२०८१ वैशाख ८ गते | 20th of April 2024

प्रदेश नम्बर ६ मा नेपाल निर्माण व्यवसायी महासंघका विविध कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन ८ गते ११:१४

निर्मल अर्याल/काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले प्रदेश नं. ६ का मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई भेटी व्यवसायीहरुका समसामयिक समस्या र समाधानका विषयमा जानकारी गराएको छ । महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले मुख्यमन्त्री शाहीलाई सुर्खेतको विरेन्द्रनगरमा भेटी निर्माण व्यवसायी मैत्री ऐन नियम बनाउनको लागि पहल गरिदिन आग्रह गरेको हो । वजेट निकासा नहुँदा, भुक्तानी रोकिँदा र निर्माण सामाग्रीमा चर्को मूल्यबृद्धि भएका कारण व्यवसायीहरु मारमा परेको भन्दै समस्या समाधानका लागि महासंघ प्रतिनिधिमण्डलले मुख्यमन्त्री शाहीको ध्यानाकर्षण गराएको छ । महासंघ प्रतिनिधिमण्डलमा अध्यक्ष श्रेष्ठसँगै महासंघका महासचिव रामशरण देउजा, उप–महासचिव विष्णु बुढाथोकी, कोषाध्यक्ष रोशन दाहाल, सह–कोषाध्यक्ष नरहरी थपलिया, कार्यसमिति सदस्यहरु दिपक गौतम, रत्न बहादुर खड्का, तारा सिंह कठायत लगायतको सहभागिता रहेको थियो ।

यसैबीच प्रदेश नम्बर ६ का सभामुख राज बहादुर शाहीले अबको समय विकास निर्माण र समृद्धिको भएको धारणा राख्नु भएको छ । विरेन्द्रनगरमा निर्माण व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै सभामुख शाहीले विकास निर्माणको गति अघि बढाउँदै मुलुकलाई समृद्ध बनाउन निर्माण व्यवसायीहरु र प्रदेश सरकार हातेमालो गर्दै अघि बढ्नु पर्ने बताउनुभयो । भौतिक पूर्वाधारको हिसाबमा ६ नम्बर प्रदेश केही पछाडि भएकाले सबै मिलेर विकासका गतिविधि अघि बढाउनुपर्ने सभामुख शाहीको भनाइ थियो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले देश संघीय संरचनामा गए सँगै महासंघले पनि आफ्नो विधान परिवर्तन गरिसकेको जानकारी दिनुभयो । सुर्खेतको विरेन्द्रनगरमा महासंघको प्रादेशिक कार्यालय उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले प्रादेशिक संरचना अनुसार अब सात वटै प्रदेशमा महासंघको आफ्नै प्रदेश महासंघ रहने र विधान पनि सोही अनुसार प्रदेश संघले निर्माण गर्ने जानकारी दिनुभयो । महासंघका अनुसार मोहन प्रकाश आचार्यकोे अध्यक्षतामा २९ सदस्यीय प्रदेश नं. ६ को तर्दथ समिति गठन गरिएको छ । तदर्थ समितिको वरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर कोइराला, उपाध्यक्षहरु बसन्त बिक्रम जि.सी, राज बहादुर महत, महासचिव डिल्ली प्रकाश के.सी., सचिव भक्ति प्रसाद न्यौपाने, कोषाध्यक्ष दिपक पन्त र सहकोषाध्यक्ष प्रदीप कुमार खत्री रहनु भएको छ ।

कार्यक्रममा महासंघका पूर्वउपाध्यक्ष कर्ण मल्ल, महासचिव रामशरण देउजा, उपमहासचिवद्धय बिष्णु बुढाथेकी, सुर्य प्रसाद तिमिल्सिना, कार्य समिति सदस्यहरु दिपक गौतम, रत्न बहादुर खड्का, तारा सिंह कठायत लगायत व्यवसायीहरुको सहभागिता रहेको थियो । महासंघ अध्यक्ष श्रेष्ठले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ मा भएको मूल्य समायोजनको व्यवस्थालाई कडाईका साथ अनिवार्य रुपमा लागु गरिनु पर्ने बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको १८ औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले सबै निर्माण कार्यहरुमा निर्माण व्यवसायीहरुले विना झन्झट नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्य सूची बमोजिम मूल्य समायोजनको रकम प्राप्त गर्ने व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।

मूल्यवृद्धिको मारमा परिसकेका व्यवसायीहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था दिनुपर्ने, जिल्ला प्रशासन कार्यालय अन्र्तगत रहेको जिल्ला दररेट निर्धारण समितिको बैठकलाई प्रभावकारी बनाउनुपर्ने धारणा पनि अध्यक्ष श्रेष्ठले राख्नुभयो । साधारण सभालाई सम्बोधन गर्दै महासंघका पूर्वउपाध्यक्ष कर्ण बहादुर मल्ल, महासचिव रामशरण देउजा, प्रवक्ता विष्णु बुढाथोकी, आन्तरिक उपमहासचिव सुर्य प्रसाद तिमिल्सिना, केन्द्रिय सदस्यहरु दिपक गौतम, रत्न बहादुर खड्का, प्रदेश नं. ६ का अध्यक्ष मोहन प्रकाश आचार्य, नेपाल निर्माण व्यवसायी एकता समाजका अध्यक्ष याम बहादुर बिसी लगायतका वक्ताहरुले व्यवसायीहरुका समस्या समाधान गर्न सरकारले ठोस पहल नगरेको बताउनुभयो । यसैबीच निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समिति र सार्वजनिक खरिद अनुगमन कार्यालयको सहयोगमा प्रदेश नं. ६ का निर्माण व्यवसायीहरुका लागि सुर्खेतको बिरेन्द्रनगरमा इजीपी तालिम कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले नेपालमा टेण्डर प्रक्रिया पेपरलेस सिस्टममा गइसकेको र निर्माण व्यवसायीहरुलाई अनलाईन बिडिङ सिस्टम अपरिहार्य भइसकेको अवस्थामा यस्तो तालिम अत्यन्त जरुरी भएको बताउनु भयो । सार्वजनिक खरिद अनुगमन कार्यलयका सह–सचि विश्व प्रकाश सुवेदीले व्यवसायीहरुले अव हार्डकपी बोलपत्र दाखिला गर्न नपाउने कानुनी प्रावधान रहेकोले सबै व्यवसायीहरुको लागि यो तालिम आवश्यक रहेको बताउनुभयो । कार्यक्रमलाई महासंघका महासचिव रामशरण देउजा लगायतका महासंघका पदाधिकारीले सम्बोधन गर्नु भएको थियो । तालिममा ४५ जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *