२०८१ वैशाख १२ गते | 24th of April 2024

त्यसो भए एमालेसँग हाम्रो एकता हुँदैन – लेखनाथ न्यौपाने

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २५ गते १८:४९

लेखनाथ न्यौपाने माओवादी केन्द्रका प्रभावशाली युवा नेता हुन् । अध्ययनशील र तर्कशील न्यौपाने आफ्ना कुरा प्रष्टसँग राख्न हिच्किचाउँदैनन् । लामो समय माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व गरेका न्यौपाने माओवादी जनयुद्धका बेला सहरी क्षेत्रमा पार्टी विस्तार गर्नेमध्येका एक हुन् । माओवादी शान्ति प्रक्रियामा आएयता उनका धेरै कार्यकर्ता मन्त्रीसम्म भइसके । धेरै लाभ लिए । तर, न्यौपाने लाभको राजनीतिबाट टाढै छन् ।

हाल एमाले र माओवादी केन्द्रका बीचमा एकताको प्रसंग चलिरहँदा उनी असन्तुष्ट छन् । आफू एकताकै पक्षमा रहेको बताउने न्यौपानेले एकताको सैद्धान्तिक, वैचारिक, राजनीतिक र रणनीतिक पक्षमा प्रवेशै नगरी कसले के भाग खाने भन्नेमा छलफल केन्द्रित भएकामा दुःखी छन् । यस्तै एमाले र माओवादीभित्र एकताको विषयमा आन्तरिक छलफल नहुनु बिडम्बना भएको उनले बताए ।

एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियाबारे उति सन्तुष्ट देखिनुहुन्न, किन ?
एकता गर्नुपर्छ भन्ने विषयसँग म सहमतै छु । तर, एकता गर्ने उद्देश्य मात्रै राखिएको हो र त्यहाँभन्दा अगाडिका विषयवस्तुबारे मलाई जानकारी छैन । म पार्टीको जुन जिम्मेवारीमा छु, म जत्तिको कार्यकर्तालाई त्यो छलफलमा सहभागी गराउनुपथ्र्यो जस्तो लाग्छ मलाई । पार्टी एकताबाट निरुत्साहित हुने वा धेरै उत्साहित हुने भन्दा पनि पार्टी एकता गर्ने करा अहिलेको बाध्यता हो । तर, पार्टी एकताका निम्ति मुलभूत आधारहरु चाहिं तयार गर्नुपर्छ ।

त्यसो भए अहिले एकताको आधार तयार भएको छैन ?
अहिले त केही गरिएकै छैन । छलफल कहीं पनि भएको छैन । पार्टी एकता भइसक्यो भन्ने ढंगबाट प्रचार भइराखेको छ । केही प्रक्रियाप्रति र केही विषयबस्तुप्रति मेरो तिखो टिप्पणी हो । किन भने पार्टी एकता गर्नेजस्तो विषय सामान्य होइन । इतिहासको रक्षाको प्रश्न छ, कार्यकर्ताको रक्षाको प्रशन छ । नेपाली समाजको अध्ययन गरेर समाजको आर्थिक, सामाजिक, राजनीतिक नेतृत्व गर्ने विषय छ । ती तमाम विषयवस्तुहरु छन् । यसका बारेमा पार्टीभित्र र दुईवटा पार्टीका बीचमा छलफल कहीं पनि छैन । एकता गर्ने चाहिं किन त भन्दा मिलिजुली खानका निम्ति मात्रै हो भने प्रक्रियालाई बेवस्ता गरेर अगाडि बढे पनि हुन्छ । होइन हामीले साँच्चै बामपन्थी पार्टी बनाउने हो, बाम दृष्टिकोणबाट मुलुकको नेतृत्व गर्ने हो भने कम्तिमा हामीले यो पाँच वर्षको जनमत प्राप्त गरेका छौं बाम गठबन्धनबाट । त्यसलाई ठीक ढंगले सम्बोधन गर्न यही तरिकाबाट चाहिं सम्भव छैन ।

तपाईंको असहमति विधि र प्रक्रियामा मात्रै कि सैद्धान्तिक विषयमा पनि हो ?
मैले सैद्धान्तिक विषयमा पनि प्रश्न राखेको छु । किनभने एकताका आधारहरु भनिसकेपछि त्यो सैद्धान्तिक÷वैचारिक आधार हुन्छ । त्यो रणनीतिक र कार्यनीतिक आधार हुन्छ, कार्यक्रम र नीतिको आधार हुन्छ । बल्ल हामी चौथो नम्बरमा नेतृत्व र कार्यकर्ताको आधारमा प्रवेश गर्छौं ।

अहिले एकताको कुरा गर्दैगर्दा तापईंले भनेका यी चारवटा चिज छन् कि छैनन् ?
मैले बुझेअनुसार र अहिलेसम्म आर्जन गरेको ज्ञानको कसीमा घोट्ने हो भने अघिल्ला तीनवटा विषयबस्तुहरु छन् । विचार र सिद्धान्तको विषयमा कुनै छलफल छैन । रणनीति र कार्यनीतिको बारेमा छलफल भएको र त्यसको आधार तयार गरिएको थाहा छैन । नीति र कार्यक्रम आशिंक रुपमा चुनावी घोषणापत्रलाई मान्न सकिन्छ । चौथो नम्बरमा चाहिं घनिभूत छलफल भएको छ । फलानो पद पाए एकता हुन्छ वा फलानो पद मलाई चाहिन्छ । त्यसो भयो भने एकता हुन्छ भनेर एकाध नेताहरुको व्यवस्थापनको कुरा चाहिं निकै उठेको मैले थाहा पाउँछु । त्योभन्दा बाहेक अघिल्ला दुईवटा विषयमा प्रवेशै छैन । एउटा विषयमा आंशिक हिसाबले चुनावी सन्दर्भमा प्रवेश गरेको छ । जो चौथो विषयबस्तु छ त्यो तीनवटा नटुंग्याई टुंगिदैन । त्यो विषयबस्तुलाई एक नम्बरमा ल्याएर छलफल गरिएको छ ।

यो उल्टो भयो उसो भए ?
उल्टो मात्रै होइन, यो अगाडिको नजाने मति हो भन्छु मैले ।

भनेपछि तपाईं एकता हुने देख्नुहुन्न ?
आजको दिनमा टेकेर हेर्ने हो भने एमाले र माओवादीका बीचमा एकता गर्नुनपर्ने कुनै कारण छैन । सामान्य अर्थमा भन्दा दुवै संसदलाई नभनीकन रणनैतिक हिसाबले प्रयोग गर्दै अगाडि जाने शक्तिहरु हुन् यिनीहरु । त्यसो हो भने चुनावमा जित्ने गरी शक्ति केन्द्रित गर्ने कुरालाई अन्यथा मान्नु हुँदैन । यसकाण एमाले र माओवादीका बीचमा एकता सही छ । तर, मेरो भनाइ के छ भने यत्ति नै मात्रै हो भने हामीले धेरै विषयलाई अपमान गर्छौं । आवधिक निर्वाचनका लागि मात्र एकताको कुरा गरिरहेका छौं र समग्र व्यवस्थापन त्यहीं भित्रबाट गर्न खोजिरहेका छौं भने त्यो बेठीक छ ।

तपाईंले भन्न खोजेको चाहिं के हो ?
मैले बुझेको के भने पहिलो कुरा पार्टी एकताका निम्ति संस्थागत छलफल र निर्णय हुनुपर्छ । मैले अघि भनेका चारवटै विषय त्यहीभित्र पर्छन् । पार्टीभित्र औपचारिक रुपमा यो विषयमा छलफल गर्नुपर्छ । एउटा आधार तयार गर्नुपर्छ । त्यो आधारमा टेकेर दुईटा पार्टीका बीचमा छलफल हुन्छ । बल्ल मात्र हामी अगाडि जान सक्छौं । दोश्रो मेरो विचारमा दुईवटै पार्टी कम्युनिष्ट पार्टी होइनन् भन्छु म । एमाले र माओवादी दुवैले आफूलाई कम्युनिष्ट पार्टी भएको दाबी गरिरहँदा दुवै कम्युनिष्ट चरित्रका छैनन् । तर,मैले के भनेको छु भने एकता गर्नका निम्ति कम्तिमा एउटा इमान्दार बामपन्थी बनाउने उद्देश्य हुनुपर्छ । जसले बामपन्थी दृष्टिकोणबाट मुलुकको नेतृत्व गरोस् । बामपन्थी कोणबाट कार्यकर्ताहरुलाई प्रशिक्षित गरोस् । यत्ति त गर्नुप¥यो नि । इतिहास बोकेर आएका दुईवटा कम्युनिष्ट पार्टी, त्यसमा पनि माओवादी एक दशक नबित्दै एउटा बाम पार्टी बनाउन पनि संस्थागत हिसाबले पार्टीभित्र छलफल गर्दैन भन्ने हो भने के आधारमा को किन उत्साहित हुने हो ? मैले भनेको र बुझेको कुरा सबै विषयमा छलफल गर्नुपर्छ । किनभने राजनीतिक विषय हो । छलफलले सकारात्मक वा नकारात्मक निस्कर्ष निकाल्ला मुलुकलाई त्यसले प्रभावित गर्छ । मुलुकलाई प्रभावित गर्ने विषयमा बारेमा पार्टीभित्र, पार्टीबाहिर, जनताका बीचमा, अन्तर्राष्ट्रिय कम्युनिष्टहरुसँग एक प्रकारको छलफल नभइकन लुकेर गर्ने एकता गर्ने हो भन्ने मलाई लाग्दैन ।

उसो भए तपाईं पहिला कस्तो पार्टी बनाउने भन्नेमा क्लियर हुन चाहनुहुन्छ ?
एकदमै । अब कम्युनिस्ट पार्टी बन्ने सम्भावना छैन भने नेताहरुले त्यो भनिदिनुपर्छ । खड्ग ओलीले त्यो विषयबस्तु सार्वजनिक गर्नुभयो । तर उहाँले के नियतबाट भन्नुभयो मलाई थाहा छैन । हामी कम्युनिष्ट छैनौं, त्यसकारण अब भन्ने पनि कम्युनिस्ट पार्टी हुँदैन भन्नुभएको भए त्यो कुरा ठीकै हो । तर, कम्युनिष्ट पार्टी बनाउन जरुरी छैन भनेको हो भने त्यो सबैभन्दा डरलाग्दो विषय हो । हामीले कम्युनिष्ट पार्टी बनाउने उद्देश्य राख्नुपर्छ ।

नेपालमा कम्युनिष्ट हुनु र बामपन्थी हुनु एउटै हो भन्ने बुझाई भएर त्यस्तो भएको हो कि ?
खड्ग ओलीले के आशयका साथ त्यो विषयवस्तु भन्नुभयो त्यो उहाँले जान्ने कुरा भयो । तर, उद्देश्य हामीले त्यहाँ राख्ने हुँदाहुँदै पनि आजको जमिनको यथार्थ बाम पार्टी बनाउनुपर्ने छ । किनभने कम्युनिष्टहरु बाम चरित्रबाट पनि च्युत भएका छन् । आन्दोलन सोझ्याउनका निम्ति बाम जमिनमा टेक्ने गरी निर्णय गरिनुपर्छ ।

तपाईंको कुराले असोज १७ गते एउटै कम्युनिष्ट पार्टी बनाउने र समाजवादमा जाने घोषणा गरिएको थियो । त्यसकै पुनर्लेखन गर्नुपर्ने भयो ?
उद्देश्य कम्युनिष्ट केन्द्र बनाउने कुरालाई अन्यथा मान्नु हुँदैन । हामी त्यहाँसम्म जानका निम्ति अहिले के–के गछौं भन्ने कुरा महत्वपूर्ण होला नि त । एकैचोटि अहिले कम्युनिष्ट केन्द्र बन्दैन । तर, त्यसले लिने नीति र कार्यक्रमका हिसाबले, त्यसले सोच्ने संस्कारका हिसाबले अहिले त कम्युनिष्ट केन्द्र बन्ने सम्भावना छैन । हामी अधिकतम इमान्दार हुन सक्यौं भने बाम पार्टी बनाउन सकिन्छ भन्ने मेरो बुझाइ छ । दोश्रो नारा त लगाउन पाइयो, उद्देश्य त राख्न पाइयो । तर, अहिलेको जमिनको यथार्थतामा टेकेर हेर्ने हो भने समाजवाद धेरै टाढाको विषयबस्तु हो । मान्छेहरुले समाजवाद ढोकैमा आइसक्यो भन्ने कुरा गरिरहेका छन्, त्यो होइन ।

त्यसो भए ठूला नेताहरुले समाजवाद भन्ने शब्दावली छलछामका लागि प्रयोग गरिरहेका छन् ?
यो कुरा सुन्ने नेताहरुलाई त्यति प्रिय लाग्दैन होला । एउटा जिम्मामा भएको व्यक्ति विशेषले भनिदिने कुरा नै विचार हुने हो र ? सिद्धान्त हुने हो र ? विधि हुने हो र ? होइन नि । पार्टी कमिटीले स्वामित्व लिनुपर्ला, त्यो भन्दा अगाडि कमिटीमा छलफल हुनुपर्ला । छलफलभन्दा अगाडि त्यसका आधार तयार गर्नुपर्ने होला । नेपालको सन्दर्भमा समाजवादको मोडालिटी के हो भन्ने कुरा कहीं छलफल भएको छ ? भनिदिएर हुन्छ र ? जाने दलाल पुँजिवादतिर । दलाल पुँजिवादमा डुब्ने अनि समाजवाद ढोकैमा आइसक्यो भनेर भन्ने कुरा छलछाम नै हुन्छ, षड्यन्त्र नै हुन्छ । जनतालाई इमान्दारितापूर्वक भनिदिनुपर्छ । हामी अहिले जुन ठाउँमा छौं त्यो ठाउँबाट पहिलो पाँच वर्षमा यी काम गर्छौं । अर्को पाँच वर्षमा यो ठाउँमा पु¥याउँछौं । त्यसपछि बल्ल हामी समाजवादको चरित्रका बारेमा , समाजवालको दूरीका बारेमा, समाजवादको सम्भावनाका बारेमा प्रवेश गर्छौ भनेर पार्टीभित्र र बाहिर छलफल गरिनुपर्छ, त्यो भएकै छैन ।

आधारभूत रुपमा तपाईं पार्टी एकताको पक्षमा हुनुहुन्छ । तर, जे गर्ने हो त्यो कुरा खुलस्त भन्नुपर्छ भन्ने मत हो ?
मैले किन यसो भनिरहेको छु भने इतिहासको कुराकानी गर्दा हामीले धेरै अप्ठ्यारो बाटो प्रयोग गरेर आयौं । एक हिसाबले आन्दोलन जितेको जस्तो, तर हार्दै यहाँसम्म आइपुगेका छौं । सम्पूर्ण हारेका पनि छैनौं । तर, मूलतः हामी हारिराखेकै छौं । किन भने माओवादी मान्ने सशस्त्र युद्धबाट राज्य सत्ता लिन्छु भनेको पार्टी आज लुकिचोरी, लुकिचोरी संसदीय व्यवस्थामा गइराखेका छौं भनेपछि यो सैद्धान्तिक हिसाबले हारकै कुरा त हो । यति भनेर मात्रै पनि हुँदैन । केही त गर्नैपर्छ । हामी अगाडि त जानैपर्ने नै छ बिग्रिइसकेको कुरालाई सम्हाल्नुपर्ने छ । बिग्रिएको कुरा सम्हाल्न एकबाटै सुरु गर्नुछ । एकबाट सुरुआत गर्नका निम्ति पहिलो सर्त हामी इमान्दार हुनुपर्छ । इमान्दार हुने हो भने दुईवटा पार्टीका बीचमा एकता गरेर पहिलो पाँच वर्ष बाम दृष्टिकोण र कार्यक्रमबाट मुलुकको नेतृत्व गरौं । त्यसपछि मुलुकका निम्ति केही योगदान गर्ने, मुलुकका निम्ति सकारात्मक संकेतहरुसहित सन्देश दिने ठाउँमा जान सक्छौं ।

त्यसो भए एकताका आधार चाहिं कसरी तयार गर्ने त ?
नेताहरुले पार्टी एकता गर्ने उद्देश्य राख्ुभयो त्यसलाई बढी विधि प्रक्रियाका कुरा नउठाऔं । उद्देश्य मात्र राखिएको हो । उद्देश्य राख्दा चुनावको परिणामलाई बढी सकारात्मक बनाउँछ भन्ने कुरासम्म ठीकै हो । त्यो विषयलाई बामपन्थी विचार राख्ने जनमतले अनुमोदन ग¥यो । तर, त्यो अनुमोदन गरेको विषयलाई सैद्धान्तिकृत गर्ने, रणनीति र कार्यनीतिको खाकामा प्रवेश गराउने काम पार्टीभित्रको छलफलमा प्रवेश गराउनुपर्छ । यो पहिलो सर्त हो । अनुमोदन भयो त्यसकारण एकता भयो भन्नु केटाकेटी खेल हो । अर्को हामीले प्राप्त गरेको जनमतलाई ठीक ढंगबाट सदुपयोग गर्ने हो भने अवसर पहिलो हुन्छ । सदुपयोग गर्न सकिएन भने यो अन्तिम अवसर हुन्छ । यो अवसरलाई पहिलो अवसर बनाउने हो भने पाँच वर्षमा बामपन्थी गठबन्धनले इमान्दारीपूर्वक जनमतलाई कसरी हिंडाउन सकिन्छ भन्ने विषयमा मसिनो छलफल हुन जरुरी छ । तेश्रो पार्टी एकता भनेको नेता र कार्यकर्ताका लागि मात्र होइन होला । मु्लुक र जनताका लागि पनि हो । त्यही नारा लगाएर आइएको छ ।

त्यसका निम्ति कम्तिमा निजी पुँजी र सरकारी पुँजीका क्षेत्रहरु कुन–कुन् हुन् भनेर छुट्याउनुपर्छ । बाम जनमतलाई सम्मानन गर्ने हो भने कम्तिमा अर्थ शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रहरुलाई राज्य नियन्त्रित क्षेत्रमा ल्याउने प्रयासको पाइला चाल्नैपर्छ । यो पाँच वर्षमा अरु धेरै नसकिएला तर, हामीले हाम्रो उत्पादन बढाउनका निम्ति कृषि क्षेत्रमा विशेष कार्यक्रम बनाउनैपर्छ । किनभने हाम्रो व्यापार घाटा, आयात निर्यातको असन्तुलन, त्यसले राष्ट्रियतामा पारेको नकारात्मक प्रभाव लाई रोक्नैपर्छ । बाम गठबनधनको कदर गर्ने हो भने यहाँबाट छलफल गर्नुपर्छ । त्यसो नगर्ने हे भने यो जनमतको आकारको कुनै काम छैन । व्यापार घाटा कम गर्न कृषिमा लगानी केन्द्रित नगरी हुँदैन । कृषिमा पाँच वर्षमा आयतालाई ठूलो परिणाममा घटाउन सकियो भने बामपन्थी नेतृत्व ठीक रहेछ भनेर देशभित्र र बाहिर सन्देश प्रवाह गर्न सकिन्छ । दैनिक जनजीवन र मुलुकको अर्थतन्त्रमा पनि सकारात्मक योगदान गर्न सकिन्छ । यी विषयमा छलफल गरिनुपर्छ । एकताका आधार यी विषयलाई बनाइनुपर्छ । यदि त्यसो गरिएन भने या यसो गर्न चाहिएन भने यो बाम गठबन्धन मिलिजुली खानका निम्ति, आफू र आफन्तहरु पोस्नका निम्ति सीमित हुन्छ र बदनाम हुन्छ । हामीजस्ता कार्यकर्ताले यसरी बदनाम हुन दिने हो या यसलाई ठीक दिशातिर लिएर जाने हो भन्ने आजको बहसको विषय हो ।

शिक्षा र स्वास्थ्य निःशुल्क भन्ने नारा धेरै लगाउनुभयो । तपाईं यो दुःखका साथ भनिरहनुभएको छ कि वा केही गरौं भन्ने नयाँ योजनाका साथ ?
इतिहासलाई हेर्ने हो भने यो कुरा दुःखान्तै हो । यतिबेलासम्म स्वास्थ्य र शिक्षा जनताले राज्यबाट उपभोग गर्ने ठाउँमा हामी पुगिसकेको हुनुपर्ने थियो । त्यसका निम्ति माओवादी पनि चाहिने थिएन । अरु कसैले गरेको भए पनि सक्थ्यो । यो कोणबाट भन्दा यो दुःखान्त कुरा हो । दुःखान्त हो भनेर पुन्पुरोमा हात लगाएर मात्रै त मुलुकका लागि केही योगदान हुँदैन । जनताहरु धेरै दुःखी छन् । मुलुकले धेरै दुःख पाएको छ । मुलुकका लागि र जनताका लागि केही न केही हाम्रो पुस्ताले गर्नैपर्छ भन्ने दृढ इच्छा शक्तिका साग यो कुरा मैले गरिराखेको छु ।

भनेपछि धेरै सिद्धान्तका जालझेलमा अल्झिइरहनुपर्ने ठाउँ त केही रहेन छ ?
तर कुरो के छ भने यी विषयवस्तुहरुका बारेमा छलफल गर्ने तप्का एकदमै सानो छ । या छैन भन्दा पनि हुन्छ । यसको अर्थ मैले आफूलाई ठालु दाबी गरिरहेको छैन । टिकटको रँडाको, समानुपातिकको रँडाको, त्यसपछि राष्ट्रिय सभाको रँडाको । यी तीनवटै चिजबाट सांसद बन्ने प्रक्रिया सकिएपछि मानिसहरु राजनीतिक नियुक्ति र अरु रडाँकोतिर मानिसहरु लाग्छन् । त्यसकारण विचार र सिद्धान्तको, रणनीति र कार्यनीतिको कुरा, नीति र नेतृत्वको कुरा हाम्रा विषय होइन, हामीले गर्नुपर्दैन भन्ने गलत संस्कार देखिएको छ । मैले यो विषय किन उठाइरहेको छु भने हामी यसरी नै जाने हो भने र यसरी नै पार्टी चलाउने हो भने कहाँ पुगौंला भन्ने गम्भीर फिलिङ्स मलाई भएको छ । मैले साथीहरुसँग छलफल गर्दा कम्तिमा एउटा पंक्ति हामीलाई केही चाहिएको छैन । यी विषयमा बहस गरौं भनेर अनुनय बिनय गरिराखेको छु । मैले भनिरहेका काम गर्न ‘क्लासिकल’ माक्र्सवादी पार्टी नै चाहिंदैन । इमान्दार बुर्जुवा पार्टीले नै यी सबै काम गर्न सक्छ । धेरैजस्ता देशहरुका बुर्जुवा पार्टीहरुले नै यी कामहरु गरिरहेका छन् ।

त्यसो भए माओवादी र एमाले इमान्दार बुर्जुवा पार्टी बन्न तयार छन् कि छैनन् भन्ने प्रश्न पनि रहेछ ?
हो । यो बुर्जुवा शब्द धेरै बदनाम भएको हुनाले हामी त्यति प्रयोग गर्दैनौं । हामीले कम्तिमा काम जे गर्ने हो शब्दमा पनि त्यही अभिव्यक्त गरौं भनेर बाम भनेका छौं । त्यो उपयुक्त नै होला । तर, खासमा काम नहुने खतरा छ । चुनावभन्दा अगाडिका हाम्रा धेरै वर्षका हाम्रा गतिविधिहरु शरीरभित्र घुसेको छ । नसाभित्र बगेको छ । नातागोता परिवाहरुले घेराबन्दी गरिराखेका छन् । आफू पनि त्योभन्दा बाहिर जान नसक्ने अवस्थामा पार्टीको नीति निर्माण तहमा बस्ने नेतृत्व छ । त्यसकारण बामपन्थी पार्टी बन्न नसक्ने खतरा छ । दोश्रो विगतमा हामी एक्लाएक्लै लड्न खोज्यौं । एक्लाएक्लै हिंड्न खोज्यौं । एक्लै यो देशको नेतृत्व गर्न सकिन्छ भनेर घमण्ड पाल्यौं । एक्ले अर्कालाई सिध्याउन पनि खोज्यौं । घमण्ड पालेर चकनाचुर पनि भयौं । त्योबाट धेरै हण्डर ठक्कर खाएपछि बु्द्धि पलाएको जस्तो पनि लाग्दैन । मुलुक दयनीय अवस्थामा पुगिसकेको छ । तर, बाम पार्टीका सबै नेता र कार्यकर्तालाई मुलुकको त्यो दयनीय अवस्थाले नछोएजस्तो म पाउँछु । त्यसैले बामपन्थी पार्टी मात्र बनाउन सक्ने हो भने मुुलुक एक कदम अगाडि जान्छ ।

दक्षिणपन्थी एकता हुन खोज्यो भन्ने पनि पार्टीभित्रैबाट सुनिएको छ, फरक ढंगले जानुपर्छ भन्ने पनि आएको छ । त्यसबारे तपाईंको के छ ?
म बुझ्छु । बहसका लागि मात्र कसैलाई बामपन्थी, कसैलाई मध्यपन्थी, कसैलाई दक्षिणपन्थी भनिदिन सकिन्छ । त्यसैले कुरा मात्र गरेर हुँदैन । म व्यक्तिका स्वत्वहरुका बारेमा केही भन्न चाहन्न । पार्टी नै चलाउँछु । मुलुकको कायापलटै गर्छु भन्न पनि पाइन्छ । भौतिक हिसाबले क्रान्तिकारी आन्दोलनमा जीवन वा मरणको खेलमै जान्छु भन्न पनि पाइन्छ । फेरि पनि अर्को पार्टी चलाउँछु भन्न त पाइयो । तर, म त्यो सम्भावनाको हिसाबले कमजोर देख्छु ।

तपाईंले इतिहास र कार्यकर्ताको रक्षाको कुरा गर्नुभएको थियो । एकतामा त्यो विषय भनेको के हो ?
इतिहासको मात्र कुरा गरेर पनि हुँदैन । इतिहासलाई मात्र समातेर अगाडि जान सकिँदैन । इतिहासका घटनालाई सुरक्षा र लिपिबद्ध गर्ने हो । मुलुक गम्भीर घुम्तिमा पुगेका बेला इतिहासमा के भएको थियो भन्ने कुरा पल्टाएर अध्ययन गर्ने हो र त्यसमध्ये सकारात्म्क ुकरा लिने हो । त्यही हो इतिहास भनेको । विगतका कुरा मात्रै गर्ने र अरुलाई मात्र गाली गर्ने हाम्रो महारोग छ । इतिहासको सुरषा गर्ने होृ लिपिबद्ध गर्ने हो । इतिहासको भावी पुस्ताले अध्ययन गर्न पाओस् । इतिहासमा जे थियो अहिले त्यही हुनुपर्छ भन्ने पनि छैन । तर, जनयुद्धले नेपालको परिवर्तनको आन्दोलनलाई अहिलेको ठाउँसम्म ल्याउन कत्ति योगदान हो भन्ने कुरा लिपिबद्ध हुनुपर्छ । । हामीले बगाएको रगत टुकुचाको पानी सरह हो ? हामीले बगाएको पसिना र आँशु टुकुचाको फोहोर जस्तै हो त ? इतिहासको रक्षाका कुरा एकताका सन्दर्भमा जरुर आउँछ । विगतमा हामीले एकअर्कालाई निधेषध गर्ने ठाउँमा थियौं ।

एमालेले जनयुद्धलाई कुनै पनि कोणबाट सही ठानेको थिएन । हामीले एमालेको संसदीय अभ्यासलाई दषिणपन्थी संशोधनवादी भनेका थियौं । दुईवटा फरक प्रकृतिका पार्टी एक बनाउने सन्दर्भमा हामीले इतिहासको सही समिक्षा गर्न सकेनौं भने त्यहींबाट तिक्तता सुरु हुन्छ । हामीसँग पर्याप्त समय छ भने तिक्तता सुरु हुनुभन्दा अगाडि नै किन त्यस विषयमा टुंगो नलगाउने ?

एमालेले जनयुद्धलाई स्वीकार गर्ला त ?
जनयुद्धका सन्दर्भमा घटना र ठाउँ विशेषमा समस्या थिए । यो कुरा हामी पनि स्वीकार गर्छौं । तर समग्र जनयुद्ध नै सैद्धान्तिक गल्ती थियो । यो प्रक्रियामा जनयुद्धको कुनै भूमिका थिएन भन्ने हो भने एमालेसँगको एकताको अर्थ र औचित्य रहँदैन । यो विषयमा एमाले गम्भीर हुनुपर्छ । जनयुद्धमा लडेर आएका कार्यकर्ताको योगदानको पनि मूल्यांकन हुनुपर्छ । जनयुद्धको आन्दोलनबाट आएकाहरुको रक्षा र सुरक्षामा गम्भीर हुन सकिएन भने सेना समायोजनमा गल्ती हुँदा ठूलो हिस्सा अहिले खाडी मुलुकका पसिना बगाइरहेको छ भने अहिले त्यस्तै गल्ती भयो भने ठूलो तप्का पार्टीबाट बाहिरिन्छ ।

सरकार र पार्टीको नेतृत्व कसरी मिलाउने ? कसैले आलोपालो भन्ने पनि आएको छ ?
लुकेर काम गर्दा प्रत्युत्पादक हुन्छ भनेको यही भएर हो । हिजो भएको सहमति के थियो त्यसमा इमान्दार हुनुपर्छ । एकले अर्काको अस्तित्व स्वीकार गर्नुपर्छ । विगतमा हामी दुईमध्ये कुनै बेला एउटा पार्टी सानो र अर्को ठूलो थियौं । त्यसैले कुन ठूलो पार्टी, कुन सानो पार्टी भनेर हुँदैन । म नेता हुन्छ, अनि अर्को पार्टीका कार्यकर्तालाई शासन गर्छु भन्ने सोच घातक हुन्छ । त्यसैले सम्मानजनक रुपमा एकता हुनुपर्छ । मेरो विचारमा सरकार बनाउने र पार्टी एकताको कुरा एकै होइनन् । पार्टी एकता सरकारका लागि सर्त हुन सक्दैन । एकै प्याकेजमा हल गर्छु भन्नु प्रत्युत्पादक हो । पार्टी एकता मात्र गरेर हुँदैन टिकाउ हुनुपर्छ । आधाआधा कार्यकाल प्रधानमन्त्री खाने कुराले फेरि पनि एकतालाई कमजोर बनाउँछ ।

सरकारको नेतृत्व अंकगणितमा भर पर्ने भएकाले गणित बढी भएकाले सरकारको नेतृत्व गर्दा हुन्छ । अर्को पक्षले पार्टीको नेतृत्व गर्दा हुन्छ । नेतृत्वको प्रश्न अन्तिममा गएर टुंगिने भनेको महाधिवेशनमा गएर हो । महाधिवेशनसम्मको संक्रमणकालसम्म सरकारको नेतृत्व र पार्टीको नेतृत्व फरकफरक पार्टीबाट गर्दा ठीक होला । तर, सरकारमा आलोपालोको कुरा गर्नु हुँदैन । यो डरलाग्दो कुरा हो । म आलोपालोको पक्षमा छैन ।

– थाहाखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *