२०८१ वैशाख १२ गते | 24th of April 2024

सरकारको स्वागतमा स्थानीय तह

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २९ गते २:५०

प्रकाश ढकाल
पोखरा, २९ बैशाख ।
कास्कीको मादी गाउँपालिकामा नयाँ जनप्रतिनिधीका लागि छुट्टै घर बनाईएको छ । अस्थायी घरबाट कार्यालय सञ्चालन भैरहेपनि कार्यकारी अधिकृत नारायण अधिकारीले अध्यक्ष र उपाध्यक्ष बस्ने छुट्टै घर बनाएका हुन् । उनले जनप्रतिनिधीलाई चाहिने कुर्ची र टेवुल दराज पनि खरिद गरिसके । जनप्रतिनिधीकै लागि भनेर मासिक ९५ हजारमा बोलेरो गाडी भाडामा लिएका छन् । ‘अहिलेलाई ब्लकको दुईकोठे भवन बनाएका छौं । अध्यक्ष र उपाध्यक्ष बस्न समस्या छैन, उनले भने–भवन निर्माण सकिन लाग्यो । २÷४ दिनमा रंगरोगन गरेर फर्निचर ब्यवस्था गर्छौं ।’ निर्वाचित जनप्रतिनिधीलाई भब्य स्वागत गर्ने तयारीमा छन्, उनी । तर नयाँ वडामा भने केही समस्या भएको अधिकारीको भनाई छ । ‘१२ वटै वडालाई फर्निचर पठाईसकेका छौं । ७ वडा नयाँ भएकाले कहाँ कार्यालय राख्ने भन्ने समस्या छ, उनी भन्छन्–घर भाडामा लिएर भएपनि केही दिनभित्रै कार्यालय तयार गर्छौं । भाडाको प्रक्रिया सुरु भैसकेको छ ।’
अन्नपूर्ण गाउँपालिकाले जनप्रतिनिधी आउनुअघि नै सबै ब्यवस्थापन मिलाईसक्ने गरी तयारी थालेको छ । जनप्रतिनिधी पस्ने बित्तिकै बस्ने र सभा चलाउने ठाउँको ब्यवस्थापन भैरहेको कार्यकारी अधिकृत खेमराज देवकोटाले बताए । गाउँपालिकाको कार्यालय लुम्ले कृषि अनुसन्धान केन्द्रको भवनबाट चल्छ । लामो समयदेखि प्रयोगविहिन भवन भएकाले भाडा तिर्न नपरेपनि मर्मत र सरसफाई मै धेरै खर्च लागेको उनको भनाई छ । ‘पुरानो घर भएकाले मर्मत सम्भारमै दशौं लाख खर्च भैसक्यो । अझै पार्टेसनको काम बाँकी छ, उनले भने–तत्कालको संकट टरेपनि पूर्ण ब्यवस्थापन हुन अझै समय लाग्छ । जनप्रतिनिधी आएपछि सल्लाह गरेर काम गर्ने सोच बनाएका छौं ।’ आवश्यक फर्निचर खरिद गरिसकेको देवकोटाले जानकारी दिए ।
माछापुच्छ«े गाउँपालिकाका कार्यकारी अधिकृत किरण कोइरालाले पनि जनप्रतिनिधीका लागि घुम्ने कुर्ची अर्डर गरिसके । पूराना कोठालाई रंगरोगन गरेर नयाँ बनाए । ‘भवन अभावले एउटै कोठामा अध्यक्ष र उपाध्यक्षलाई बस्ने ब्यवस्था मिलाएको छु । एकदुई दिनमा कुर्ची र सोफा पनि आईसक्छ, उनले भने–वडाध्यक्षका लागि नजिकै घर भाडामा लिन लागेका छौं । असारसम्मलाई गाडी पनि भाडामा लिईसकें ।’ नयाँ वडाका लागि भने जनप्रतिनिधी आएपछि नै ब्यवस्थापन गर्ने कोइरालाको भनाई छ । साविक गाविस कार्यालयहरुमा गाउँपालिकाको काम गर्दा कोठा अभाव भएको गाउँपालिकाका कार्यकारी अधिकृतहरु बताउँछन् । कर्मचारी थप भए झनै समस्या हुन्छ ।
अन्यथा भएन भने अबको १० दिनपछि ३४ जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधी प्रबेश गर्नेछन् । बैशाख ३१ को चुनावले २ सय ८३ स्थानीय तहमा १४ हजार १ सय १४ जना जनप्रतिनिधी निर्वाचित गर्नेछ ।  त्यसमध्ये कास्कीमा ३ सय ७० जना निर्वाचित हुँदैछन् । जिल्लाका सबै स्थानीय तहमा कार्यकारी अधिकृतले जनप्रतिनिधीका लागि कार्यालय ब्यवस्थापनमा जोड दिएका छन् । जिल्लाका ५ स्थानीय तहमध्ये तीन गाउँपालिका साविक गाविस कार्यायल र पोखरा लेखनाथ महानगरपालिका साविक उपमहानगरपालिकाको कार्यालयमा छ । कास्कीका सबै स्थानीय तहले जनप्रतिनिधीलाई बरबुजारथको तयारी गरिरहेका छन् । रुपा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षलाई एउटै कोठामा राख्ने गरी ब्यवस्था मिलाईएको छ । वडाध्यक्षलाई पनि कुर्ची टेवुल खरिद गरेर ओसार्ने काम भैरहेको कार्यकारी अधिकृत भेषराज आचार्यले जानकारी दिए ।
केही गाउँपालिकामा भौतिक संरचना अभावले कार्यालय ब्यवस्थापन कठिन बनिरहेपनि महानगरपालिका तुलनात्मक रुपमा ब्यवस्थित छ । जनप्रतिनिधी भित्र्याउन ठोस तयारी नभएपनि आन्तरिक छलफल भैरहेको कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले बताए । ‘कार्यालयमा अहिलेकै कर्मचारी राख्न पनि साँघुरो छ । ठूलो संख्यामा जनप्रतिनिधी आउँदा सजिलो पक्कै छैन, उनले भने–तत्कालका लागि साँघुरो भित्रै एडजस्ट गराउँछौं । पछि अरु विकल्प सोचौंला ।’ उनका अनुसार महानगरमा जनप्रतिनिधीलाई भब्य स्वागतका लागि प्रशासन महाशाखा प्रमुख अनन्त प्रसाद कोइरालाको संयोजकत्वमा ५ सदस्यीय समिति पनि गठन भएको छ । समितिले प्रमुख र उपप्रमुख बस्ने कोठाको ब्यवस्थापन मिलाउने छ । नगरपालिकाले प्रमुखलाई हाल कार्यकारी अधिकृत बसिरहेको कोठामा राख्ने तयारी गरेको छ भने उपप्रमुखलाई कोठा मर्मत गरिरहेको छ भने आवश्यक फर्निचर खरिद गरिसकेको छ । सरकारले देशभरका स्थानीय तहमा ३२ लाख पुँजीगत र २० लाख कार्यालय सञ्चालनका लागि बजेट निकासा गरेको थियो । १ करोड विनियोजन भएपनि बाँकी रकम जनप्रतिनिधी आएपछि पठाउने सरकारको तयारी छ । कास्कीका ५ स्थानीय तहमा ३ सय ८१ जना प्रतिनिधी छनौट हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *