२०८१ वैशाख २९ गते | 11th of May 2024

रेशम चौधरी अपराधी हुन्, रिहा हुंदैनन : एआईजी नेपाल

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ६ गते २०:०३

बझाङ – नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरिक्षक तथा प्रदेश नं ७ का प्रहरी प्रमुख माधवप्रसाद नेपालले रेशम चौधरीको नेतृत्वमा टिकापुरमा नरसंहार भएको र उनी अपराधी भएको बताएका छन् ।

चौधरी लगायत घटनामा संलग्नहरुलाई हदै सम्मको सजायको माग गर्दै प्रहरीले अदालतमा मुद्दा दायर गरेको बताउँदै अदालतबाट उनलाई कारवाही हुने अपेक्षा गरिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय बझाङको हाता भित्र निर्मित महिला तथा बालबालिकाका सेवा केन्द्रको भवन उद्घाटनका लागि बझाङ पुगेका प्रहरी महानिरिक्षक नेपालले त्यसो बताएका हुन् । भवन उद्घाटन कार्यक्रम पछि भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपालले अपराधीलाई अदालतले सजाय दिने बताएका थिए ।

केही दिन अघि कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरे पछि अदालतको आदेशमा पुर्पक्षको लागी थुनामा रहेका चौधरीलाई अनसन तोडाउने क्रममा गृहमन्त्रीले जुस खुवाएको दृष्यले के संकेत गर्छ भन्ने पत्रकारको जिज्ञासामा नेपालले भने, ‘प्रहरीले सम्पूर्ण अनुसन्धान पछि कारवाहीको माग दाबी गरेर फाइल अदालतमा पेश गरिसकेको छ । गृहमन्त्रीको सवाल राजनीतिक भएकोले त्यस विषयमा हामीले बोल्न मिल्दैन ।’

उनले समाजमा अपराध कर्म गर्ने कुनैपनि व्यक्तीले उन्मुक्ती पाउनु हुन्न भन्ने मान्यतामा प्रहरी दृढ रहेको बताउँदै उनले भने, ‘टिकापुर घटनामा प्रहरीले लामो अनुसन्धान गरेर पेश गरेका प्रमाणको आधारमा अदालतले फैसला गर्छ । हाम्रो प्रमाण बलियो छ भने अपराधीलाई कारवाही हुन्छ । कमजोर रहेछ भने त्यसकै आधारमा अदालतले फैसला गर्ने हो ।’

टिकापुर घटनालाई राजनीतिक निर्णय गरेर अपराधीलाई उन्मुक्ती दिन खोजियो भने प्रहरीले के गर्छ ? भन्ने जिज्ञासामा उनले आफूहरु अदालतको निर्णय पर्खेर बसेको र राजनीतिका विषयमा केही बोल्न नमिल्ने बताएका थिए ।

२०७३ साल भदौमा कैलालीको टिकापुरमा भएको घटनामा डिआइजीसहीत ७ जना प्रहरी र एक नाबालकको हत्या गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *