२०८१ वैशाख ८ गते | 20th of April 2024

न्यूयोर्कमा टिपिएसको भविष्य र विकल्प विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २ गते ८:५१

न्यूयोर्क – नेपाललाई दिइएको टिपिएसको भविष्यबारे चौतर्फी चासो भइरहेको अवस्थामा सरोकारवालाहरुले नविकरणको लागी एकीकृत कार्यक्रम मार्फत दबाब दिनुपर्न बताएका छन् ।

गैर आवासीय नेपाली सङ्घ, अमेरिका, न्यु योर्क च्याप्टरद्धारा न्यूयोर्कमा हिजो आइतबार आयोजित, टिपिएसको भविष्य र विकल्प विषयक अन्तर्कृया कार्यक्रमा नेपाली महाबाणिज्य दूतावास न्यूयोर्कका महाबाणिज्यदुत मधु मरासिनीले भन्नुभयो, “सरकारी स्तरबाट आवश्यक पहल भइरहेको छ तर ठोस जवाफ आइसकेको छैन ।” वहाँले नेपाल सरकारले काठमाण्डौस्थित अमेरिकी दूतावास र डिसिस्थित नेपाली दूतावास मार्फत टिपिएस नविकरणको लागी पहल जारी राखेको जानकारी दिनुभयो ।

कार्यक्रममा कानूनविद्धहरु खगेन्द्र जिसी, गिरिजा गौतम र केशवराज सेंढाइसंग टिपिएसको विकल्प के के हुन सक्छ भन्ने बारेमा अन्तर्कृया गरिएको थियो । उनीहरूले सहभागीहरूको जिज्ञासाको जवाफ दिएका थिए । प्रस्नोत्तर सेसनमा अधिकांश सहभागीको जिज्ञासा टिपिएस नविकरण नभएमा वैधानिक हैसियत कसरी कायमै राख्न सकिन्छ भन्नेमा केन्द्रित थियो । कानुन व्यवसायीहरूले टिपिएस जारी रहेकै समयमा अन्य विविध विकल्पहरू हुने जानकारी दिएका थिए । टिपिएस मार्फत रोजगारीमा आधारित एचवान भिसा, परीवारिमा आधारित ग्रिनकार्ड लगायतका विकल्पहरूमा समयै जाने हो भने स्थाइ समाधान निस्कन सक्ने सुझाव उनीहरूले दिएका थिए ।

“टिपिएस नविकरणको लागी सामूहिक पहल गर्नु हाम्रो पहिलो दायित्व हो तर नविकरण नभएमा के गर्ने भन्नेबारेमा पनि समयमै ध्यान दिनुपर्छ,” वरिष्ठ अधिवक्ता खगेन्द्र जिसीले भने । उनले असाइलमका आवेदकहरुले सोही केसलाई निरन्तरता दिन सक्ने पनि जानकारी दिए । जिसीले टिपिएस मार्फत नेपाल गएर आएकाहरुको हकमा भने असाइलमको केस कमजोर हुनसक्ने तर्फ सचेत गराए । अर्का अधिवक्ता केशवराज सेढांइले टिपिएसमार्फत काम गरिरहेकै संस्था वा नयाँ रोजगारदाता खोजी एचवानमा जान अति सहज हुने र त्यसै मार्फत ग्रिनकार्ड लिन सकिने हुनाले टिपिएसग्राहिलाइ त्यस तफ अधिबढ्न सुझाव दिएका थिए । उनले टिपिएस नविकरण भएता पनि स्थाइ समाधानको विकल्पका लागी समयमै सचेत हुन आग्रह गरेका थिए । सेढांइले टिपिएसको नविकरणको लागी जनस्तरबाटै एकताबद्ध पहल हुनुपर्न बताउँदै, ह्वाइट हाउस अगाडि प्रार्थनासभा आयोजना गर्न सुझाव दिँदा हलमा तालीको फोहोरा छुटेको थियो ।
कार्यक्रममा अधिकांश वक्ताहरूले रिपब्लिकन पार्टीका नेताहरूमार्फत पहल गर्न सके नविकरणको लागी थप बल पुग्ने र यो कामको नेतृत्व एनआरएनए अमेरिकाले लिनुपर्न बताए । उनीहरूले नेपाल सरकारको मौनताप्रति पनि दुखेसो व्यक्त गरेका थिए । जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले सबै संघसंगठन एकजुट हुनुको विकल्प नरहेको बताए । उनले यो अन्तर्कृया जागरण ल्याउने पनि बताए । एनआरएनए अमेरिकाका महासचिव बाबुराम लामाले एनआरएनए अमेरिकाले हालसम्म गरेका पहलहरूको बारेमा जानकारी दिएका थिए । एनआरएनए अमेरिकाका सचिव होमनाथ गौतम र सदस्यहरू सञ्जय थापा र आंगं ग्याल्जेन शेर्पाले नविकरणको लागी एनआरएनएको पहल प्रभावकारी हुन नसकेको गुनासो स्वीकार गर्दै आगामी दिनमा सबै संस्थाहरुसंग हातेमालो गरेर अधिबढ्नु पर्ने बताए । चितवन समाजका अध्यक्ष सूर्य लम्सालले यस्तो अन्तर्कृयाले जनदबावका लागी सहयोग पुग्ने बताउनु भयो । कारिब ३०० जनाको उपस्थिति रहेको कार्यक्रममा लगंआइल्याण्ड सोसाइटीका पूर्व अध्यक्ष दुर्गशजंग कार्की, सञ्चारकर्मी शैलेश श्रेष्ठ, गोर्खा समाजका सल्लाहकार खेम भट्ट लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको पहिलो सत्र महासचिव महेश खड्काले सञ्चालन गरेका थिए भने अन्तर्कृयाको सञ्चालन पत्रकार किरण मरहठ्ठाले गरेका थिए । एनआरएनए अमेरिका न्यु योर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विष्णु रानामगरले स्वागत मन्तव्य राखेका थिए । “विषय र सहभागिता, दुवै हिसाबले कार्यक्रम अत्यन्त प्रभावकारी भएको प्रतिक्रिया पायौँ, टिपिएस नविकरणको लागी हाम्रो प्रयास जारी रहने छ,” अध्यक्ष रामहरि अधिकारीले भने ।
अमेरिकी सरकारले सन् २०१५ को महाभूकम्प पश्चात् अमेरिकामा रहेका नेपालीलाई दिएको टिपिएस सुविधा आगामी जुनमा समाप्त हुनेछ । टिपिएसग्राहिले अमेरिकामा बस्न र कामगर्न वैधानिक हैसियत प्राप्त गर्दछन् ।

फोटो: महेश खड्का, किरण मरहठ्ठा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *