२०८१ वैशाख १२ गते | 24th of April 2024

प्रदेश नम्बर दुईमा नेपाल निर्माण व्यवसायी महासंघका विविध कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १४ गते १४:२६

जनकपुर – प्रदेश नम्बर दुईका मुख्य मन्त्री लाल बहादुर राउतले विकास निर्माणको गति अघि बढाउँदै मुलुकलाई समृद्ध बनाउन निर्माण व्यवसायी र प्रदेश सरकार हातेमालो गर्दै अघि बढ्नु पर्ने बताउनु भएको छ । निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर दुईको प्रथम भेलालाई जनकपुरमा सम्बोधन गर्दै मुख्य मन्त्री राउतले निर्माण व्यवसायीलाई प्राविधिक रुपमा अझ दक्ष बनाउनु पर्ने बताउनुभयो । निर्माण कार्यमा विगतमा भएका कमजोरी समीक्षा गर्दै गुणस्तरीय कामगर्न उहाँले व्यवसायीहरुलाई निर्देशन दिनुभयो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले देश संघीय संरचनामा गए सँगै महासंघले पनि आफ्नो विधान परिवर्तन गरिसकेको जानकारी दिनुभयो ।

जनकपुरधाममा महासंघको प्रादेशिक कार्यालय उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले प्रादेशिक संरचना अनुसार अब सात वटै प्रदेशमा महासंघको आफ्नै प्रदेश महासंघ रहने र विधान पनि सोही अनुसार प्रदेश संघले निर्माण गर्ने जानकारी दिनुभयो । महासंघका अनुसार सुरेन्द्र प्रसाद चौधरीकोे अध्यक्षतामा प्रदेश नम्बर दुईको २० सदस्यीय तर्दथ समिति गठन गरिएको छ । कार्यक्रममा महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष रवि सिंह, उपाध्यक्ष रुद्र शर्मा, महासचिव रामशरण देउजा, उपमहासचिवद्धय बिष्णु बुढाथेकी, सुर्य प्रसाद तिमिल्सिना, कार्य समिति सदस्यहरु दिपक गौतम, बैद्यनाथ प्रसाद शाह लगायत व्यवसायीहरुले निर्माण क्षेत्रको चुनौती र सम्भावना बारे प्रकाश पार्नुभयो । यसैबीच महासंघ अध्यक्ष श्रेष्ठले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ मा भएको मूल्य समायोजनको व्यवस्थालाई कडाईका साथ अनिवार्य रुपमा लागु गरिनु पर्ने माग गर्नु भएको छ । 

महासंघले जनकपुरधाममा गरेको प्रदेश स्तरिय पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले सबै निर्माण कार्यहरुमा निर्माण व्यवसायीहरुले विना झन्झट नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्य सूची बमोजिम मूल्य समायोजनको रकम प्राप्त गर्ने व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो । मूल्यवृद्धिको मारमा परिसकेका व्यवसायीहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था दिनुपर्ने, जिल्ला प्रशासन कार्यालय अन्र्तगत रहेको जिल्ला दररेट निर्धारण समितिको बैठकलाई प्रभावकारी बनाउनुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो । निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समिति र सार्वजनिक खरिद अनुगमन कार्यालयको सहयोगमा दुई नम्बर प्रदेशका निर्माण व्यवसायीहरुका लागि जनकपुरधाममा इजीपी तालिम पनि आयोजना गरिएको छ । कार्यक्रममा महासंघका अध्यक्ष श्रेष्ठले नेपालमा टेण्डर प्रक्रिया पेपरलेस सिस्टममा गइसकेको र निर्माण ब्यवसायीहरुलाई अनलाईन बिडिङ सिस्टम अपरिहार्य भइसकेको अवस्थामा यस्तो तालिम अत्यन्त जरुरी भएको बताउनु भयो ।

सार्वजनिक खरिद अनुगमन कार्यलयका सह–सचिव सुनिल कर्णले व्यवसायीहरुले अव हार्डकपी बोलपत्र दाखिला गर्न नपाउने कानुनी प्रावधान रहेकोले सबै व्यवसायीहरुको लागि यो तालिम आवश्यक रहेको बताउनुभयो । कार्यक्रमलाई महासंघका महासचिव रामशरण देउजा लगायतका महासंघका पदाधिकारीले सम्बोधन गर्नु भएको थियो । तालिममा ४५ जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *