२०८१ वैशाख ११ गते | 23rd of April 2024

तातोपानी नाका ब्युँताउने कसरत, चाइनाबाट आयो यस्तो प्रस्ताव

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १६ गते ३:४९

काठमाडौँ १६ पुस । चीनले तातोपानी नाका पन्छाउँदै केरुङ-रसुवागढीलाई अन्तर्राष्ट्रिय मान्यता दिए पनि नेपाली पक्षले आफ्नो ध्यान पुरानै नाकातिर केन्द्रित गरेको छ। सिन्धुपाल्चोकको उत्तरी सीमा तातोपानीमा स्थापित चीन जोड्ने यो साढे पाँच दशक पुरानो नाका ०७२ को महाभूकम्पयता ठप्प थियो।

यसअघि चीनले रसुवागढी(केरुङ नाकालाई प्राथमिकता दिँदै तातोपानी नाका स्थायी रूपमा बन्द गर्ने प्रस्ताव नेपाल सरकारसमक्ष राखेको थियो।

चीनको सीमा सुरक्षा हेर्ने वरिष्ठ अधिकारी वाङ जिङले नेपाली पक्षसँग नाका खुलाउनुअघि ‘ज्वाइन्ट कमान्ड मेकानिज्म एग्रिमेन्ट’ गर्नुपर्ने प्रस्ताव गरे। वाङले प्रस्ताव गरेको उक्त एग्रिमेन्टमा हस्ताक्षर गर्न नेपाली पक्ष तयार भए सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मी तैनाथ रहनेगरी संयुक्त सीमा सुरक्षाफौज गठन हुनेछ।

गृह मन्त्रालय स्रोतका अनुसार उक्त सहमतिको मस्यौदा सिन्धुपाल्चोकका प्रजिअ आशमान तामाङमार्फत सरकारलाई प्राप्त भइसकेको छ। एग्रिमेन्टमा दुवैतर्फका सुरक्षाफौजका लागि औपचारिक कार्यालय राख्ने, सीमा क्षेत्रमा निगरानी बढाउने, सीमा क्षेत्रमा भएका गतिविधिबारे एकअर्कालाई उच्च अधिकारीमार्फत जानकारी दिलाउने आदि उल्लेख छन्।

‘यो मेकानिज्मका लागि चिनियाँ पक्षबाट लिखित प्रस्ताव आउनु नै तातोपानी नाका खुलाउने संकेत हो, जो यसअघि भएको थिएन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘सरकारले छिट्टै निर्णय गर्ने गरी गृहकार्य भइरहेको छ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *