1

एनआरएनको गरिमामय मनोनयन

1163 पटक पढिएको

गोकुल ढकाल

प्रवासमा पैसा कमाएपछी मान्छेले प्रचार खोज्छ, प्रायलाई लाग्ने अलौकिक भुतरोग हो, यो । भुतरोगले त्यो धनीलाई संस्था भन्ने अस्पतालको शैय्यामा पुर्याउंछ । रोगको निदान अगावै उ त्यही संस्थारुपी अस्पतालको शेयर होल्डर बन्न पुग्दछ । द्रव्यले उपचार गर्न गएको बिरामीलाई महंगा अस्पतालको संचालक समितिको शक्तिशाली सदस्य बनाइदिन्छ । पैसा छ त, ईदर उदर – इभिरिवयर मंगलम् । द्रव्यभाग्यले छवीराज ओझाको मंगलम् चलेको जस्तै । त्यो संस्था (अस्पताल) एनआरएन हुन पुग्दछ । एपोलो अस्पातल जस्तो, भयानक ।

केही भाग्यमानी प्रवासी नेपालीहरु मध्यका दोस्रो पुस्ताका द्रव्यनेताहरु उपेन्द्र, जिवा र देवमानहरुको रहर या सोचाईले एनआरएन जन्मियो । भलै एनआरएन जन्मका चिना हेर्ने धेरै ज्योतिषहरु होलान । तर, द्रव्य प्राप्तिको लहैलहैमा नेपालीको संस्था खोल्ने रहरले जन्मियो – एनआरएन । भाग्य र परिश्रमले अकुत सम्पत्ती आर्जन गरेपछी स्पेस खोज्ने नेपाली महतोहरुको रहरको उब्जनी हो – एनआरएन । अहिले भयानक छ, एनआरएन । बहुमत प्राप्त नेपाल सरकार थर्काउन सक्ने पाखुरी बोकेको । दोहोरो नागरिकता भनेर एनआरएनहरुका मुखमा जिब्रो बनेर झुन्डेको बोलीले भोली नेपालमा एउटी र प्रवासमा अर्की श्रीमती राख्न पाउनुपर्ने नारा राखे भने पनि पास नहोला, तर मन्त्रीमन्डलमा प्रस्ताव राख्न सक्छ, सरकारले । नभए धाप मार्दै प्रधानमन्त्रीले उखानमा भने समावेश गरिदिनेछन । त्यत्रो ल्याकत बोकेको छ, प्रवासीहरुको सबैभन्दा ठुलो संस्था – एनआरएनले ।

जिवाहरुका जस्तै सफल हुने सपनाहरु बोकेर प्रवासिएकाहरु दु:खले जन्मभुमीको सम्झनामा पुर्पुरोमा हात राखेर भगवान पुकार्दै हे-नारान ! भन्दैगर्दा रातारात ए-नारान ? बन्नुका फाईदा घाटाहरुका अर्कै हिसाव किताव होलान – बैरागी दैनिकीमा । दुई बर्षमा एकपटक चुनावताका भाग्य भए आँफैंले नभए अर्काले हालिदिने भोटका बखत ‘हजुर म उपाध्यक्ष’, म संयोजक, ‘नमस्ते साथी, म सदस्य’ पदको उम्मेद्वार बन्नेहरुको मधुर बोली र फेसबूकमा उनीहरुका ट्याग हेर्नु बाहेक केही उपलब्धी छैन । मन्दिरहरुमा केही सहयोग, पत्रकारहरुलाई चन्दा, विपतमा हातेमालो, केही मुलुकमा परिचय पत्र र कार्यक्रममा भात हुंदै अहिले हेल्प डेस्कको उपलब्धी बोकेर बसेको छ, एनआरएन ।

एनआरएन अमेरिका :
विगत चार बर्ष अगाडीसम्म जनसंपर्क झुन्डिन्थ्यो प्रवासी जन-जिब्रोमा – आस्थाले, एसाईलाम हाल्नुपर्नाले, ग्रीन कार्ड हुने बिपक्षीहरुले कुरा काट्नाले, प्रजातान्त्रिक आन्दोलन गरेको फोटो देखाउने होडवाजीले र गिरिजाप्रसादहरुका चर्चाले । बिस्तारै जनसंपर्क ओईलायो । फेसबूकजस्ता सामाजिक संजालहरुको बिकाससंगै अन्य मुलुकमा रहेका नेपालीहरु जस्तै सबैभन्दा बढी नाम लिईने भगवान, मन्त्र, नेता, राजनीति, खुराफात, खबर, दु:ख, जनसंपर्क, धनसंपर्क, प्रवासी मन्च, प्रवासी फोरम, कांग्रेस, एमाले, माओवादी, फोरम, रा.प्र.पा, परिवार, मित्र, शत्रु र आनन्दको जिनिश हो, एनआरएन । यसको सदस्य बनेपछि प्रवासी खानामा नुन र प्याज बाहेक अरु केही पनि हाल्नुपर्दैन, आफैं निलिन्छ । देवमानहरुजस्तै संस्था चाहनेहरुको लागि अक्सिजन र हामीजस्ता भारेभुरेहरुका लागि पाद हो, एनआरएन, लिनैपर्ने – फाल्नैपर्ने ।

विभिन्न चुनावले विभिन्न नेताहरु दिलायो, एनआरएन अमेरिकामा । न बिष्णुहरी द्धौराली, प्रल्हाद केसी र शिव राईहरु हुंदा एकमाना भयो एनआरएन अमेरिका, न खगेन्द्र जिसी जित्दा एकरुपता भयो एनआरएनमा । न दुई दुई पटक जितेका डा. केशब पौडेल सर्वशक्तिमान हुन सकेका छन ! चुनावको प्रारम्भिक चरण सदस्यता वितरणमा विवाद । बनिसकेका सदस्यको भोटाधिकारीकतामा विवाद । अध्यक्ष बन्छु भन्ने गौरीराज जोशीहरुका नाममा विवाद । अध्यक्ष बनिसकेका डा. केशव पौडेलहरुका नाममा विवाद ।

र पनि सबैभन्दा ठुलो एनआरएन एनसीसी, अमेरिकाको एनआरएनले उसको समग्र ग्लोबल ईतिहासमा सर्वाधिक उपाध्यक्षहरु उम्मेद्वार बनायो । ‘हजुर म उपाध्यक्ष’ भन्ने त्यसबेलाका भावी उपाध्यक्षहरुका धेरै नमस्कार खाए, नेपालीहरुले । कती मिठो बोल्थे नि फेरी फोनमा, सब भोटका लागि चाकडी । अहिले देशको बिद्धालयका पुस्तकालयका लागि दुई रुपैंयाको गो-फन्ड लिन्क ट्याग गर्दा नि वास्ता गर्दैनन । खैर, त्यसै त ठुलो एनसिसी । उम्मेद्वारहरु पनि ठुला अनि धेरै । चार पदको उपाध्यक्षका लागि चालिस जना । अरु पद त अब नेविसंघ र कांग्रेसमा नेपालमा लागेको ईतिहास दोहोर्याउन लडेका, यहींका संस्थाबाट बिदा हुंदै गर्दा लडेका, अनेरास्ववियू र एमाले, राप्रबिसंघ र राप्रपा, मधेश र फोरमका नाममा आ-आफ्ना पार्टीका ईतिहास धान्न चुनाव लड्ने नै भए । अमेरिकाका राजनैतीक संगठनहरुलाई हम्मे -हम्मे । मिलाउन नसक्ने प्यानल र नजोडीने खुराफातको च्यानलले प्रवासी संगठन धुजाधुजा भए, एनआरएनको नाममा । समाप्त भईसकेको त्यो चुनावको उपलब्धी हेल्प डेस्कको हटलाइनमा आएर अड्किएको छ ।

भवन भुवन :
गोरखाको गाउंमै शिक्षित परिवारमा जन्मेका एनआरएनका ग्लोबल अध्यक्ष भवन भट्ट वर्तमानमा सबैभन्दा बाठा एनआरएन द्रव्यनेता हुन । पूंजीमा उपेन्द्र महतो र जिवा लामिछानेहरु अगाडी होलान । शालिनतामा त्यत्तिकै धनी शेष घलेहरु होलान । सोझोमा देवमान हिराचनहरु होलान । बाठोमा कुमार पन्तहरु होलान । तर महतो, लामिछाने, घले, हिराचन, पन्त, केसी, ढकाल, पौडेल, राई, गुरुङ्गहरु सबैको व्यबहार एउटै मान्छेमा पाईने अचम्मका कलाकार हुन, भवन भट्ट । हरेक टाठा र पैसावालहरुलाई पार्टनर बनाएर पैसा कमाएका कथाहरु उनका ब्यक्तिगत जीवनका पाटा भए । तर यो भुवनमा कोही नेपाली हरेक क्षेत्रमा ‘त्यस्तै’ छ भने, उसको नाम हो – भवन भट्ट ।

यो भन्दा पहिले भवन भट्ट उपाध्यक्ष पदमा चुनाव लड्दा प्रचारको उनको एउटा जुक्ती खुबै चर्चित भयो । ‘हजुर म उपाध्यक्ष’ भनेर सबैलाई नमस्कार गरिरहन नभ्याईएला । भट्टको दिमागमा एउटा आईडिया आयो । उनी सम्मेलनस्थल होटलको पिविएस डिपार्टमा गए । कसरी फकाए, त्यहाँका मान्छेलाई कुन्नि ! होटलको वाईफाईको पासवर्ड ‘Vote For Bhawan’ राख्न लगाए । नेपाल गएको बखत पिरती, समाचार, सम्पर्क र प्रचारको लागी द्रव्यनेताहरुले त्यो पासवर्ड प्रयोग गर्न पर्यो, फ़ोन चलाउंन । मतलब, तत्काल फाईदाका अनेक तिकडम बुन्न सक्ने गोरखाली हुन्, भवन । त्यसैले त तामझामको बिबि एयरवेज डुबेर पनि उनी भवन भट्टै भएका छन् । देखिंदा जिवाहरुको आशिर्वाद प्राप्त पद भएपनि यत्रो एनआरएनको पद त्यति सजिलै जिप्टाएका छैनन्, भट्टले ।

डा. पौडेलको शल्यक्रिया :
‘ओई, डा. पौडेलले चुनाव जित्छन् त, यार ? गौरी पनि उठेका छन् ।’ एनआरएन चुनावताक साथीहरु सोध्थे । ‘चुनाव हो, के थाहा यार । तर राजनैतिक दाउपेच र गोटी चलाउन प्रमोद सिटौला, बेद खरेल र सिपि पौडेलका हजुरबुवा हुन्, डा. । २५ बर्षे चिनजानले मैले जानेको त्यही हो ।’ म भन्दिन्थें, ती मित्रहरुलाई ।

ऊंचो ब्यक्तित्व बनाएका अरुका जालमा हिड्ने विद्वान नगेन्द्र पौडेललाई खेलाई खेलाई पछारिदिए, डा. पौडेलले । खगेन्द्र जिसीसंग काँध मिलाएका डा.ले त्यही काँधमा हलो भिराईदिए । ‘म उठ्दिन, तपाईं हो मेरो उम्मेदवार ।’ थापा, खरेल, पोखरेल र भट्टराईहरुलाई आकस्मिक उपचार नगरिकन बिरामी पारिराखे, डा.ले ।

ग्रिन सिटी हस्पिटल, ह्वाईट भिलेज वृद्धाश्रम, ब्ल्याक गार्डेन जग्गा र य्याल्लो पगेडा हाउजिगंमा हातमा हात मिलाएर साझेदारी गरेका गौरी जोशीका मित्र, शत्रु र समर्थक हुंदै आरिस नगरिकन आर सीमा लगेर मिलाईदिए । अहिले समर्थकले त चाहेको पाउने नै भए, विरोधीहरुको रोगको पहिचान गर्दै शल्यक्रिया गर्दै ‘गरिमामय मनोनयन’ को ओखती सिफ़ारिश गरिदिएका छन् । तर ओखती किन्ने पसल चाहीं एनआरएनमा आगामी चुनावमा महासचिव उठ्ने एनआरएन पसल । परिवेशले विपक्षीहरुलाई रंगमन्चको खलनायक लागेपनि एनआरएन, जनसंपर्क र चिनजान छाडेर बोल्दा डा. पौडेल भलादमी मान्छे हुन । एनआरएने रोगको शल्यकृयामा फोक्सो छाडी किन पाखुरातिर सियो गोपेका हुन, उनी जानुन – एनारएने डाक्टरी छाडे भने डा. पौडेल प्रवासी नेपालीका सुख दु:खका रोगका असली डा. हुन ।

गौरीको गहिराई :
एउटा मिडिया कार्यक्रममा निमन्त्रणा पठाईएको जवाफमा ‘मिडीयाका कार्यक्रममा हिड्न थालेमा डा. पौडेल झैं सबै राज्य पुग्न नसकिने, फेरी आफु आर सी मान्छे प्रोटोकल पनि हेर्नुपर्ने’ जवाफ आयो । सितिमिति विना थिति नबोल्ने ई. जोशी राजनैतिक बुझाई र खेलमा जनसम्पर्क र प्रवासी मन्च हाँक्ने ठुला नेताहरु भन्दा दिग्गज छन् । त्यत्रा जन्ती प्यानललाई नबोली नबोली थान्को लगाएर ‘जितिसकेको अध्यक्ष’ बाट आर सी भएका छन्, जोशी ।

तनावमा ब्यापार विस्तार गरि हाल्ने गहिरो सोचाईका जोशी टेक्सासमै सम्पन्न बहुप्रचारित एनआरएन बैठकमा सामेल भएनन् । भन्डाफोर गर्ने भाषण खल्तीमा राखेर पनि नेपाली काँग्रेस फुट्दा देउवालाई पौडेल आउने आश्वासन पाएजस्तै जोशी आउने बाटो कुरी बसेको एनआरएन बैठक एउटा अनलाईनको उद्घाटन गरेर समापन भयो ।

एनसिसीमा जोशीको सिफ़ारिशमा मनोनित संचार संयोजक र पौडेलको सिफारिशमा मनोनित प्रवक्ताका ‘एकै अर्थका समाचार’ आउंदा आर सीको धारणा बोल्न चुनावताक खोलिएको आफ्नै वेबसाईट अपडेट नगरि गहिरो सोचाईमा मौन बसेका छन, जोशी । गरिमामय मनोनयनमा आफ्ना भागमा परेका ईमेल हेरेर दिन बितेको छ, आरसी जोशीको । चुनावी दौरानमा खल्तीबाट करिब दुई लाख डलर सक्काएका जोशीको मौनताको गहिराई न जनसमपर्कले बुझ्न सक्यो, न प्रवासी मन्चले । चुनाव भन्दा अगाडी सबैका प्यारा जोशी चुनावको बेला बिभिन्न ओठरीका गीत भए त खुराफातीहरुका कोठरीका पात्र भए, र पनि ‘नो’ भन्न नजानेका जोशीका मौनताको गहिराई ईश्ट, बिष्ट र दुश्ट कसैले बुझेनन ।

अमेरिकामा यस्ता पात्रहरुको गुट छ, जसको चाह राजनीति, पत्रकारिता, महासचिव, अध्यक्ष, टिप्पणीकार, कलाकार, आरजे र भोली यही बसेर मनोनित मन्त्री बन्ने सपना बोकेर खुराफातका खेती गर्छन् । जोशीको मौनता या समर्थन त्यही जालझेलको पिरतिमा फस्यो । आरसी भए, सर्वशक्तिमान द्रव्यनेता, अमेरिकाबाट । तर उनको मौनतामा पाकेको खीर कतिले खाए उनले पत्तै पाएनन ।

कुमारको चक्र :
नेविसंघको एउटा कार्यकर्ता क्याम्पस ईकाईको सभापती भएपछी जाने बाटो भनेको केन्द्रिय सदस्य हो । क्याम्पस र केन्द्र विच क्याम्पस ईकाईका ती सभापती अल्झाउने कुनै समिती र विभागै छैनन । यस्तो कुरो जानेको भए चुनावमा यो हविगत किन हुन्थ्यो होला र, कांग्रेसको  ! डोटीमा माओवादीको गोली खाएर राजधानी अाई नेविसंघ क्याम्पस ईकाईको सभापती बनेको ठिटो अब केन्द्रिय सदस्य नलडे कि राजनीति छोडिदिनु पर्‍यो, कि गोलिगांठोमा माओवादीले हानेको गोली ‘बाउले झुक्किएर हाने’ भनेर जमलतिर लुकेको समाज पुस्तक र जनसत्ता पत्रीका बेच्न तिर लाग्नपर्‍यो, कि केन्द्रिय समितिमा लड्न पर्‍यो ।

नेविसंघमा जित्न कि ठमेलका सिंहको छाउरो हुनपर्‍यो, कि बुढानिलकन्ठका शेरका डमरू हुन पर्‍यो, कि सिटौलाका सिलौटो हुनपर्‍यो, कि शसांकका झसांक (झंक्कांस) हुनुपर्‍यो । केही नभए इमानको राजनीतिका लागि चुनाव लड्नुपर्‍यो, गगन थापासंग । माथीका सबै भाका थापा र सोझो डोटेली ठिटोको भिडन्त । उसको केही लाग्दैन , राजाधानीको रैथानेहरुको बलका अगाडी चुनाव उसलाई गार्हो हुन्छ । त्यसै हान्याहुन, पोखरामा गगनलाई खुकुरी ?, अन्य अर्थ नलागोस ।

त्यसको ठीक विपरित विशेषत: एमालेको अनेरास्ववियूमा क्याम्पस प्रारम्भिक कमिटीको अध्यक्षलाई केन्द्रिय समितिमा जानुपुर्व अटाउने जिल्ला स्कुल कमिटी, बिशेष जिल्ला कमिटी, पुर्व प्रा. क. अध्यक्ष अटाउने विविध कमिटीहरु खडा गरिएका हुन्छन । नेपाली कांग्रेसमा महाधिवेशन शुरु हुनु अघि गुट हेरेर विभाग गठन हुने नजिर छ । कांग्रेसको हरिविजोग देखेर जन्मदैं सचेत एमालेको संगठन जमानादेखी नेपालमा सबैभन्दा संगठित र कृयाशिल छ । क्याम्प्पसको स्ववियू चुनावमा नेविसंघले खाने मासु भात र अखिलले खाने दालमोठ चिउराको कहानी त सधैंं किन लेख्नुपर्‍यो र ?

गोर्खाकै भवनका भावनाका प्रत्याशी कुमार पन्त त्यही अखिल संगठनको छत्रछांयांबाट हुर्केका बिद्धार्थी हुन, जसरी भवन रा.प्र.पा का नेता हुन । डालसमा भेट्दा अध्यक्षका प्रत्याशी भनेका पन्त जोशी र पौडेल मिलाउन उड्दा उड्दै उपाध्यक्षमा दोहोरिए । बिबी एयर्लाइन्समा नउडेपनी उनी भवनको मनको जहाजमा उडे र मनकै राजा भएर भवन राजाको मन्त्री भएर थन्किए, प्रचन्ड आगामी प्रधानमन्त्री हुने भनिए जस्तै। बाठा भट्टलाई थाहा छ, समय आउंछ पर्खदैन, फेरी जिवा फर्कदैन , त्यसैले हजुरवा जिवाले जसो जसो भने उसो उसो स्वाहाको होम हाले, कुमार पन्तको ‘आगामी अध्यक्ष यज्ञमा ।’

त्यो बेला हाले होमादी, पन्तले । अखिल र एमालेको संगठित संगठनका सदस्य कुमार पन्तले ‘भवन जसरी कुनै भावना’हरु नदोहोरिउन भनेर संगठन गर्न लागेका छन । यसरी लागेका छन कि जसरी बाम गठबन्धनको तयारी भाको देउवालाई पत्तै थिएन । कि परेर जानिन्छ, कि पढेर । रात रहे अग्राख पलाउंछ, भवन जत्ती पाका भए नि त्यती बाठा नभएका पन्तले फेरी थन्काउने वाहनामा ….. मा लात नहानोस भनेर, डा., ई., सुपर लयरहरुलाई फकाएर अखिलको जस्तो संगठन बनाउन लागिपरेका छन, धमाधाम गरिमामय पदहरु सिर्जना गरेर ।

गरिमामय पद :
जिवाहरुले फकाएसरी आगामी एनआरएनको चुनावमा अध्यक्ष हुने सजिलो सपना नदेखेका कुमार पन्तको सांगठानिक कौशलताले अहिले विशेषत: अाईसिसीमा दर्विलो प्रतिनिधित्व नभएको आरोप खेपेको एनसिसी जस लिने भयंकर कसरत गरेको छ, अमेरिकाले । अध्यक्ष डा. पौडेलको शल्यकृया र ई. जोशीको डिजाईनिङ्गले बनाएको प्रारुपले कस्तो मोडेलको एनआरएन बनाउने हो, हेर्न बांकी छ । तर, जोशीका अन्धभक्त र डा. पौडेलका पूर्णविरोधीहरुको ‘गरिमामय मनोनयन’ ले एनआरएन अमेरिकाको फुल फक्रिएको छ, मनोनयनको पम्पले । हिजो डा. देखी फायर पूर्ण बानियां गरिमामय पदमा मख्ख छन । भट्टका गाउंले, डा. का त्यसबेलाका बिरोधी तथा जोशी रथका उप-चालक बिनोद भट्ट फुड हो कि गूड विभागको के हो कुन्नी पद पाएर मख्ख छन । गौरी जोशी जिताऔं अभियानका शुरुवातकर्ता, पछी डा. पौडेलका रक्षा-कवज शंकर खड्का मख्खै होलान । आईसिसीमा झन परारै चुनाव लडेका बाला घिमिरेदेखी उपाध्यक्ष पदमा जितेर हराईएका पुरुषोत्तम बोहोरा, महासचिवमा हारेर जितेका सुर्य लम्सालहरु पनि ‘गरिमामय मनोनयन’मा मख्ख छन ।

प्रयाश: उच्च सरकारी ओहोदा, कुटनैतीक उच्च मर्यादाको पदका लागि प्रयोग हुने ‘गरिमामय’ पदको अर्थ के रहेछ ? आईसिसीले ई-सिसीको तालमा बनाएका उप-समितिमा सबैभन्दा बढी मनोनयन भएका अमेरिकाका ए-नारान नेताहरुले हिजो काट्ने उछित्तो र आज कपोकल्पित पद प्राप्तिले मुखमा लागेको बुझोले यो दुनियाँ चकित छ, गरिमामय शब्दजालले ।

पावर सप्लाई विभाग रे ! त्यो सदस्यले अमेरिकामा घण्टा हानेर परिवारलाई चामल सप्लाई गर्न सकेको छैन, नेपालमा के सप्लाई गर्ने हो ? फुड प्रमोशन विभाग रे । लन्डनमा राष्ट्रिय खाना भाको टिका मसला सप्लाई गर्न सकेको छैन, भारतले । पन्त दाईको चुनावी टार्गेट्को विभागले के सप्लाई र प्रमोशन गर्ने हो, अमेरिकामा ? एयरपोर्ट सफाई विभाग सदस्य रे, घरमा छोराको डाईपर सफा गर्ने समय एनआरएनको कन्फेरेन्स मिटिङ्गमा सहभागी हुंदा हुंदा श्रीमतीको डिभोर्स लेटर प्राप्त गरिसकेका सदस्यले कहिले विमानास्थलमा कुचो लगाउन जाने हो ? साहित्य विभाग सदस्य रे, साहित्यको नाममा हुने सभामा छ जना भेला गराउन नसक्नेले नेपालको भाषा साहित्यमा के टेवा पुर्याउने हो ?

आईसिसी सदस्य बलराम थापा भन्थे, ‘भाई यो एनआरएन हाम्लाई होईन्छ ।’ दुई चार वटा ब्यापारका मालिक, अमेरिकामा निदाउने आफ्नै छाप्रो भएका थापाहरुको ग्लानीका अगाडी कागजविहिन, अधिकारविहिन नाटके पदका सदस्यहरुको ‘गरिमामय मनोनयन’ को अर्थ बुझे त मार्दिनु ।

मनोनित सबै आफन्त, दाजुभाई – दिदीबहिनीहरु  र साथी छन । आज कुराकानीमा पत्रकार मित्र शरद पोखरेलजीले भनेजस्तै ‘ अरु त त्यस्तै हो ,पुरुषोत्तम बोहोरा, सुर्य लम्साल र सन्जीव श्रेष्ठहरुका ‘गरिमामय मोह’ देखेर छक्क लाग्छ ।’

कमरेड पन्तप्रति केही दुखेशो छैन (फेरी आफुले पाएन- अनि, बहुलायो भन्लान, त्यो होईन, सत्त्य होईन) । त्यसो त आगामी चुनावको ताकेता र माहौलको लागि भवन भट्टको लाहाछाप, कुमार पन्तको डिजाईनिङ, डा. पौडेलको शल्यकृया, गौरी जोशीको गहिराई र यहाँंहरुको पदमोहले अचम्म लाग्छ । बयान त्यसको हुन्छ, जसले जित्छ । बधाई त्यसले पाउंछ, जो मनोनित हुन्छ । त्यसमाथी पनि गरिमामय मनोनयन । सबै पदका गरिवावय गरिमामय माननीयज्यूहरुलाई हार्दिक बधाई !
कुमारजीले यहाँहरुको कल्याण गरुन ।
gokulvivas@gmail.com

तपाईको प्रतिक्रिया

बलिउडको दबांग खान यानि कि सलमान खान हिन्दी चलचित्र उद्योगको एक सुपरस्टार हुन्। आज उनको फिल्म.. ...

जापान - नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडलले विवेकशून्य वर्तमान सरकारमा.. ...

- लक्ष्मण सिटौला laxnanrajsitaula@gmail.com - म एक्ली छोरी । आस्था भन्छन मलाई । म असाध्य पुलपुलिएकी छु रे ! त्यही.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...