२०८१ वैशाख ६ गते | 18th of April 2024

यसरी सम्झियो ड्यालसले स्वर सम्राटलाई (फोटो फिचर सहित)

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ११ गते ११:४२
ड्यालस (अमेरिका) – नत नारायण गोपालको जन्मदिन । नत उनको स्मृति दिवस अर्थात उनको निधन भएको दिन । तरपनि अमेरिकाको ड्यालसमा रहेका नेपालीहरुले आइतबार साँझ स्व. स्वर सम्राट नारायण गोपाललाई सम्झिए । उनको सम्झनामा उनले गाएका गीत गाए । उनीसँगको स्मृतिलाई अगाढी ल्याए र उपस्थित समुदायसँग साटासाट गरे । 
श्रष्टा मञ्च ड्यालस र हिमालयखबरले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा आइतबार उनलाई धेरैले सम्झिए । बयोवृद्धदेखि लिएर पाँच वर्षिय बालकले समेत उनले गाएका गीतहरु गाए ।  
नारायण गोपालले धर्तीबाट बिदा लिएको पनि २७ वर्ष पुरा भैसकेको छ । २०४७ मंसिरमा देहत्याग गरेका स्वर सम्राटलाई सझिनुको कारणबारे हिमालय खबरका सल्लाहकार सम्पादक शैलेश आचार्यले भने–‘हामीले समाजलाई गतिलो योगदान गरेकालाई सधैंभरि सम्झिरहनुपर्छ । जन्मदिन र निधन भएको दिनमा मात्र होइन । त्यही भएर हामीले नत उनको जन्मदिन, नत उनको निधन भएको दिन, आजै कार्यक्रम गरिरहेका छौँ ।’ 
आचार्यले नारायण गोपालसँग गरेका संगत, उनका गीतका बारेमा चर्चा गरेका थिए ।  
त्यस्तै कार्यक्रममा वरिष्ठ पत्रकार विनोदमणि दीक्षितले नारायण गोपालसँग अध्ययन गर्दाको स्मरण सुनाएका थिए ।  
स्व. नारायण गोपालले गाएको ‘वीरताको चिनो, वीरको सन्तान…’ बोलको गीतलाई स्थानीय गायक भीम चापागाईले सुरुवातमै गाएर कार्यक्रमको रौनकता सुरु गरेका थिए । त्यसपछि टुङ्गनाथ उपाध्यायले नारायण गोपालले गाएका आधा दर्जन गीत प्रस्तुत गरेका थिए । उनले ‘मेरो वेहोशी आज’, ‘पोखिएर घामका झुल्का..’, ‘मैले पुण्य मन पराए, या पाप मन पराएँ..’ लगायतका चर्चित गीत गाएका थिए । 
त्यस्तै स्थानीय गायीका समिक्षा दाहालले ‘यति चोखो यति मिठो दिउँला तिमीलाई मायाँ..’ बोलको गीत गाउँदा हल पुरै सन्नाटा छाएको थियो । त्यस्तै हास्य कलाकार नारायण त्रिपाठी, गणेश थापा, सीमा पोखरेल लगायत दर्जनौले नारायण गोपालको स्मृतिमा उनीद्वारा गाइएका गीतहरु गाएका थिए । 
कोलाराडोबाट आएकी सीमा पोखरेलले नारायण गोपालसँग संगीत सिक्दाको अनुभव साटेकी थिइन् । सुरुवातमा उनले ‘एउटा मान्छेको मायाले कति..’ बोलको गीत गाएकी थिइन् । 
साँझ ६ बजेदेखि सुरु भएको कार्यक्रम लगातार ९ बजेसम्म चलेको थियो । स्थानीय समुदाय उनका गीत सुन्न निकै ढिलासम्म पनि बसेका थिए । युलेसस्थित फिस्टेल रेष्टँुरामा आयोजित कार्यक्रममा श्रष्टा मञ्चका प्रभात दीक्षितले उपस्थितहरुको स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उद्वेश्य बारेमा प्रकाश पारेका थिए । 
श्रष्टा मञ्चले हरेक महिना साहित्यिक तथा सांगितीक माहौल आयोजना गरेर ड्यालसलाई तताउने काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *