखरा, ठमेललगायत स्थानमा पर्यटक भिसामा आएका विदेशीले सडकमै पसल थापेर बस्ने गरेका छन् ।

पोखरामा अध्यागमन कार्यालय भए पनि अनुगमन गर्न सकेको छैन । विदेशी अनुगमनको स्पष्ट नीति बन्न नसक्दा नेपालमा विदेशीको आपराधिक गतिविधिसमेत बढेको छ । विभिन्न बैंकका एटीएम मेसिनबाट गैरकानुनी रूपमा रकम निकाल्ने, लागुऔषध कारोबार, अवैध भीओआईपी सञ्चालनलगायत गैरकानुनी काममा विदेशी नागरिक संलग्न हुँदै आएका छन् ।

नेपाल आएका विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमित, व्यवस्थित एवं नियन्त्रण गर्ने, विदेशीलाई पदयात्रा अनुमति दिने, भिसा जारी गर्ने, नियमित गर्ने र रद्द गर्नेलगायत अध्यागमनसम्बन्धी काम विभागले गर्दै आए पनि विदेशीको गतिविधि अनुगमन भने गरेको छैन ।

विदेशीका कर्तुत

– एटीएम मेसिनबाट रकम चोरी

– लागुऔषध कारोबार

– भीओआईपी सञ्चालन

– पर्यटक भिसाका केही विदेशी इसाई धर्म प्रचारक

– रिलेसन भिसाका पर्यटकले कामको स्वीकृति नलिनु

– अन्नपूर्णपोष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *