२०८१ वैशाख १४ गते | 26th of April 2024

गोरखा बजार क्षेत्रको मुख्य सडक दिनानुदिन नाजुक

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २७ गते १९:५५

गोरखा – मोहसिन अलि मियाँ : जिल्ला सदरमुकामको मुख्य बजार क्षेत्रको सडक जिर्ण भएपछि समस्या भएको यात्रुहरुले गुनासो गरेका छन् । सडकमा खाल्डा खुल्डी बढेसंगै दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले चिन्ता ब्यक्त गरेका छन् । ‘यो त राज्यको लापरवाहीको नमुना हो, डेढ बर्ष भन्दा बढि भैसक्यो सडक बिग्रन थालेको, कसैलाई केइ मतलबै छैन’ हरमटारीका राजकुमार श्रेष्ठ भन्छन्, ‘बजारमा दिन प्रतिदिन गाडीको चाप बढेको बढै छ, बाटो साँघुरो छ, बाटोको हालत देखिहाल्नुभाको छ, पिचको नामै सक्किसक्यो ।’

बजार भित्रै प्रतिक्षालयदेखि खोलखोलेसम्मको सडकमा कालोपत्रे उप्किएर ठूला खाल्डा खुल्डी परेकाले यातायात र पैदलयात्रुलाई समस्या हुने गरेको गुनासो बढेको छ । ‘रोड जस्तै छैन, ठूलठूला खाल्डा छन्, ओरालो बाटो अनि त्यसमाथी पनि साँघुरो छ’ पैदलयात्री विवेक रानाले भने ।
एक लेनको साघुरो सडक भएकाले बजारमा दोहोरो गाडी गुडाउन समेत नमिल्ने यस क्षेत्रको सडकमा खाल्डा खल्डी बढेपछि सवारी चलाउने चालकहरुलाई चिन्ता बढेको छ । ‘६०÷७० लाख हालेर गाडी किन्यो, सडकको हालत यस्तो छ, खाल्डोमा हालम गाडी ठोक्किन्छ, नहालम जाने ठाउँ नै हुदैन’ माइक्रो चालक चेत बहादुर भुजेलले भने, ‘म गोरखा आको दुई बर्ष भो, आएदेखि नै यस्तै देख्छु, कस्ले बनाउने ?’

बढ्दो सहरीकरण संगै बजार क्षेत्रमा गाडीको समेत चाप बढेकाले त्यसै त ट्राफिक जाम बढेको र त्यसमाथी मुख्य सडक जिर्ण नै बन्दा झनै सास्ती थपिएको छ । गोरखाबजारको हरमटारी चोक, आयुर्वेदचोक, प्रतिक्षालय, पेट्रोल पम्प, चाइनिजधारा, खोलखोले क्षेत्रका सडकमा ठूला ठूला खाल्डो परेपछि दैनिक आवत जावतमा प्रभाव पारेको छ । बजारको मुख्य चोकका सडक जिर्ण हुदा समेत नियमन निकाय मौन बसेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

यता गोरखा नगरपालिकाका मेयर राजनराज पन्त भने अब केही दिनमा नै सडक निर्माणको काम सुरु हुने दावी गर्छन् । ‘यो सडक हामीले बनाउने हैन, दमौली सडक डिभिजनले जिम्मा लिएको सडक हो यो, मैले धेरै पटक उनिहरुलाई भनिसकेको छु, अब २÷४ दिनमा काम सुरु गर्छौ भनेका छन्’ मेयर पन्तले भने ।

केही दिनमा गोरखा–आँबुखैरेनीको दाँयाबाँया सडक पिचको काम पनि सुरु हुने उनको दावी छ । ‘केही आन्तिरिक कुराले काम रोकिएको थियो, मन्त्रालयबाट सबै समस्या हल भइसकेको छ, अब सबै काम एकै चोटी हुन्छ’ पेट्रोलपम्पदेखि चाइनिजधारासम्मको सडक अति जिर्ण भएकाले सो सडक भने नयाँ टेण्डर गरी ढलान गर्ने तयारी भइरहेको पन्तको भनाई छ । आगामी चैत १५ गतेसम्म गोरखा–आँबुखैरेनी सडकको सम्पूर्ण काम सम्पन्न गर्ने गरी दमौली कार्यालयले काम सुरु गर्न लागेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *