२०८१ वैशाख १५ गते | 27th of April 2024

डालसमा अप्रिल २९ मा ‘मेगा ब्लड ड्राइभ’ कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख १० गते १६:५०

डालस – ब्लड डोनर्स अफ अमेरिकाले आगामी आइतबार अप्रिल २९ गते एक बृहद रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । ब्लड डोनर्स अफ अमेरिका टेक्सास शाखाका अध्यक्ष श्री शिव काफ्लेले नेपाली समाज टेक्सासको सहकार्य र कार्टर ब्लड केयरको सहयोगमा उक्त “मेगा ब्लड ड्राइभ” गर्न लागिएको जनाउनु भएको छ । रक्तदान कार्यक्रम डालस नजिकै रहेको शहर अर्भिंगमा स्थापित नेपाली मन्दिरको भवनमा बिहान साढे दश बजे शुरु भै अपरान्ह ४ सम्पन्न हुनेछ ।
हाम्रा पुराण र धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार कलियुगमा मुक्तिको सबभन्दा सजिलो मार्ग दान हो । मै खाउँ मै लाउँ सुखसयल वा मोज म गरूँ भन्ने जमातको बिचमा दानवीर बन्न त्यति सजिलो भने पक्कै छैन । दानमा पनि कन्यादान सबभन्दा ठुलो दान मानिन्छ जहाँ बुवाआमाले आफुले दुख गरेर हुर्काएकी र हर तरहले योग्य भैसकेकी आफ्नी छोरी दान गर्छन । तर बिज्ञान र प्रविधिको बिकासले कन्यादानलाइ पनि पछि पार्दै रक्तदानलाई झन् ठुलो दान बनाइदिएको छ । एकजनाले दिएको रगतले ३ जनाको ज्यान जोगिने भएकोले रक्तदानको महत्व बढेको हो ।

अमेरिकाका धेरै राज्यहरुमा सक्रिय र समाजको बास्तबिक सेवामा समर्पित थोरै नेपाली संस्थाहरु मध्ये ब्लड डोनर्स अफ अमेरिका पनि एक हो । २९ वटा राज्यहरुमा राज्य स्तरीय शाखा गठन भएर सक्रिय रहेको यो संस्थाको अध्यक्ष डाक्टर नन्द रेग्मी हुनुहुन्छ । मे महिनाको अन्तिम हप्ता अर्थात् मे २५ र २६ मा सम्पन्न हुन गैरहेको दोश्रो अधिबेशनको पुर्बसंध्यामा यो रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
“डालस क्षेत्रमा हामी सक्रिर्यतापुर्बक यो रक्तदान कार्यक्रम सम्पन्न गर्न लागिपरेका छौं । हामी बसेको भुमिको सेवामा केहि गर्नु हाम्रो कर्तब्य पनि हो । यो संसारमा जसलाई पनि चल्ने भनेको रगत हो । यसमा जाति, बर्ण, लिङ्ग वा क्षेत्रको भेदभाव हुँदैन । रगत दिएर सिद्दिन्न । हरेक ३/३ महिनामा रगत दिंदा स्वास्थ्य पनि राम्रो हुन्छ । ब्लड डोनर्स अफ अमेरिकाको टेक्सास शाखाले पनि स्थापना कालदेखि नै कार्टर ब्लड केयरसंग मिलेर रक्तदान कार्यक्रम संचालन गरेर धेरै मानिसको ज्यान बचाएको छ” टेक्सास शाखाका अध्यक्ष शिव काफ्ले स्पस्ट पार्नुहुन्छ ।
बिगत केहि महिना देखि डालस क्षेत्रमा रगतको संचितिमा ब्यापक कटौती भएको छ । सामान्यतया ३ दिनसम्म धान्ने रगत मौज्दात रहने अवस्थाबाट यतिबेला एकदिनको लागि मात्र पुग्ने रगत छ । रेड क्रस सोसाइटी र कार्टर ब्लड केयरले सबै नागरिकहरुलाई रक्तदानको लागि अपिल समेत गरेका छन् । संचिति दिनानुदिन घट्दै गएको अबस्थामा यतिबेला रक्तदान झन् महत्वपूर्ण भएको देखिन्छ । ब्लड डोनर्स अफ अमेरिका टेक्सास शाखाको यो शुभकार्यले थुप्रै व्यक्तिहरुको ज्यान जोगिने कुरामा आशाबादी हुन सकिन्छ ।


त्यसो त रगत सँधै संचित गरेर राख्न सकिन्न । तापक्रम मिलाएर र उचित तरिकाले संचित गरेको रगतको रेड ब्लड सेलको आयु पांच देखि ६ हप्ता मात्र हुन्छ । रेड ब्लड सेल रक्तदानको मुख्य तत्व मानिन्छ । ग्रुप मिलाउनु पर्ने अर्को बाध्यता पनि छ । दुर्घटनामा वृद्धि, गर्भवती र सुत्केरी महिलामा हुने अत्यधिक रक्तश्रावको कारण रगतको माग बढ्दै गएको छ । यस्तो जोखिमपूर्ण अबस्थामा आफु बसेको समाजको उच्चतम सेवा रगत दिएर गर्न सके यहाँको समुदायमा पनि आप्रबाशीहरु माथिको नकारात्मक धारणा बदल्न सजिलो हुने अनुमान गर्न सकिन्छ । “बसुदैव कुटुम्बकम” मूल नारा रहेको यो रक्तदानमा भाग लिन ब्लड डोनर्स अफ अमेरिकाले सबैमा बिनम्र अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *