२०८१ वैशाख ७ गते | 19th of April 2024

आज राष्ट्रिय सभा निर्वाचन: ३२ सिटमा ५२ उम्मेदवार मैदानमा

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २४ गते १:४७

काठमाडाै‌ं – राष्ट्रिय सभा सदस्यका लागि आज निर्वाचन हुँदै छ । ३२ सदस्यीय पदका लागि हुन लागेको निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान गर्ने कार्यक्रम तय गरिएको जानकारी दिए । प्रत्येक प्रदेशमा कम्तीमा तीन महिला, अन्यतर्फ तीनजना, एक दलित र एक अपांगता-अल्पसंख्यकसहित आठजना निर्वाचित हुने व्यवस्था छ । ५९ सदस्यीय राष्ट्रिय सभामा ५६ सदस्य निर्वाचनको माध्यमबाट र बाँकी तीन सदस्य राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक प्रावधान छ । ५६ मध्ये २४ जना निर्विरोध निर्वाचित भएकाले बाँकी ३२ सदस्यका लागि मात्र निर्वाचन हुन लागेको हो ।

६ वटा प्रदेशमा मात्रै निर्वाचन
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी एक हजार पाँच सय ६ र सातै प्रदेशबाट निर्वाचित प्रदेश सभा सदस्य पाँच सय ५० गरी कुल दुई हजार ५६ मतदाता छन् ।

प्रदेश २ बाट आठजना राष्ट्रिय सभा सदस्य निर्विरोध निर्वाचित भइसकेकाले अन्य ६ प्रदेशमा मात्रै निर्वाचन हुने आयोगले जनाएको छ । आयोगले प्रदेश २ बाहेकका प्रदेशमा उच्च अदालत रहेका ठाउँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रदेश १ को विराटनगर, ३ को ललितपुरको पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

बुधबार निर्वाचनपछि तत्काल मतगणना सुरु गरिने र ढिलोमा २५ गतेसम्म सबै स्थानको मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी आयोगको रहेको डा. यादवले बताए ।

३२ सिटका लागि ५२ जना प्रतिस्पर्धामा
बुधबार ३२ जना निर्वाचित गर्नका लागि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा ५२ जना प्रतिस्पर्धामा उत्रिएका छन् । ६ प्रदेशमा विभिन्न क्लस्टरबाट ३२ जनाभित्र पर्न ५२ जनाले उम्मेदवारी दिएका छन्।

प्रदेश १ बाट एकजना दलित सदस्य र एकजना अपांग÷अल्पसंख्यक सदस्यका लागि चारजना प्रतिस्पर्धा गर्दै छन् । दलित सदस्यमा कांग्रेसबाट विनबहादुर विश्वकर्मा र एमालेबाट खेमराज नेपाली तथा अपांग-अल्पसंख्यक सदस्यमा कांग्रेसबाट महेश जाजु र एमालेबाट अगमप्रसाद बान्तवा राई उम्मेदवार बनेका छन् । यो प्रदेशबाट निर्वाचित हुने आठ सदस्यमध्ये तीन महिला सदस्य र तीन अन्यतर्फका सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रदेश २ मा आठजना नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रदेश ३ मा आठजनाकै निर्वाचन हुँदै छ । तीन महिला सदस्यका लागि चारजना प्रतिस्पर्धामा छन् । कांग्रेसबाट धनाकुमारी खतिवडा, एमालेबाट उदया शर्मा (पौडेल) र दिलाकुमारी रावल थापा (पार्वती) तथा नेपाल मजदुर किसान पार्टीबाट गीता काफ्ले उम्मेदवार छन् । अन्यतर्फबाट निर्वाचित हुने तीनजनामा चारजनाको उम्मेदवारी परेको छ ।

कांग्रेसबाट राधेश्याम अधिकारी, एमालेबाट बलराम बास्कोटा, माओवादी केन्द्रबाट रामबहादुर थापामगर तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङ प्रतिस्पर्धामा उत्रिएका हुन् । एकजना दलित सदस्यमा तीनजनाले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट हरिशरण नेपाली, एमालेबाट सिंगबहादुर विश्वकर्मा र नेपाल मजदुर किसान पार्टीबाट श्मामु विसुंके प्रतिस्पर्धामा छन् । अपांग÷अल्पसंख्यक व्यक्तिबाट एकजनाका लागि कांग्रेसबाट मदनकृष्ण श्रेष्ठ, एमालेबाट रामचन्द्र राई र नेपाल मजदुर किसान पार्टीबाट हिमालयश्वरलाल मुलले उम्मेदवारी दिएका छन् ।

प्रदेश ४ मा अपांग-अल्पसंख्यक एकजना निर्विरोध निर्वाचित भएकाले सातजनाका लागि निर्वाचन हुँदै छ । तीन महिला सदस्यका लागि चारजना प्रतिस्पर्धा गर्दै छन् । कांग्रेसबाट विन्दादेवी आले (राना), एमालेबाट दीपा गुरुङ र शान्तिदेवी अधिकारी (जिसी) तथा राष्ट्रिय जनमोर्चाबाट मीना पुन उम्मेदवार छन् । अन्यतर्फ तीनजनाका लागि चारजनाले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, एमालेबाट गणेशप्रसाद तिमल्सिना, माओवादीबाट दीनानाथ शर्मा र राष्ट्रिय जनमोर्चाबाट कृष्णप्रसाद शर्मा अधिकारी प्रतिस्पर्धामा छन् । एक दलित सदस्यका लागि कांग्रेसबाट जितबहादुर नेपाली र एमालेबाट खिमबहादुर विकबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रदेश ५ मा पाँचजनाका लागि निर्वाचन हुँदै छ । अन्यतर्फ तीनजनाका लागि चारजनाले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट दुर्गाप्रसाद उपाध्याय, एमालेबाट खिमलाल भट्टराई, माओवादीबाट चन्द्रबहादुर खड्का र राष्ट्रिय जनमोर्चाबाट रश्मिराज नेपाली प्रतिस्पर्धामा छन् । एक दलित सदस्यमा कांग्रेसबाट मैकुलाल वाल्मीकि र एमालेबाट रामलखन चमार उम्मेदवार छन् । त्यस्तै, एकजना अपांग–अल्पसंख्यक सदस्यमा कांग्रेसबाट लुटबहादुर खत्री र एमालेबाट राजकुमार कुँवर प्रतिस्पर्धामा छन् ।

प्रदेश ६ मा आठजनाका लागि निर्वाचन हुँदै छ । तीन महिला सदस्यका लागि चारजनाबीच प्रतिस्पर्धा हुँदै छ । कांग्रेसबाट सूर्यदेवी मल्ल, एमालेबाट कविता बोगटी र नन्दा चपाई तथा माओवादी केन्द्रबाट युटोल तामाङ उम्मेदवार छन् । अन्यतर्फ तीनजनाका लागि चारजना उम्मेदवार बनेका छन् । कांग्रेसबाट विष्णुबहादुर शाही, एमालेबाट ठगेन्द्रप्रकाश पुरी र भैरवसुन्दर श्रेष्ठ र माओवादी केन्द्रबाट कालीबहादुर मल्लबीच प्रतिस्पर्धा हुँदै छ । एक दलित सदस्यमा कांग्रेसबाट मित्रलाल सार्की र एमालेबाट नरपति लुवार तथा एक अपांग-अल्पसंख्यक सदस्यमा कांग्रेसबाट गोपालप्रसाद शर्मा र माओवादी केन्द्रबाट जीवन बुढा प्रतिस्पर्धामा छन् ।

प्रदेश ७ मा दुई सदस्यका लागि निर्वाचन हुँदै छ । एक दलित सदस्यमा कांग्रेसबाट शेरीराम पार्की र एमालेबाट चक्रप्रसाद स्नेही प्रतिस्पर्धामा छन् । एकजना अपांग-अल्पसंख्यक सदस्यमा कांग्रेसबाट छत्रराज जोशी र माओवादीबाट महेशकुमार महरा उम्मेदवार छन् ।

निर्विरोध निर्वाचित २४ जना
प्रदेश १

महिला सदस्य तीनजना
सरिता प्रसाईं (कांग्रेस), नैनकला ओझा (एमाले), विना पोखरेल (माओवादी केन्द्र)

अन्यतर्फ तीनजना
रमेशजंग रायमाझी (कांग्रेस), परशुराम मेघी गुरुङ र हरिचरण सिवाकोटी (एमाले)

प्रदेश २
अन्यतर्फ तीनजना
रमेशप्रसाद यादव (राजपा), जितेन्द्रनारायण देव (कांग्रेस), सुमनराज प्याकुरेल (एमाले)

महिलातर्फ तीनजना
मुक्तादेवी यादव (कांग्रेस), शशिकला दाहाल (माओवादी केन्द्र), प्रमिला कुमारी (संघीय समाजवादी फोरम)

अपांग-अल्पसंख्यक एकजना
बृजेशचन्द्र लाल (राजपा)

दलित एकजना
रामप्रीत पासवान (संघीय समाजवादी फोरम)

प्रदेश ४
अपांग-अल्पसंख्यक एकजना
प्रकाश पन्त (कांग्रेस)

प्रदेश ५

महिलातर्फ तीनजना
अनिता देवकोटा (कांग्रेस), कोमल वली र मीना बुढा (एमाले)

प्रदेश ७
अन्यतर्फ तीनजना
बद्री पाण्डे (कांग्रेस), हरिराम चौधरी (माओवादी केन्द), शेरबहादुर कँुवर (एमाले)

महिलातर्फ तीनजना
तारादेवी भट्ट (कांग्रेस), कमलाकुमारी ओली र इन्दु कडरिया (एमाले)

निर्विरोध हुनेमा एमालेका उम्मेदवार धेरै
निर्विरोध निर्वाचित राष्ट्रिय सभा सदस्यमा एमालेका उम्मेदवार धेरै छन् । एमालेका तर्फबाट उम्मेदवार बनेका नौजना निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसका आठजना, माओवादी केन्द्रका तीनजना, राजपाका दुईजना र संघीय समाजवादी फोरमका दुईजना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश सांसदलाई हरियो मतपत्र, स्थानीय तहका जनप्रतिनिधिलाई रातो
निर्वाचन आयोगले राष्ट्रिय सभामा प्रयोग गरिने मतपत्र सार्वजनिक गरेको छ । आयोगले प्रदेश सभा सदस्यले मतदान गर्नका लागि हरियो र गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका अध्यक्ष, उपाध्यक्षले मतदान गर्नका लागि रातो रङको मतपत्र बनाएको छ । आयोगले प्रदेश सभा सदस्य एकजनाको मतको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको एकजनाको मतको मतभार १८ तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *