२०८१ वैशाख ८ गते | 20th of April 2024

काँग्रेसले अनावश्यक आश्वासन बाँड्दैन–कुँवर

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २४ गते १४:५३

पोखरा, २४ बैशाख ।
नेपाली काँग्रेसको तर्फबाट पोखरा लेखनाथ महानगरपालिकामा प्रमुखको दावेदारी दिएका उम्मेदवार रामजी कुवँरले काँग्रेस कार्यान्वयन गर्ने पार्टी भएकाले अनाबश्यक आश्वासन नबाँड्ने प्रतिबद्धता जनाए । ‘काँग्रेसले जनतामा अनावश्यक आश्वासनको पोको बाँड्दैन । गर्न नसकिने कामलाई लिएर आश्वासन मात्रै दिएर हुँदैन ।’ उनले भने–‘आश्वासनले मानिसलाई कमजोर बनाउँछ । कमजोर बनाउने पार्टी काँग्रेस होईन ।’ गफ चुटेकै भरमा समाज समृद्ध नहुने भन्दै उनले योजनाबद्ध विकासका लागि प्रतिबद्धता आवश्यक रहेको बताए ।
आफनो उम्मेदवारी सिंगो पार्टीको भएको उल्लेख गर्दै कुवँरले समृद्ध महानगरपालिका बनाउन अर्जुनदृष्टीले काम गर्नुपर्ने बताए । ‘गफ चुटेकै भरमा अरु सत्तामा पुगेका छन् । काँग्रेसले ढाँट्न जानको छैन ।’ उनी भन्छन्–इतिहासको ब्याख्या गरेर मात्रै हुँदैन । विकासका लागि भिजन चाहिन्छ, त्यो हामीसँग छ ।’ चुनावी प्रचार अभियान अन्तर्गत प्रमुखका उम्मेदवार रामजी कुँवर र उपप्रमुखकी उम्मेदवार सरस्वती गुरुङ आईतबार पोखरा ३२ सहित २८ र ३१ नम्बर वडामा पनि घरदैलो भएको थियो । घरदैलोका क्रममा सहभागीहरुले नेपाली काँग्रेसले महानगरका स्थानीय आवश्यक्ता र जनताका चाहना पूरा गर्दै समृद्ध महानगर बनाउने प्रतिबद्धता जनाए । कार्यक्रममा वडा नम्बर ३२ का वडाध्यक्षका उम्मेदवार अक्कल बहादुर कार्की, महिला सदस्य नरमायाँ गुरुङ, दलित महिला सदस्य गोमा विक, सदस्यहरु धर्म बहादुर बस्नेत र मिन बहादुर गुरुङ, ३१ नम्बर वडामा अध्यक्षका उम्मेदवार सरदराज सुवेदी, महिला सदस्य मिना तिवारी, दलित महिला सदस्य मिना सार्की तथा सदस्यहरु लेखनाथ ढकाल र रवीराज कँडेल, २८ नम्बर वडाका अध्यक्षका उम्मेदवार विकास गुरुङ, महिला सदस्य शिबकुमारी त्रिपाठी, दलित महिला सदस्य इन्द्रकला विक तथा राजेश अधिकारी र राधाकृष्ण तिवारी समेत सहभागी थिए । कार्यक्रममा काँग्रेस कास्की सभापति कृष्ण केसी, पूर्व महामन्त्री तारानाथ रानाभाट, केन्द्रिय सदस्य प्रदिप पौडेल, जिल्ला सचिव सुदिपमोहन भट्टराई, देवेन्द्र रानाभाट, राजेन्द्रमणी लामिछाने लगाएतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *