२०८१ वैशाख ७ गते | 19th of April 2024

२०१७ का उत्कृष्ट १० तस्वीरहरु

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १५ गते २०:३१

एजेन्सी लन्डन – सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी लिएकोदेखि जिम्बाबेका राष्ट्रपति मुगाबे पदबाट हट्नु नै मुख्य घटना रह्यो । यसै वर्ष अमेरिकाले तीन शक्तिशाली आँधी र भीषण डढेलोको सामना गर्‍यो । म्यानमारबाट लाखौँ रोहिंग्या मुस्लिम आफ्नो ज्यान जोगाउन बंगलादेशमा शरण लिन पुगे । यता, उत्तर कोरियाका नेता किम जोङ उनले अन्तर्राष्ट्रिय समुदायको चेतावनी नसुनी पटक–पटक शक्तिशाली क्षेप्यास्त्र प्रहार पनि यसै वर्ष गरेका थिए । यस्तै, ठूला र साना घटनाका कारण यो वर्ष सबैलाई स्मरणीय रहनेछ । गत वर्ष अन्तर्राष्ट्रिय मिडियाहरूले लिएका हजारौँ तस्बिरहरूमध्ये १० चर्चित तस्बिर यस्ता छन् :

१. आतंकको बीचमा बालक (अफगानिस्तान) :

सन् २०१७ मा अफगानिस्तानको राजधानी काबुलमा सुरक्षाकर्मी र आतंककारी समूहबीच भिडन्त भइरहँदा एक बालक टुलुटुलु सुरक्षाकर्मीलाई हेरिरहेको तस्बिर सबैभन्दा उत्कृष्ट मानिएको छ । सिया मस्जिदमा आतंककारी योजना असफल बनाउने क्रममा सुरक्षाकर्मीले कारबाही गरेको थियो । सुरक्षाकर्मीले बालकलाई मस्जिदबाट भाग्न निर्देशन दिइरहेका छन् । तर, बालक नभागी सुरक्षाकर्मीतर्फ ध्यान केन्द्रित गरेका देखिन्छन् । चारवर्षे बालक आफ्नो हजुरबुवासँगै मस्जिद पुगेका थिए । आक्रमणमा बालकका हजुरबुबाको निधन भएको थियो ।

२. नदी पार गर्दै रोहिंग्या (बंगलादेश) :

म्यानमारको रोहिंग्या शरणार्थी नदी पार गर्ने क्रममा भोगेको पीडा दोस्रो शक्तिशाली तस्बिर हो । म्यानमार सैनिकको कारबाही सहन नसकी लाखौँ रोहिंग्या बंगलादेशमा शरणार्थी बनेका छन् । अहिलेसम्म ६ लाख २० हजार रोहिंग्या बंगलादेशको कोक्स बजारमा पुगेका छन् । बंगलादेश र म्यानमारबीचको नदी पार गर्ने क्रममा एक महिला हिलैहिलोको खाडलमा फसेकी देखिन्छिन् । तस्बिरमा ती महिलालाई बचाउन धेरै सहयोगीले हात दिइरहेका छन् । तीमध्ये तस्बिर लिने फोटोग्राफरले समेत महिलालाई खाडलबाट बाहिर ल्याउन आफ्नो बायाँ हात दिएका छन् ।

३. खण्डहर बेडरुममा घरमालिक (सिरिया) :

मध्यपूर्वी एसिया सिरियाको गृहयुद्ध पूरा भएको छैटौँ वर्षको अवसरमा लिइएको तस्बिर तेस्रो उत्कृष्ट हो । ९ मार्चमा ७० वर्षीय वृद्ध व्यक्ति कामै नलाग्ने खण्डहर घरमा आरामपूर्वक बसिरहेका छन् । आफ्नो निजी बेडरुममा उनी सिगारको आनन्द लिइरहेका छन् । उनको बेडरुम कामै नलाग्ने भए पनि सिलिङसँगै रहेको टेपरेकर्डर केही भएको रहेनछ । त्यही टेपरेकर्डरमा उनी मोहमद दिया अलको सुमधुर गीत सुनिरहेका छन् । युद्धका क्रममा ती व्यक्तिले महँगा कार पनि गुमाए । घरको अवस्था जस्तो भए पनि मालिकले भने सफा लुगा लगाएका छन् ।

४. उनको मिसाइल नजर (उत्तर कोरिया) :

यो तस्बिर उत्तर कोरियाका नेता किम जोङ उनको हो । सेप्टेम्बरमा उत्तर कोरियाले साना र ठूला गरी दुई क्षेप्यास्त्र परीक्षण गरेको थियो । त्यसमध्ये हुवाङसाङ–१२ को क्षेप्यास्त्र परीक्षण गर्दा उन पनि परीक्षणस्थलमै पुगेका थिए । हुवाङसाङ–१२ क्षेप्यास्त्र लन्च हुँदा उन निकै चासोका साथ हेरिरहेका देखिन्छन् । धेरै नै नजिकबाट नजर गरेका कारण उनलाई बायनाकुलर नै आवश्यक परेन । सो क्षेप्यास्त्र जापानको आकाश हुँदै समुद्रमा खसेको थियो ।

५. आगोबीच गल्फ (क्यालिफोर्निया) :

क्यालिफोर्नियामा इतिहासकै ठूलो डढेलो लाग्यो । क्यालिफोर्नियाको ५० हजार एकड जंगलमा डढेलो लागेको थियो । घटनाबारे अमेरिकामा मात्र नभएर विश्वका धेरै राष्ट्रले समेत चासो देखाएका थिए । सोही घटना क्यामेरामा कैद गर्न एसोसिएट प्रेसका फोटोजर्नालिस्ट खुला मैदानमा पुगेका थिए । अचम्म के रह्यो भने फोटो लिन पुगेको खाली मैदान गल्फ कोर्स रहेछ । अझ त्योभन्दा पनि अर्को ठूलो अचम्मको पक्ष के भने पछाडि जंगलमा दनदन आगो बलिरहँदा गल्फ कोर्समा प्रतियोगिता भइरहेको थियो । पछाडि आगो र बीचमा गल्फ सट प्रहार गरिरहेको तस्बिर चौथो उत्कृष्ट तस्बिर बन्यो ।

६. संसद्मै छोरीलाई स्तनपान (अस्ट्रेलिया) :

यस वर्ष अस्ट्रेलियन संसद्मा कसैले नसोचेको घटना भयो । संसद्भित्र कारबाही चलिरहँदा सिनेटर लैरिया वाटर्सनले आफ्नी दुईमहिने छोरी आलियालाई स्तनपान गराइन् । ग्रिन्स पार्टीको सिनेटर वाटर्सनले विशेष रोगबारे भाषण दिइरहँदा आलिया रोएकी थिइन् । भाषणबीचमै रोकी उनले छोरीलाई स्तनपान गराइन् । संसद्भित्र उनको यस कार्यलाई निकै सराहना गरिएको थियो । वाटर्सनकी छोरी आलिया संसद् भवनमै आमाको स्तनपान गर्ने पहिलो नानी बनेकी छिन् ।

७. प्रेमिकाको सुरक्षा (अमेरिका) :

स्टिफन पेडोकले अमेरिकाको लास भेगासमा भएको सांगीतिक कन्सर्टमा अन्धाधुन्द गोली चलाएका थिए । २२ हजार दर्शकबीच पेडोकले गोली चलाउँदा ५९ व्यक्तिले ज्यान गुमाए । यसैगरी पाँच सय २७ जना घाइते भए । पेडोकले गोली चलाइरहँदा कन्सर्टस्थलमा भागदौड मच्चियो । एक महिला भाग्न नसकेपछि भुइँमै लडिन् । ती महिलालाई गोली नलागोस् भनी उनका प्रेमीले शरीर ढाक्ने प्रयास गरेको देखिन्छ । फोटो जर्नालिस्ट डेबिड बेकरले प्रेमीले आफ्नो ज्यानको कुनै मतलब नराखी प्रेमिकाको सुरक्षा गरेको भनी पोस्ट गरेको तस्बिर सन् २०१७ कै सातौँ उत्कृष्ट रह्यो ।

८. ट्रम्पको ह्वाइटहाउस प्रवेश (वासिङ्टन) :

राष्ट्रपतिको शपथ लिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २० जनवरीमा ह्वाइटहाउस प्रवेश गरेका थिए । ट्रम्पसँगै फस्र्ट लेडी मेलानिया पनि राष्ट्रपति निवास छिरिन् । निवर्तमान राष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिसेल नवनियुक्त राष्ट्रपति ट्रम्पलाई भवनभित्र प्रवेश गराउन उपस्थित भएका थिए । ट्रम्प छिटो हिँड्दा उनकी श्रीमती मेलानिया पछाडि परिन् । र, ओबामा जोडीले मेलानियालाई ढोकाभित्र प्रवेश गराउँदै गरेको तस्बिरले आठौँ उत्कृष्ट तस्बिरका रूपमा चर्चा पाएको छ ।

९. मुगाबे शासनको पतन (जिम्बाबे) :

यसै वर्ष जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेले ३७ वर्षपछि सत्ता छाडे । सेनाले सत्ता हातमा लिएपछि राष्ट्रपति मुगाबे एक हप्तासम्म नजरबन्दमा परे । सेना र विपक्षीसँग सम्झौता गर्दै उनले २१ नोभेम्बरमा राष्ट्रपतिबाट राजीनामा दिए । मुगाबेको राजीनामासँगै सरकारी कार्यालय तथा अन्य कार्यालयमा राखिएको उनको तस्बिर हटाइयो । आक्रोशबीच राष्ट्रपति मुगाबेको तस्बिर हटाइएको दृश्य नवौँ शक्तिशाली तस्बिर रह्यो ।

१०. ओस्कारमा नाम गल्ती (ओस्कार अवार्ड) :

यसपटक ८९औँ ओस्कार अवार्डमा ठूलै गल्ती भयो । अवार्ड कार्यक्रममा फोटोग्राफरले लिएको तस्बिर उत्कृष्ट फिल्म घोषणा गर्ने वेलाको हो । उत्कृष्ट फिल्म घोषणा गर्ने व्यक्ति मुख्य ‘खाम’ नलिएर अर्कै लिएर कार्यक्रमस्थलमा पुगेका थिए । उनले मुनलाइट भन्नुपर्नेमा ‘ला ला ल्यान्ड’ सन् २०१६ को उत्कृष्ट फिल्म घोषणा गरे । त्यसपछि आयोजकका पदाधिकारीहरूले गलत फिल्म घोषणा भएको उनलाई जानकारी दिए । त्यसपछि मुख्य खाममा रहेको नाम घोषणा गरी उनले आफ्नो गल्ती स्विकारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *