२०८१ वैशाख १३ गते | 25th of April 2024

फेसबुकको ‘सोसल अन्टरप्रेनरसीप अवार्ड’ नेपाली युवालाई

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २५ गते १८:११

सिलिकन भ्याली – विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले प्रदान गर्ने सामाजिक व्यवसाय (सोसल अन्टरप्रेनरसीप) ग्रान्ड अवार्ड २०१७ नेपाली युवाले जितेका छन्।

फेसबुकसँग जोडिएका विश्वका ७ करोड व्यवसायीमध्ये अभिनव खनाल सहसंस्थापक रहेको बिन भोयेजले ५५ लाख नेपाली रुपैयाँ (५५ हजार अमेरिकी डलर) बराबरको अवार्ड जितेकाे हाे। फेसबुकमार्फत समाजमा सकारात्मक प्रभाव छाेड्ने उद्यमीलाइ फेसबुकले याे वर्षदेखि ‘सोसल अन्टरप्रेनरसीप अवार्ड’ दिन सुरू गरेकाे हाे।

अवार्ड विजेता बिन भाेयेजले फेसबुकबाट ५५ हजार अमेरिकी डलर बराबरकाे विज्ञापन तथा व्यवसायिक प्रशिक्षण पाउनेछ।

फेसबुकले आफ्ना सघन प्रयोगकर्ता भएका उत्तर अमेरिका, ल्याटिन अमेरिका, एशिया प्यासिफक तथा इएमइए (युरोप, खाडी तथा अफ्रिका) क्षेत्रका कम्पनीमध्ये तीन कम्पनीलाई क्षेत्रीय अवार्ड र एउटालाई ग्रान्ड अवार्ड प्रदान गरेको हो। दक्षिण अमेरिका क्षेत्रका लागि वी अालाइजका सहसंस्थापक कलिंग किलाेरन, एशिया प्यासिफिक क्षेत्रका लागि वाटर रूमका सहसंस्थापक भिन्सेन्ट लाेका तथा युराेप, खाडी र अफ्रिका क्षेत्रका लागि गिफ्टेड ममका सहसंस्थापक एलिन एन्टिफले अवार्ड पाएका छन्। क्षेत्रीय अवार्ड पाउनेहरूलाइ फेसबुकले ५ हजार डलर बराबरकाे विज्ञापन नि:शुल्क प्रदान गर्नेछ।

फेसबुकले प्रदान गरेकाे यो प्रतिष्ठित अवार्ड सामाजिक व्यवसाय र कफी किसानलाई तालिम दिने अभियानका लागि कोशेढुंगा सावित हुने अभिनवले नेपालखबरलाई बताए। ‘अवार्ड हाम्रा लागि बजार क्षमता बढाउन ठूलो अवसर हो’, इमेलमा जवाफ फर्काउँदै उनले भने, ‘हाम्रो कामलाई धेरै मान्छेहरुबीच पुर्याउन यो अवार्डले विशेष मद्दत पुर्याउनेछ।’

फेसबुक भीपीले गर्नेछिन् मार्गदर्शन

अवार्डसँगै बिन भोयेजका सहसंस्थापकलाई फेसबुक भाइस प्रेसिडेन्ट (भीपी) अफ ग्लोबल मार्केटिङ क्यारोलिन ले क्षमता विस्तारको लागि मार्गदर्शन गर्नेछिन्। फेसबुक भीपीबाट प्राप्त हुने मार्गदर्शन आफूहरुका लागि सबैभन्दा महत्वको भएको अभिनवले सुनाए। विश्व बजारमा फैलिन फेसबुकको यो अवार्डले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको बुझाई छ।

भिडियो लाइभबाट अवार्ड घोषणा गर्दै भीपी क्यारोलिनले बिन भोयेजले परम्परागत कफी व्यापारमा विद्यमान दुई विषय सुधार गर्न जोडदारसँग काम गरेको उल्लेख गरिन्। पहिलो, आयको असमतामूलक वितरण र दोस्रो लैंगिक असमानता। ‘बजारमा रहेको उच्च गुणस्तरको कफीको उच्च मूल्यले साना किसानको आयलाई प्रतिविम्बित गर्न सक्दैन। किन कि तिनले ८० प्रतिशत काम गरे पनि अन्तिममा १० प्रतिशत मूल्य पनि पाउँदैनन्’, उनले भनिन्, ‘त्यसमाथि महिला किसानले पुरुष किसानको तुलनामा ३९ प्रतिशत कम आय प्राप्त गरिरहेका छन्।’ महिला उद्यमीले थोरै मूल्य पाउँदा शिक्षा, स्वास्थ्य र सरसफाईमा उनीहरुको खर्च पहुँच कम भएको उनले औंल्याइन्। कफी व्यापारमा रहेको यो परम्परागत असमानता हटाउन बिन भोयेजले काम गरिरहेको छ।

‘वैकल्पिक उपायहरु अपनाइँदा किसानले पहिला पाउनेभन्दा १५ प्रतिशत मात्रै बढी कमाउन सकेका छन्। त्यसैले समस्या उचित भुक्तानी प्रणालीमा मात्र नभई माध्यमको ठूलो मुद्दालाई सम्बोधन गर्नु पनि हो’, उनले भनिन्।

काठमाडौंदेखि कोस्टारिकासम्म

 

अभिनव खनाल

विश्वका सबैखाले व्यवसाय पछिल्लो पटक फेसबुक सञ्जालसँग जोडिएका छन्। उत्पादन, सेवा र अभियानहरु फेसबुककै माध्यमबाट लक्षित समुदायसँग पुग्न थालेका छन्। फेसबुकको उपयोग विश्वभरि नै उत्पादन र लक्षित वर्गलाई जोड्न एउटा महत्वपूर्ण पुलको रुपमा भइरहेको छ। फेसबुकभित्र अहिले महिनामा दुई बिलियनभन्दा बढी मान्छे सक्रिय छन्। ७ करोडभन्दा बढी व्यवासय फेसबुकको सञ्जालसँग जोडिएका छन्। लक्षित समुदायसम्म पुग्ने प्रवृत्तिमा आएको परिवर्तनलाई ध्यानमा राख्दै फेसबुकले वेलायतको गैरसकारी संस्था ‘वान योङ वर्ल्ड’सँगको सहकार्यमा सामाजमा सकारात्मक प्रभाव छाेड्ने युवा व्यवसायी प्रवद्र्धन गर्न आफ्नो सञ्जालमा विश्वभरिबाट जोडिएका व्यवसायीमध्येबाट अवार्ड दिन सुरू गरेकाे हो।

कोस्टारिका आधारित बिन भोयेज विश्वभरिका महिला किसानलाई सहयोग पुर्याउने कम्पनी हो। यसको कथा क्यानडास्थित लिष्टर बी पियर्सन कलेजसँग जोडिएको छ। विश्वद्यिालय अध्ययनका लागि क्यानडा पुगेका अभिनव खनालले आफ्नो नेतृत्वमा सन् २०१४ यो नयाँ अवधाराणसहित साथीहरूसँग मिलेर बिन भाेयेज सुरू गरेका थिए। अहिले उनी र उनका साथीहरू कोस्टारिकाको परेज सिलिडोनस्थित कफी खेती हुने क्षेत्रका महिलालाइ समतामूलक अाय र लैंगिक समनताका लागि सशक्तिकरण गर्न काम गरिरहेका छन्। छात्रवृत्तिमा क्यानडा जानुअघि उनी वानेश्वरस्थित चेल्सी इन्टरनेशनल एकेडेमीमा ए लेभलका विद्यार्थी थिए।

फेसबुक अवार्ड पाएसँगै उनले फेरि एक पटक नेपालका युवालाई सम्झिए। धेरै कठिन परिश्रम र चुनाैती सामना गरिसकेपछि अहिले उनलाई लाग्न थालेकाे छ, ‘युवाहरू सधैँ प्रेरणा र चुनाैती दुवै दिने एवं सही बाटाे देखाउने मान्छे वरिपरि हुनु महत्वपूर्ण छ।’ विश्वस्तरकाे उपलब्धि हाँसिल गरिसकेपछि नेपाली युवालाई उनकाे सल्लाह छ, ‘आफ्नो कम्फाेर्ट जाेनबाट बाहिर निस्क! तिमीलाई अझ असल बन्न सघाउने मानिसहरुलाई भेट !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *