२०८१ वैशाख १२ गते | 24th of April 2024

सी जिनपिङ आजीवन राष्ट्रपति

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २८ गते ८:५५

बेइजिङ -एजेन्सी । चीनले दुई कार्यकाल मात्रै राष्ट्रपति रहन पाउने संवैधानिक व्यवस्था संसोधन गरेको छ । चीनको नेसनल पिपुल्स कंग्रेस (एनपिसी) को वार्षिक बैठकले पारित गरेको नयाँ प्रावधानअनुसार सी जिनपिङलाई आजीवन राष्ट्रपति हुन पाउने बाटो खुलेको छ । यो पारित बैठकले दुई कार्यकाल मात्रै राष्ट्रपति र उपराष्ट्रपति रहन पाउने संवैधानिक प्रावधानलाई अन्त्य गरेको हो ।

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) ले राष्ट्रपति दुई कार्यकाल मात्रै रहन पाउने व्यवस्था अन्त्यका लागि गरेको संविधान संशोधनको प्रस्तावलाई कंग्रेसले आइतबार अनुमोदन गरेको हो । यससँगै राष्ट्रपति सीलाई सम्भवतः अनिश्चत कालसम्म सत्तामा रहिरहन बाटो खोलिदिएको छ ।

कंग्रेसका कुल दुई हजार नौ सय ६४ प्रतिनिधिमध्ये दुईजनाले मात्रै विपक्षमा मत हालेका थिए भने तीनजना अनुपस्थित थिए । अरू देशको संसद्जस्तै एनपिसी चीनको सबैभन्दा शक्तिशाली कानुन बनाउने निकाय हो । देङ सियाओपिङले सन् १९८२ मा ल्याएको कार्यकालमा सीमा तोक्ने व्यवस्था हटाउनु खतरनाक हुने आलोचकहरूले चेतावनी दिएका छन् ।

कम्युनिस्ट पार्टीमा तानाशाही प्रवृत्ति अन्त्य गर्न र एक पार्टी प्रणाली भएको चीनमा सामूहिक नेतृत्व कायम गर्न चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक नेता माओत्सेतुङले राष्ट्रपतिको कार्यकाल १० वर्ष मात्र सीमित गराएका थिए ।

तर, नयाँ संवैधानिक परिवर्तनले ६४ वर्षीय सीलाई आजीवन नेता बन्ने बाटो सहज पारेको छ । राष्ट्रपति सीको दोस्रो कार्यकाल यसै महिनादेखि सुरु हुँदै छ । नयाँ व्यवस्थाअनुसार उनी सन् २०२३ पछि पनि सत्तामा रहनेछन् ।

सर्वाधिक शक्तिशाली राष्ट्रपति :

राष्ट्रपति सी जिनपिङ चीनमा माओत्सेतुङपछि सर्वाधिक शक्तिशाली नेता साबित भइसकेका छन् । राष्ट्रपतिका अतिरिक्त उनी चिनियाँ कम्युनिस्ट पार्टी र सेनाका प्रमुख हुन् । नेसनल पिपुल्स कंग्रेसले सीको चिनियाँ विशेषतासहितको समाजवादको चिन्तनलाई संविधानमा समावेश गर्ने संवैधानिक परिवर्तनलाई पारित गरेको छ ।

नयाँ परिवर्तनले सीको नाम संविधानमै औपचारिक रूपमा लेखेको छ र उनलाई माओसरह मान्यता दिएको छ ।

विकासबारे वैज्ञानिक दृष्टिकोण :

राष्ट्रपति सी जिनपिङको चिन्तन नयाँ निर्देशक सिन्द्धान्तका रूपमा माक्र्सवाद, लेनिनवाद, माओत्सेतुुङ र देङ सियाओेपिङसँग मेल खान्छ । चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार विकासबारे वैज्ञानिक दृष्टिकोणलाई पनि संविधानमै लेखिएको छ ।

त्यस्तै, भ्रष्टाचार नियन्त्रणबारे राष्ट्रपति सीको विशेष योजना पनि संविधानमा समेटिएको छ । कंग्रेसको बैठकमा राष्ट्रपति सीले विधिको शासन र संविधानको पालना गर्न पार्टी अधिकारीहरूलाई अनुरोध गरेका थिए । संविधान र कानुनको सीमामा रहेर आफ्नो कर्तव्य पालना गर्न पार्टीपंक्तिलाई निर्देशन दिएका थिए ।

रजनीतिक कानुनको पालना र संविधानको रक्षा गर्न, सिपिसीको केन्द्रीय कमिटीलाई केन्द्रीकृत र ऐक्यबद्ध गर्न अनुरोध गर्नुका साथै पार्टी सिद्धान्त र नीति तथा सिपिसी केन्द्रीय कमिटीको निर्णयलाई पूर्ण रूपमा कार्यान्वयन गर्न राष्ट्रपति सीले पार्टी अधिकारीहरूलाई निर्देशन दिएका थिए ।

दुर्लभ असन्तुष्टि :

राष्ट्रपतिलाई दुई कार्यकालमा सीमित पार्ने योजना विवादरहित भने हुन सकेन । नेसनल पिपुल्स कंग्रेसले कम्युनिस्ट पार्टीको विरोधमा पहिलोपटक दुईजनाले मतदान गरेका छन् । कंग्रेसका केही प्रतिनिधिले लिखित विरोध गरेका थिए ।

सीको कार्यकाल लम्ब्याउने प्रस्तावलाई एक सरकारी आलोचकले ‘नाटक’को संज्ञा दिएका थिए । सरकारी पत्रिकाका एक पूर्वसम्पादक ली दातोङले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल दुई वर्षमा सीमित गर्ने विद्यमान प्रणालीलाई खारेज गर्ने नयाँ कानुनले अराजकताको बिउ रोप्ने बताएका छन् ।

नेसनल कंग्रेसका केही सदस्यलाई सन्देश पठाउँदै उनले सो धारणा राखेका थिए । ‘मलाई यो स्वीकार्य छैन । मैले साथीभाइसँग छलफल गरेको थिएँ । धेरै व्यक्ति नयाँ प्रणालीप्रति असन्तुष्ट छन्,’ उनले भनेका थिए । तर, सरकारी सञ्चारमाध्यमहरूले भने पछिल्लो चिनियाँ व्यवस्थाको स्वागत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *