२०८१ वैशाख ७ गते | 19th of April 2024

सुतेको कांग्रेसभित्र ब्युंझेको तरुण : झापामा तरुणदल प्रशिक्षणको श्रीगणेश

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २६ गते १८:३२

झापा – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलको एक महिने लामो प्रदेश स्तरीय प्रशिक्षण भेला आज देखि झापाबाट सुरु भएको छ । निर्वाचन पछि पार्टीले खासै गतिविधि गर्न नसकिरहेको बेला र अरु भातृ सस्थाहरु पनि परिचालन हुन नसकेको समयमा नेपाल तरुण दल एकताबद्ध बनेर देशव्यापी प्रशिक्षणमा जुटेको छ । “सम्पूर्ण तरुण प्रशिक्षित, सम्पूर्ण युवा संगठित” भन्ने अभियान अन्तर्गत सातै प्रदेशमा प्रशिक्षण अभियान संचालन गर्न लागेको नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले जानकारी दिनु भएको छ । यहि अनुरुप आज अर्थात् चैत्र २५ गते देखि प्रदेश नं १ अन्तर्गत झापाको बिर्तामोडमा पहिलो प्रदेश स्तरीय प्रशिक्षण भेलाको आयोजना गर्दै प्रदेश स्तरीय प्रशिक्षण भेलाको सुरुवात यहिबाट सुरु भएको छ । पहिलो दिनको कार्यक्रम निकै भब्य तरिकाले सुरु भयो ।


कार्यक्रममा तरुणदल अध्यक्ष जित जंग बस्नेतको अध्यक्षतामा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि कृष्ण प्रसाद सिटौलाले कार्यक्रमको उद्घाटन गर्दै तरुण दलले अब संगठन निर्माणमा सक्रिय भएर लाग्नुपर्ने बताउनु भयो ।


यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, महेन्द्र यादब, सुरेन्द्र पाण्डे, मीन विश्वोकर्मा, केशव बुढाथोकी, गुरुराज घिमिरे, सरिता प्रसाईं, लक्ष्मी परियार लगायतले आआफ्नो विचार राखेका थिए । साथै तरुणदलका पुर्वअध्यक्ष उदय शमशेर राणा, झापा पार्टी सभापति उद्दब थापा, जन्मजय तिमिल्सिना, दिपक खड्का, उत्तम चापागाईं र विद्वान गुरुङ सहितले पनि कार्यक्रममा आआफ्नो मन्तव्य राखेका थिए । प्रशिक्षण कार्यक्रममा जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय सभापति, नगर सभापति र केन्द्रिय पार्षदको सहभागीता रहेको थियो ।


कार्यक्रममा उपस्थित सबैले स्वर्गीय कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्का ज्यूको चिर आत्माको शान्तिको लागि मोहन धारण समेत गरेका थिए । नेपाल तरुणदलको आयोजना र जिल्ला समितिको संयोजनमा यस प्रदेश स्तरीय प्रशिक्षण भेला झापा, बिर्तामोड देखि सुरु भएको हो । कार्यक्रममा बोल्दै तरुणदल अध्यक्ष जित जंग बस्नेतले निर्वाचनमा नेपाली कांग्रेसको हारको समिक्षा समेत गर्नु भएको थियो । यस्तै उहाले कांग्रेस पार्टी भित्र जरा गाडेर बसेको गुट र उपगुटले नै नेपाली कांग्रेसको दुर दशा यस्तो बनेको प्रष्ट पार्नु भयो । यस्तै उहाले कांग्रेस पुनः उठ्न सबै एकजुट हुन् र पार्टी भित्र रहेको गुट उपगुटको अन्त्य हुन जरुरी रहेको बताउनुभयो ।


यस्तै उहाले तरुणदल एउटा अनुशासित संगठन रहेको र सबै तरुणहरु अनुशासित हुन समेत आवश्यक रहेको उहाले बताउनुभयो । आफ्नो अग्रजले गल्ति गरे उहाहरुलाई सचेत गराउन सक्ने हिम्मत समेत सबैले राख्नु पर्ने समेत उहाले उल्लेख गर्नु भयो । अबको दिन नेपाली कांग्रेस प्रतिपक्षमा रहेपनि आत्तिनु पर्ने कुनै कारण नरहेको र अब हरदम जनताको साथमा रहेर काम गर्न र जनताको हक हितको लागि आवाज उठाउन समेत जरुरी रहेको उहाले बताउनु भयो ।


यस्तै तरुणदल केन्द्रीय समितिको अनुसार प्रदेश नं १ मा झापामा चैत्र २५ र २६ गते, त्यस्तै प्रदेश नं २ मा पर्सामा चैत्र २९ र ३० गते, प्रदेश नं ३ मा हेटौडामा बैशाख ३ र ४ गते, प्रदेश नं ४ मा पर्वतमा बैशाख ६ र ७ गते, त्यस्तै प्रदेश नं ५ मा रुपन्देहीमा बैशाख ९ र १० गते, प्रदेश ६ मा सुर्खेतमा बैशाख ३० र ३१ गते र प्रदेश नं ७ मा डडेल्धुरामा बैशाख १२ र १३ गते प्रशिक्षण हुने भएको छ । नेपाल तरुणदल केन्द्रीय समितिले गत फाल्गुन महिनामा मात्रै पहिलोपटक जिल्ला अध्यक्ष र विदेश शाखा अध्यक्षहरुको ऐतिहासिक राष्ट्रिय प्रशिक्षण भेला भब्यका साथ सम्पन्न गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *