२०८१ वैशाख ७ गते | 19th of April 2024

कांग्रेसको अबको बाटो–‘स्वधर्मो निधनम् श्रेयः’

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २४ गते १:२५

 – चन्द्र महर्जन

गीतालाई भगवान् श्री कृष्णको साक्षात वाणीको ग्रन्थ मानिन्छ ।

यसमा एक ठाउँमा भनिएको छ ‘स्वधर्मो निधनम् श्रेयः परधर्मो भयावहः ।’ सबैको आफ्नो धर्म हुन्छ र त्यसलाई छाडियो भने त्योभन्दा डरलाग्दो र दुःखद् अरू हुँदैन भन्ने साधारण बुझाइ हो । स्वधर्म भनेको कुनै पनि वस्तुको आफ्नो पहिचान हो र उसले गर्ने काम पनि । आगोको काम डढाउने हो । त्यसले डढाउन छाड्यो भने आगो आगो रहँदैन । पानीको काम बगिरहने र बगाउने हो । त्यो आफैं जम्यो, एक ठाउँमा स्थिर रह्योे भने पानी पानी हुँदैन । वायुले उडाउन छाड्यो भने त्यसलाई के वायु भन्ने ?

अहिलेको नेपाली कांग्रेसको स्वधर्म भनेको विपक्षमा बस्नु हो । हो, यसका बिना सत्तानै नचल्ने भयो भने उसको धर्म हुन्छ त्यसलाई सञ्चालन गर्ने । यस्तो बेलाको यो काम कल्याणकारी पनि हुन्छ तर यसको मूल धर्म भनेको त अहिलेको परिस्थितिमा विपक्ष नै हो । जो आफ्नो धर्ममा बस्छ त्यसको विजय निश्चित हुन्छ र धर्म छाड्नेको पराजय पनि त्यत्तिकै निश्चित । यस बीचमा कांग्रेसले के रोज्ने भन्ने मात्र छान्ने विषय हो यतिबेला । आफ्नो धर्मको पालना गरेर विजयतर्फ लाग्ने कि परधर्म अवलम्बन गरेर योभन्दा झनै भयावह अवस्थामा पुग्ने भन्ने रोजाइका बीचमा छ कांग्रेस र हामी कांग्रेसीको अवस्था पनि त्यस्तै हो । सत्तापक्ष र विपक्ष भन्ने राज्य सञ्चालनका दुई व्यवस्था हुन् । संविधानले नै यस्तो पक्ष किटान गरेको छ । त्यसमा को कहाँ बस्ने भन्ने चाहिँ सार्वभौमसत्ता सम्पन्न नागरिकले निर्धारण गर्दछन् । केही समयका लागि कांग्रेसलाई जनताले विपक्षीको ठाउँ निर्धारण गरेका छन् । यो माघ श्री स्वस्थानीको महिना हो । यसका कथामा नै जो जो आफ्नो ठाउँमा बसेनन् तिनको पतन भएको छ र दुःखसुख जस्तो होस् जसले आफ्नो ठाउँ छाडेनन् तिनले राज्य नै पाएका छन् । जनताले निर्धारण गरेको ठाउँमा बस्नु कांग्रेसको यतिखेरको धर्म हो । धर्म नै सत्य हो । ढिलो चाँडो जस्तो होस् जहिले पनि र जहाँ पनि सत्यको विजय भएको छ, पौराणिक कालदेखि अहिलेसम्म नै । जसले सत्यलाई मानेनन् तिनको सर्वनास नै भएका उदाहरण छन् । आफ्नो धर्म भनेको के हो भन्नेमा मनिवर ज्ञानमित्रले महाभारतबाट केही उद्धरण दिँदै अझ प्रष्ट पार्नुभएको छ– यतो धर्मस्ततो जयः । यतिखेर नै हो कांग्रेसले विजय कि पराजय रोज्ने भन्ने बेला पनि ।

सदा सत्यको विजय 
मुनिवर मित्रअनुसार महाभारतको सम्पूर्ण उद्देश्य हाम्रो वर्तमान नेपाली परिस्थितिमा हुबहु जस्तै मिलेको अवस्था छ । महाभारतको युद्ध शान्ति, स्थिरता, धर्म, सुशासन र समृद्धिका लागि थियो । यसमा अझ सर्वोपरि थियो शान्ति र धर्म । माथि उल्लेख भई नै सकेको छ धर्म नास भयो भने त्योभन्दा महाविनाश अरू केही हुँदैन । धर्म भनेको सत्य हो र जहाँसुकै र जहिले पनि विजय हुने भनेको सत्य नै हो । यहाँ फेरि दोहो¥याउँ, आफ्नो धर्मलाई पालना गरेर कांग्रेस विजयी हुन चाहन्छ कि अर्काको धर्ममा आँखा लगाएर आफ्नो महाविनाश चाहन्छ भन्ने तमाम कांग्रेसीबीच एउटा गम्भीर प्रश्न खडा भएको छ यो बेला । निर्णय गर्ने चाहिँ फेरि पनि नेतृत्वले नै हो ।

‘…यतो धर्मस्ततो जयः ।’ महाभारतका ठूला हस्तीहरूले ठाउँ ठाउँमा दोहो¥याइएको संवाद र परिणाम कस्तो आउछ भन्नेमा पर्ला यो कुरा । परिणाम कठोर भए पनि धृतराष्ट्र आफैंले स्वीकार गरेका छन् ‘मलाई थाहा छ जता धर्म छ, जय पनि उतैको हुन्छ ।’ अर्का महारथी कर्णले कृष्णको सविस्तार शान्ति आग्रह सुनेपछि भन्छन्– यतो धर्मस्ततो जयः ।’ कर्णलाई थाहा छ जता धर्म छ, विजय उस्कै हुन्छ । व्यासले धृतराष्ट्रलाई भन्छन्– यतो धर्मस्ततो जयः । युद्धभूमिमा विशाल सेना देखेर युधिष्ठिरको मन डराएको बुझेपछि अर्जुनले सम्झाउँदै भन्छन्– ..यतो धर्मस्ततो जयः । भीष्मले पनि दु्र्योधनलाई भन्छन्– यतः कृष्णस्ततो धर्मो यतो धर्मस्ततो जयः । महाभारतका अधिकांश पर्वहरूमा ‘यतः धर्मस्ततो जयः’ भन्ने वाक्यांश बारम्बार प्रकट भएका पाइन्छ । भीष्मपितामह कौरव पक्षका महारथी हुन् । उनले धर्म कहाँ छ भनिँदा कृष्ण जहाँ छन् त्यहीँ धर्म छ र जहाँ धर्म छ विजय त्यसैको हुन्छ भनेर किटानी नै गरे । भीष्मको स्वीकारोक्ति छ आफ्नो पक्षमा धर्म छैन । वास्तवमा नै उनी हारे पनि । कतिसम्म भने आफ्नै छोराहरू एउटा पक्ष भएर लडिएको युद्धमा सत्य उतै अर्थात् आफ्ना विरुद्ध छ र उतैको पक्ष विजयी हुन्छ भन्ने बुझाइ थियो पिता धृतराष्ट्रको ।

सत्य दोहोरिनुको अर्थ 
यहाँ धर्म र सत्यको कुरा पटकपटक किन दोहोरियो होला भन्ने सोच्नुपर्ने हुन्छ । कतिसम्म भने जसका विरुद्ध आफैं लडाइँ लडिरहिएको छ, उनै पात्रले भनिरहेका छन्– धर्म र सत्य त अर्को पक्षमा छ है । यसले नै बुझाउछ आफ्नो धर्म जतिको सत्य अरु हुँदैन । बाध्यताले कुनै पक्षमा साथ दिइएको होला तर सत्य जसको पक्षमा छ विजय त्यसैको हुन्छ भन्नकै लागि यो युद्ध विवरणमा यो कुरा जसले पनि र जहाँ पनि प्रकट गरेका हुनुपर्छ ।

आफूलाई निर्धारण भएको ठाउँमा बसेरमात्र हुँदैन । महाभारतको यो कथाले देखाएको अर्को कुरा हो आफ्नो धर्मअनुसारको काम सम्पन्न गर्न जस्तोसुकै कठोर अवस्थालाई पनि स्वीकार्नुपर्छ र त्यसको पूर्वतयारी पनि हुनुपर्छ । कांग्रेसका लागि यो बेला भनेको आफ्नो धर्मको पक्षमा चट्टान भएर बस्नु र त्यसको भूमिकालाई कठोर रूपले निर्वाह गर्नु हो । माने पनि नमाने पनि मंसिरमा सम्पन्न भएको निर्वाचनमा कांग्रेस तल पर्नुको एउटा प्रमुख कुरा हो आवधिक निर्वाचनअनुसारको समयसम्म यो सरकार रहनेछ । वाम गठबन्धनको प्रमुख नारा नै थियो पाँच वर्षको स्थिर सरकार । परिणाम त्यस्तै आयो । यस्तो सरकारले मनोमानी गर्न खोज्छ भनेर तिनै मतदाताले कांग्रेसलाई एउटा अवधि– आउँदो पाँच वर्षका लागि सरकारको खबरदारी गर्न जिम्मा दिए । यही हो कांग्रेसको धर्म भनेको । धर्मको पालना हुनु सत्य हो र जहाँ सत्य हुन्छ विजय त्यसकै हुन्छ भन्ने मन्त्र यहीँ लागू हुन्छ । जब जनताले पाँच वर्षका लागि स्थिर सरकार खोजे, त्यसको प्रत्याभूति विपक्षले गरे, मत त्यतै गयो, उनीहरू नै विजयी भए । त्यस्तो प्रत्याभूति कांग्रेसले दिन सकेको भए यो ठाउँमा कांग्रेस नै पनि हुने थियो । आवधिक निर्वाचनबाट देशको शासन चल्नुपर्छ भन्ने मान्यता त कांग्रेसकै हो नि र पक्ष र विपक्ष शासनका अभिन्न अंग हुन भन्ने मान्यता पनि कांग्रेसकै हो । यस्तोबेला केही यताउता भयो भने कांग्रेसका लागि धर्म छाडेको आरोप लाग्नेछ । त्यसको प्रतिक्रिया अर्को आवधिक निर्वाचनमा प्रकट हुनेछ नै । संस्कृतमा भनिएको छ– धर्मो रक्षति रक्षिता । आफ्नो धर्मको रक्षा आफूले गरियो भने आफ्नो रक्षा त्यही धर्मले गर्छ । कांग्रेसको अवको कर्म यसअनुसार होस् ।

अबको विपक्ष 
निर्वाचनमा कांग्रेसले भनेका एउटा कुरालाई सम्झौं । वाम गठबन्धनको सरकार बन्यो भने त्यो अधिनायकवादी हुन्छ र त्यस्तो शासनमा रुन पनि पाइँदैन । वास्तविकतामा यो गठबन्धनको नै सरकार बन्ने भयो । यस्तो बेला त कांग्रेसको भूमिका झनै बढेको हुनुपर्छ र त्यसको महसुस पनि गरिनुपर्छ । स्वाभाविक छ यस्तो पृष्ठभूमिमा अबको विपक्षी राजनीति परम्परागत प्रतिक्रियाका भरमा चल्न सक्दैन नै । टिप्पणीकर्ताहरूले विगतलाई वारम्वार सम्झाउँदै आएका छन्— हामीले विरोध गर्ने हो, गरेका छौं । अरू के गर्ने ? अबको समय भनेको यस्तो जवाफ दिएर मात्र पुग्दैन । यो समयको चुनौती भनेको लोकतान्त्रिक प्रक्रियामा हुने प्रत्यक्ष अप्रत्यक्ष प्रहारको कठोर रूपले सामना गर्नुपर्ने हुन्छ नै । वाम सरकारका विगत नै यसका उदाहरण छन् । आउने दिनमा कांग्रेसले निर्वाह गर्नुपर्ने विपक्षी भूमिकामा राजनीतिक रूपले लोकतान्त्रिक संस्थाको रक्षा, संस्थागत भ्रष्टाचारको विरोध र दण्डहीनताको अन्त्य महत्वपूर्ण कुरा हुनेछन् । यसलाइँ चिर्न सक्ने नेतृत्वको चयन यो धर्म निर्वाहको पहिलो काम हुनेछ । जस्तोसुकै आवरणमा होस् सर्वसत्तावादी मनसाय राख्ने शासन सञ्चालकहरूले सबैभन्दा पहिले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने र तिनको साख समाप्त पार्ने अभ्यास गर्छन् । जस्तो निर्वाचनकै क्रममा भनियो– अबको पचास वर्षसम्म सत्ता कब्जा हुन्छ । यो निर्वाचन एक अवधि अर्थात् पाँच वर्षका लागि हो भन्ने बिर्सिइयो । अर्को यसअघिका सरकारले गरेका काम सबै उल्टिन्छन् भन्ने भनाइ पनि त्यस्तै होलान् । जस्तो बूढीगण्डकी आयोजना देशले आफैं बनाउने निर्णय गरेको थियो । यो गठबन्धनले चुनावमै भन्यो, यो आयोजना आफ्नो सरकार बन्नासाथ विदेशी कम्पनीलाई नै दिइनेछ । स्वास्थ्य शिक्षामा सुधारका लागि सरकारले एउटा अध्यादेश ल्याएको थियो । त्यसमा मेडिकल कलेज खोल्न आधारभूत पूर्वाधारका कुरा थिए । त्यसको जवाफमा भनियो– एउटा कोठामा दुईवटा बिरामी राखेर कसैले मेडिकल कलेज चलाउछु भन्छ भने त्यसलाई पनि अनुमति दिइनेछ । यी चुनावमा बोलिएकामध्येका केही नमुना हुन् आफूखुसी गर्ने तर्फका । भोलि वास्तवमा नै यस्तै गरियो भने त्यसको प्रतिवाद विपक्षबाट कसरी गरिनेछ भन्ने तयारी अहिलेदेखि नै भएन भने धर्मको पालना हुँदैन । यसले देशलाई नै बर्बादीमा लान्छ । अरु चित्र यसरी प्रकट हुन सक्छन्, जस्तो अदालतले सरकारको कुनै निर्णय उल्ट्याउने बित्तिकै महाभियोगको धम्की दिइनेछ । निर्वाचन आयोगमाथि त अहिले नै आक्रमण भइरहेकै छ । सत्ताको अहंकारले लोकसेवा आयोगदेखि महालेखा परीक्षकसम्म, राष्ट्रिय मानवअधिकार आयोगदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मका संस्थालाई सत्ताप्रति राज्यप्रति हैन सरकारको नेतृत्वप्रति निष्ठावान् बनाउने प्रयास हुनेछ नै, पहिले पनि यस्तै भएको थियो । अदालतको आदेशअनुसार थालिएको अनुसन्धानलाई अहिले नै उल्टाउने कुरा भनिसकिएको छ त्यो पनि सार्वजनिक रूपमा आफ्नो कार्यालयमा पत्रकार सम्मेलन नै गरेर । अभियोगीमाथि अन्याय भयो भनी पहिले नै ठहर भएर त्यसपछि गरिएको अनुसन्धान कस्तो होला अनुमान गर्न सकिन्छ ।

देशमा कम्युनिस्टहरू संगठित भ्रष्टाचार गर्छन् भन्ने पहिलेदेखिकै मान्यता हो । पार्टीका नाममा जति पैसा जोसँग लिए पनि हुन्छ भन्ने मान्यता देखिन्छ यो राजनीतिक सिद्धान्तको संगठनमा । संसद्ले छान्नुपर्ने प्रधानमन्त्रीका लागि सांसद खरिद गर्न भनी ५० जनाका लागि कुनै विदेशी संस्थासँग ५० करोड रुपैयाँ मागिएको र लिनेदिने ठाउँसमेत तय भएको सस्वर सार्वजनिक भएको घटना त्यसताका जसरी ढाकछोप भयो यही एउटा उदाहरण पनि पर्याप्त होला संगठित भ्रष्टाचारका सन्दर्भमा । उनीहरू पार्टीको कुनै नेतालाई भ्रष्टाचारको आरोप लगाउन र आरोप लागेको व्यक्तिलाई बचाउन सिंगो पार्टी संयन्त्रलाई प्रयोग गर्न हिचकिचाउँदैनन् भन्ने स्वतन्त्र टिप्पणीकारहरूले ठाउँठाउँमा व्यक्त गर्दै आएका पाइन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरू प्रभावशाली नेतालाई पैसा खुवाएर प्राकृतिक साधनस्रोतको दोहन गर्ने अभियान पनि यो शासनको अर्को विशेषता हुन जान्छ । बूढीगण्डकी वास्तवमा नै भनिए जसरी विदेशीलाई दिइयो भने यो एउटा मात्रै पनि यी कुराको दृश्यरूपमा पुष्टि गर्ने हुन्छ । यी तत्कालका अनुमानका कुरा हुन् । यो गठबन्धनको सरकार निर्वाचनबाट नै आएको हुँदा त्यस्तो नहोला भनी मानांै । तर विपक्षीले त तयारी गर्नैपर्छ सरकारको यस्तो सम्भावनाका बारे । त्यसै पनि चुनावका बेला संविधान संशोधन गर्ने भनिएको छ । तर त्यस्तो संशोधन हुने विषय वा धारा के के हुन भनिएको छैन । यी भनेका जुनसुकै बेला जस्तोसुकै अवस्था आइपर्न संक्ने संकेतहरू हुन् । यसमा हरहमेशा सतर्क हुनु वा रहनुपर्ने हुन्छ नै ।
(लेखक नेपाली कांग्रेसका निवर्तमान सांसद हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *