२०८१ वैशाख ७ गते | 19th of April 2024

पत्रकार किशोर पन्थीको कम्पन

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ५ गते ७:३७

काठमाडौं – आगामी बैशाख १० गते नेपालका तीनजना पूर्व प्रधानमन्त्रीहरुले विमोचन गर्ने तय भएको पत्रकार किशोर पन्थीको पुस्तक कम्पन जन्मनुको पृष्ठभूमीबारे उनले थप जानकारी दिएका छन् ।

नेपालमा गएको महाभूकम्प लगत्तै पत्रकार पन्थी नेपालका भूकम्प प्रभावित क्षेत्रहरुमा पुगेका थिए । भूकम्प प्रभावित क्षेत्रमा पुगेर उनी आफै उद्दार र राहतमा मात्र खटिएनन्, दोश्रो ठूलो भूकम्पमा बालबाल बच्न सफल भएका थिए । त्यतीबेला उनी जुन भवनको पाँचौं तल्लामा थिए, त्यसका पिलरहरु क्षतिग्रस्त भए भवनमा रातो स्टीकर टाँसियो ।

काठमाडौं, भक्तपुर ललितपुर बाहेक काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ लगायतका जिल्लाहरुमा पुगेर पत्रकार पन्थीले भूकम्पमा आफन्त तथा घरबार गुमाउनेहरु, मृत्युको मुखबाट पनि बच्न सफल हुनेहरु, राहत र उद्दारमा खट्नेहरु, रेस्क्यु अपरेशनमा खट्नेहरु घाइतेहरुको उपचारमा खट्नेहरु लगायत सही सुचना सम्प्रेशणका लागि समाचार संकलनमा खट्नेहरुसम्मका बयान लिएका थिए । त्यही बयानका आधारमा महाभूकम्पजस्ता विपत्तिको सामना आशा, आत्मबल, मानवीयता, सहयोग, सहकार्य र भावनात्मक सम्बन्धका आधारमा कसरी गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पुस्तकको जन्म भएको पुस्तकका लेखक पन्थीले जानकारी दिएका छन् ।

पुस्तकमा भूकम्पपछि पत्रकार पन्थीले आफैले गरेको भावनात्मक अनुभव समेत आफ्नै कुरा खण्डमा समावेश गरेका छन् । त्यो बाहेक ६ वटा खण्डमा पुस्तक विभाजन गरिएको छ । पहिलो खण्डमा आफन्तजन गुमाउनेहरुको वियोग र वेदनालाई समेट्दै चरम वियोगको घडीमा समेत कसरी सम्हालेर अगाडि बढ्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ ।

महाविनाशकारी भूकम्प आउँदा केही मान्छेहरुलाई मृत्युले झ्याप्पै समात्यो । केही मान्छेहरुलाई मृत्युले निल्न लाग्दै थियो, उनीहरुले संघर्ष गरे अनि आफूलाई मुत्युको मुखबाट उम्काए । कोही भने संयोगले बाँचे, कोही भाग्यले बाँचे । कसैलाई उद्धारकर्मीले समयमै उद्धार गरेर बचाए । दोश्रो खण्डमा भूकम्पमा मृत्युको मुखमै पुगेर पनि संयोग, आशा, आत्मबल, सहयोग र मानवीयताको कारण कसरी बाँच्न सकिन्छ भन्ने विषय समेटिएको छ । भूकम्पपछिको त्यो सन्त्रस्त क्षणमा दयालु हृदयका सयौं मानिस मानवीयताका आधारमा उदात्त भावले पीडितको उद्धार र राहतमा जुटे । नेपाली सेना, जनपद प्रहरी र शसस्त्र प्रहरी बलका जवानहरुले आफ्नो ज्यान नै जोखिममा पारेर भग्नावशेष पन्छाउँदै मानिसहरुलाई जीवितै उद्धार गरे ।

विपत व्यवस्थापनका लागि पर्याप्त आधुनिक उपकरण र लजिष्टिक सपोर्ट’ नहुँदा–नहुँदै पनि साहस र धैर्यका बलमा नेपाली उद्धार टोलीले गरेको रेस्क्यू अपरेसन पुस्तकको तेश्रो खण्डमा छ । भूकम्पपछि सरकारी र निजी अस्पतालहरुमा भूकम्पका घाइते धमाधम भर्ती हुन थाले । कसैका हात–गोडा मुला थिचिएझंै थिचिएका थिए, कसैको टाउकोबाट रगतका धारा बगिरहेका थिए । कसैका हाड, जोर्नी नै भाँच्चिएका थिए । शारीरिक र मानसिक घाउ बोकेर आउनेहरुको जब अस्पतालमा चाप बढ्यो, डाक्टर र नर्सहरुले एक सेकेन्ड फुर्सद पाएनन् । कोही अस्पतालमा ल्याइएका घाइतेको उपचार गर्नमा तल्लिन भए भने कोही प्रभावित क्षेत्रमै पुगेर आकस्मिक सेवा गर्न थाले । रेस्क्यू टोलीले एम्बुलेन्समा हालेर पठाएका बिरामीलाई बचाउन उनीहरुले कुनै कसर बाँकी राखेनन् ।

निःस्वार्थ भावले आर्तहरुको चह¥याइरहेको घाउमा मल्हम दल्नेहरुको बारेमा पुस्तकको चौथो खण्डले समेटेको छ । करुण रसले भिजेका नेपाली वस्तीहरुमा राहत रस बोकेर जानेहरुको बेग्लै कथा छ । हुन त केही स्वार्थी मानिसहरु १५ रुपैयाँ मुल्य पर्ने चाउचाउ ५० रुपैयाँमा बेचिरहेका थिए भने केही दयालु मानिसहरु त्यही चाउचाउ ५० रुपैयाँमा किनेर भूकम्प पीडितलाई खुवाइरहेका थिए । को कति सेवक हो, को कति लोककल्याणकारी हो र को कति दयालु हो भन्ने कुरा यस्तै बेलामा थाहा हुन्छ । पुस्तकको पाँचौं खण्डमा संकटको त्यो घडीमा पीडितहरुका लागि राहत संकलन र वितरणमा आफूलाई समर्पित गराउनेहरुको विषय समेटिएको छ ।

उद्धार, उपचार र उपकारपछि भूकम्पको त्यो त्रासदीमा मानिसहरुको मुख्य आवश्यकता थियो, सही सूचनाको । भूकम्पमा कुन क्षेत्रमा के–कस्तो क्षति भयो भन्नेबारे मानिसहरु हर क्षण जान्न चाहन्थे । आफ्नो क्षेत्रको हाल बुझ्न चाहन्थे । विपत्तिको बेला अनावश्यक हल्लाहरु पनि चले । ती हल्लालाई चिरेर सही सूचना सम्प्रेषण गर्नु पत्रकारहरुको दायित्व थियो, जसलाई नेपालका पत्रकारले सकेसम्म निर्वाह गरे । आजका पत्रकारका लागि त्यो हदसम्मको भूकम्प पहिलो अनुभव भएकाले उनीहरु आफैं पनि अन्यौलमै रहे । पुस्तकको अन्तिम खण्डमा तिनै संचारकर्मीको सकसलाई समेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *