२०८१ वैशाख १५ गते | 27th of April 2024

गुण्डा नाइकेको समाजसेवा

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २२ गते १४:५२

प्रशन्न पोखरेल /गोरखा – फौजदारी अभियोगमा जेल पर्दै छुट्दै आएर के भयो र? समाजसेवा गर्न त कसैले रोक्दैन नि। गुण्डा नाइकेका रूपमा कहलिएका मिलन गुरुङ्ग (चक्रे मिलन) बिहीबार वरिष्ठ समाजसेवीका रूपमा गृह जिल्ला आएर एउटा कार्यक्रमको विशिष्ट अतिथि बने। अगुवापछुवा बटुलेर गृह जिल्ला गोरखा आएका उनलाई विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरेको थियो हरमटारी क्लब गोरखाले। उनको स्कटिङ्ग गर्न केही गोरखाली युवा बिहानैदेखि हरमटारीचोकदेखि पेट्रोलपम्पसम्मको सडकमा तैनाथ थिए।

पल्सर, भीआर मोटरसाइकल चढेर आएकाहरू स्कटिङ्गका लागि तनहुँको आँबुखैरेनीसम्मै पुगे। उनलाई रातो खादा ओढाए। उत्साहसाथ गोरखातर्फ बढेको टोली लक्ष्मीबजार पुगेपछि भने केही निराश बन्यो। करीब ५० ओटा मोटरसाइकल र चारओटा कारमा रहेका उनीहरूलाई प्रहरीले पालैपालो चेकिङ् गर्‍यो। प्रहरीले कार चढेकालाई केन्द्रित गरेर चेकिङ् थाल्यो। प्रहरीले मिलन चढेको बा ६ च ४५१५ नम्बरको कारलाई विशेष चेकिङ्ग गरेको थियो। उनी कारबाट निस्केनन्। उनका सहयोगीहरू भने सडकमा उत्रिए। करीव १५ मिनेटको चेकिङ्गपछि उनीहरू खेलमैदान नजिकैको होटल भिजन पुगे। केही युवा होटलको वरपर सेन्ट्रि बसे। केही बेरको विश्रामसहितको खानापछि टोली कार्यक्रम उद्घाटन स्थल मञ्चतर्फ लम्कियो।

कपाल पालेका ती विशेष अतिथिले कालो चश्मा पहिरिएका थिए भने कालो जिन्सको पाइन्ट लगाएका थिए। सहयोगीहरूले घेरेरै उनलाई मञ्च पुर्‍याउने नै भए। मञ्चमा बसेका प्रमुख अतिथि स्थानीय विकास अधिकारी प्रेमराज गिरीसँग उनले फुर्तिलो आबाजमा गफ थाले। आयोजकले विशिष्ट अतिथिको आसन ग्रहण गराए। उनी घरिघरी मञ्च बाहिर निस्कन्थे। मोवाइलमा बोलेझैं गर्थे। यसैक्रममाः उनको जुत्ताको तुना फुस्कियो, उनका एक सहयोगीले बाँधिदिए। कपाल फुस्कियो, फेरि अर्कोले बाँधिदियो। मञ्चको पछाडि सेन्ट्री राखिएका तन्नेरीहरूसँग कुरा गर्न पुग्थे। उनी मञ्चमा उक्लिँदा १० जनाजति सहयोगीले अगुवापछुवाको भूमिका गरेका थिए।

उनको बोल्ने पालो आयो। तीन वाक्य जति मात्रै बोले। भने, ‘सहयोग गर्न पाउँदा खुसी भएको छु। खेल खेलाउन फाउण्डेसनबाट दुई लाख एक हजार रूपैयाँ सहयोग गरेको छु।’ फुटवल खेल्ने चौरमा बनाइएको मञ्चमा पुगेर उनले त्यो संक्षिप्त मन्तव्य दिँदा सहयोगीहरूले फोटो खिचे। प्रायः सबैसँग आइफोन मोवाइल थियो। उनीहरूले भाषणको भीडीओ पनि रेकर्ड गरेका थिए। उनको अनुहारमा घाम पर्ने गरी पोज दिएर फोटो खिचाए। र, मञ्चबाटै क्लबका अध्यक्ष मनबहादुर तामाङ्ग (मनु) लाई चेक लिन बोलाए। चेक हस्तान्तरण गरेपछि मुख्य मञ्चमा पुगेर मनुलाई आफूले कबोलेको दुई लाख एक हजार रूपैयाँको चेक थमाए। गोरखाको छोप्राक गाविस–१ घर भई काठमाडौंको चक्रपथ क्षेत्रमा बस्दै आएका उनले ‘मिलन गुरुङ्ग फाउण्डेसन चक्रपथ काठमाण्डौं’ मार्फत् आर्थिक सहयोगको घोषणा गरेका हुन्।

उनको सम्पतिमाथि सम्पति शुद्धिकरण आयोगले छानवीन गरिरहेको छ। उनी कार्यक्रममा आउने भएपछि अन्य सरकारी कर्मचारीहरू देखा पर्ने सम्भावना रहेन। सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेल, प्रनाउ रमेश थापा, सशस्त्रका प्रनाउ कुमार श्रेष्ठ, भैरवी दल गणका गणपति प्रेम थापा, राष्ट्रिय अनुसन्धानका प्रमुख प्रनाउ नवीन भट्टराई, गोरखा नगरपालिकाको कार्यकारी अधिकृत चन्द्रा थापा मगरलगायतलाई आयोजकले आसन ग्रहणका लागि पटक–पटक मञ्चमार्फत् बोलाएका भने थिए। क्लबका अध्यक्ष तामाङ्गले भने, ‘समाजसेवी आदरणीय दाजु मिलन गुरुङ्गलाई विशिष्ट अतिथि बनाउन पाएकोमा हामी खुसी छौ।’ उद्घाटन कार्यक्रमको प्रमुख अतिथि रहेका स्थानीय विकास अधिकारी गिरीले खेलमार्फत् गोरखामा पर्यटन विकास गर्नुपर्नेमा जोड दिए। फुटवल खेल्न काठमाडौं, चितवन, मनकामनालगायतका ठाउँबाट २० टीम गोरखा आएका छन् थिए । खेल सुरू भयो। विशिष्ट अतिथि राजधानी फर्किए। उस्तै फुर्तीसाथ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *