२०८१ वैशाख ६ गते | 18th of April 2024

पञ्चतत्वमा सदाका लागि विलीन भइन् श्रीदेवी

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन १६ गते २१:१४
 बलिवूड – एजेन्सी । अभिनेत्री श्रीदेवी सदाका लागि पञ्चतत्वमा विलीन भएकी छिन् । उनको अन्त्येष्टि राजकीय सम्मानका साथ बुधवार मुम्बईको भिले पार्ले सेवा समाज श्मशान गृहमा गरियो । श्रीदेवीको शवमा पति बोनी कपूरले मुखाग्नि दिए ।
उनको अन्तिम संस्कारका लागि विशेष गरि तमिलनाडुबाट पण्डित बोलाइएको थियो । आर्यघाटमा कपूर परिवार सबै उपस्थित थिए । श्रीदेवीको अन्तिम संस्कारको समयमा शाहरुख खान, प्रसून जोशी, सुनील शेट्टी, अनुपम खेर, अमिताभ बच्चन, जावेद अख्तर, शबाना आजमी, फरदीन खान, करण जोहर जस्ता चर्चित सेलिब्रेटीहरु पुगेका थिए । 
अन्तिम संस्कार अगाडि श्रीदेवीलाई रातो रंगको साडीमा बेहुली झैँ सजाइएको थियो । यसअघि उनको पार्थिव शरीरलाई लोखन्डवालास्थित सेलिब्रेशन क्लबमा अन्तिम श्रद्धञ्जलीका लागि राखिएको थियो ।
अन्तिम यात्राका लागि जुन ट्रकमा श्रीदेवीको पार्थिव शरीर राखिएको थियो, त्यसलाई सेतो रंगको फूलले सजाइएको थियो । ट्रकमा पार्थिव शरीरसँग पति बोनी कपूर, छोरा अर्जुन कपूर, छोरी खुशी-जाह्नवी, देवर सञ्जय कपूर उपस्थित थिए ।
श्रीदेवीको अन्तिम दर्शनका लागि बलिउडका चर्चित कलाकारहरु मात्र नभएर राजनीतिक व्यक्तित्वहरु पनि पुगेका थिए । मुम्बईको सडकमा उनका प्रशंसकहरुको थामिनसक्नुको भीड लागेको थियो । भीड यति धेरै थियो कि प्रहरीले लाठी चार्ज गर्न बाध्य भएको थियो ।
मंगलवार साँझ साढे १० बजे लामो प्रक्रियापछि दुबईबाट श्रीदेवीको पार्थिव शरीर मुम्बई ल्याइएको हो । एउटा विवाह समारोहमा सहभागी हुन स-परिवार दुबई गएका बेला शनिवार उनको मृत्यु भएको थियो । दुबई पुलिसका अनुसार, पोस्टमार्टम रिपोर्टले श्रीदेवीको मृत्यु होटलको कोठामा रहेको बाथटबमा डुबेर भएको हो ।
श्रीदेवीले ‘मिस्टर इण्डिया’, ‘चाँदनी’, ‘चालबाज’ र ‘सदमा’ जस्ता व्यावसायिक रूपमा निकै सफल फिल्ममा अभिनय गरेकी थिइन् । उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो ।
बालकलाकारको रूपमा उनले चार वर्षको उमेरमा एउटा तमिल फिल्मबाट काम शुरू गरेकी थिइन् ।  दक्षिण भारतीय फिल्महरूमा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारका रूपमा बलिउड फिल्म ‘सोलहवा साल’ बाट अभिनय शुरू गरिन् ।
सन् १९८० को दशकलाई अभिनेत्रीहरूको दृष्टिकोणले बलिउडलाई श्रीदेवीको दशकको रूपमा व्याख्या गर्ने गरिन्थ्यो ।  उनले ‘हिम्मतवाला’, ‘तोहफा’, ‘नगीना’, ‘औलाद’, ‘हीर रांझा’, ‘रूप की रानी चोरों का राजा’, ‘लाडला’, ‘जुदाई’ जस्ता यादगार फिल्ममा अभिनय गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *