२०८१ वैशाख ८ गते | 20th of April 2024

लालबाबुलाई थाङ्ने कर्मचारीको जवाफ : सभ्य हुनुहोस नत्र गाउँमा आएका सिंहदरबारहरु उतै फर्काईदिन्छौं

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २७ गते ९:१०

माननीय मन्त्री लालबाबु पण्डितज्यू नमस्कार,

हजुर आरामै हुनुहोला तर म आजभोलि अलि सन्चो हुन सकेको छैन । किनकि हजुरले हानेको बोलिको वाण ‘थाङ्ने’ मेरो मुटुमा तिर बनेर बसेको छ । जुन हरेक पटक दुख्ने गर्छ । छाडौं यस्ता कुरा । म बिसन्चो भएर हजुरलाई के नै फरक पर्ने हो र ! हजुर लोकतान्त्रिक गणतन्त्रको मन्त्री पो त अरुको के बाल भयो र ?

सर्बप्रथम धेरै धेरै बधाई मन्त्री पट्काउनु भएकोमा । भेटेरै यो बधाई दिन मन थियो तर मेरो त्यति ठूलो पहुँच कहाँ छ र मन्त्री ज्यु । ढिलै भए पनि तपाइलाई यहि खुला पत्रबाट बधाई तथा सफलताको शुभकामना ल !

मन्त्री ज्यु, अब आज मेरो कुरा गर्छु । म एक निजामती कर्मचारी हु । तपाईकै भाषामा एक थाङ्ने कर्मचारी । हो मन्त्रि ज्यु, हामी थाङ्ने नै हौ, आज म हजुरलाई हामी कर्मचारी थाङ्ने नै भएको केही आधारहरु यहि पत्र मार्फत जानकारी गराउन चाहे ।

हरेक महिना तलब आउँछ । तलब आउनु भन्दा पहिलै सकिसकेको हुन्छ । किनकि मैले मेरा बाउ आमा श्रीमती छोराछोरी त्यही तलबले पाल्नु पर्छ र म सङ्ग प्रयाप्त तलब छैन भन्ने कुरा ख्याल राख्दै, मैले कहिलै नयाँ लुगा सिलाउन सकिन सधै पुरानै लुगा लगाए… त्यहीँ भएर म थाङ्ने ।

तपाईं प्रचारप्रसारको लागि केही एकदुई जना फोटो खिच्ने मान्छे अगाडि लगाएर साइकल चडेर सिहदरबार छिर्नु हुन्छ र वाहवाही खानु हुन्छ तर म जहिल्यै हिडेर अफिस जान्छु । अहिलेसम्म कसैले तपाईं लाई साइकल मन्त्री भने जस्तो मलाई हिडेर अफिस जाने कर्मचारी भनेर प्रचार गरेन… त्यसैले म थाङ्ने कर्मचारी !

तपाईं प्रचारको लागि साइकल चड्नु हुन्छ म बाध्यताले हिड्छु ।

हरेक बर्ष नेपाल सरकारले दिने ७५०० को मिलाएर कपडा किन्छु । सस्तो खाले सेतो सर्ट, निलो पाइन्ट, काला जुत्ता, अनि एउटा कोट । त्यसपछि बर्ष भरी त्यही लगाउछु । नत्र मैले एक बर्ष त्यो कपडाले गुजारा चलाउन सकिन भने मेरो सानो छोरीले महिनामा एक चोटि खाने चिची चार महिनामा पनि खान पाउदिन… र त म थाङ्ने ।

तपाइलाइ के थाहा मन्त्री ज्यु, रोल्पा, डोल्पा, मुगु, हुम्ला, मनाङ बसेर काम गर्ने कर्मचारीको मर्म । काठमाडौंको खाल्डोबाट यी दुर्गममा खट्ने थाङ्ने कर्मचारीको अवस्था देखिदैन ।

सिंहदरबार वरिपरिका कर्मचारीलाई देखेर प्रदेश र स्थानीय तहमा कर्मचारी जान मान्दैन भन्दै हल्ला गर्नु हुन्छ । तपाइँको आदेश नमान्ने कर्मचारीलाई किन घोक्य्राउनु हुन्न र दुनियालाई सुनाउदै हिड्नु हुन्छ ? तपाई संग मन्त्री पद छ, तपाई संग हैसियत छ, पावर छ भने गल्ति गर्ने थाङ्ने कर्मचारीलाई किन थाङ्नामा सुताउन सक्नु हुन्न ? अनि बेतुकमा हल्ला गर्दै हुनुहुन्छ ?

काम गरेर देखाउने कि चर्चा बटुल्न हल्ला गर्दै हिड्ने पुग्छ ?

हजुरको आदेश कुन कर्म चारीले मानेन ? त्यसलाई तह लगाउने हैसियत के तपाई संग छैन ? पण्डित ज्यु ?

तपाईंले थाङ्ने भन्दा धेरै कर्मचारीहरुको चित्त दुखेको छ । जस्ले अहिलेसम्म आफ्नो त्यो सेटो सर्टमा कहिलै दाग लाग्न दिनु भएन । आफ्नो कर्मप्रति बफादार कर्मचारीहरुलाई एउटै ड्याङमा हालेर थाङ्ने उपाधि भिराई हाल्ने तपाई मन्त्रीबाट कस्तो उर्जा मिल्छ पण्डित ज्यु !

अन्तमा मन्त्रीज्यू,
यी थाङ्नेहरुलाई लठ्ठी लगाएर तह लगाउछौ भन्दै असभ्य भाषा कसैलाई पच्ने कुरा होइन ! कर्मचारीहरुलाई यसरि भाषिक विभेद गर्नु नैतिकताले पनि दिदैन र यसरि ठुला र साना कर्मचारीको नाममा विभेद गर्न थाल्नु भयो भने याद गर्नुहोस, गाउमा आएको सिंहदरबार तिनै थाङ्नेहरुले लठ्ठी लगाएर काठमाडौ तिरै पठाई दिने छन । तपाईकै वरिपरिका कर्मचारीलाई तह लगाएर देखाउनु होस् । हल्ला गरेर देश कहिले पो बनेको छ र ।

उहीँ तपाईंको थाङ्ने कर्मचारी
उर्फ कमल राज वली !

Leave a Reply

Your email address will not be published. Required fields are marked *