२०८१ वैशाख ७ गते | 19th of April 2024

पुष्पा खनालको ‘आँखाको पानी’ सार्वजनिक

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख २१ गते २२:२७

काठमान्डौं – गीतकार पुष्पा खनालको म्युजिक भिडियो “यो आँखाको पानीलाई” आइतबार बङ्गलादेशको ढाकामा सार्वजनिक गरिएको छ ।
बंगलादेश–नेपाल फ्रेण्डसीप सोसाइटीले यसियाटिक सोसाइटी अफ बंगलादेशको सभाहलमा आयोजना गरेको साहित्यिक तथा सांस्कृतिक अन्तरक्रिया कार्यक्रममा सो भिडियो सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियो सार्वजनिकपछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि बंगलादेश संसदका उपसभामुख मो. फैजल रब्बी मियाले सङ्गीत भनेको विश्वव्यापी भाषा भएको बताउँदै सार्वजनिक गरिएको म्युजिक भिडियोमार्फत् व्यक्त भावनाले आफ्नो मन छोएको बताउनुभयो । उहाँले नेपाल र बंगलादेशबीचको वर्षौँदेखिको अटुट सम्बन्धको जगलाई दुई देशको साहित्य र संस्कृतिले बलियो बनाएको पनि उल्लेख गर्नुभयो ।

आफ्ना रचनाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने आफ्नो सपना आज पूरा भएको बताउँदै गीतकार पुष्पा खनालले भन्नुभयो– “कुनै जात, जाति, भाषा र धर्म तथा राजनीतिक, सामाजिक, सांस्कृतिक आस्थाभन्दा पर पनि एउटा सम्बन्ध हुन्छ जसलाई सङ्गीतले मात्र जोड्न सक्छ । यो कुरा कार्यक्रममा भएको उत्साहजनक उपस्थिति र उहाँहरुको प्रतिक्रियाले सावित गरिदिएको छ ।”

कार्यक्रमका विशेष अतिथि राजदूत चोपलाल भुसालले आफू राजदूत भएर बंगलादेश आउँदा कुनै अनौठो अनुभूति नभएको बताउँदै दुई देशका स्रष्टाहरुका सिर्जनाले यी देशलाई आपसमा बाँधेकाले पनि नेपाली र बंगालीका लागि एक अर्काको देश पराइजस्तो नरहेको बताउनुभयो ।
शतकौँदेखि यहाँका मानिस र संस्कृतिसँग नेपाल जोडिएको बताउँदै वरिष्ठ कवि मञ्जुलले बंगलादेश र नेपालका स्रष्टाहरुको विचार, चाहना र संवेग एउटै भएकाले दुई देशको भाषा भिन्न भएपनि भावना एउटै भएको बताउनुभयो ।

नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले नेपाल स्रष्टा समाज र बंगलादेश नेपाल फ्रेण्डसीप सोसाइटीबीचको सम्बन्धको चर्चा गर्दै समाजलाई आमन्त्रण गरेर भिडियो सार्वजनिक गर्न मञ्च प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

दिपेशराज पाण्डेको निर्देशनमा बनेको म्युजिक भिडियोमा सरोज कोइरालाको सङ्गीत र स्वर रहेको छ । सुदिप सागरको सङ्गीत संयोजन रहेको गीत “यो आँखाको पानीलाई” लाई दिनेशराज जोशीले निर्माण गरेको हुन् ।

थोरै तर राम्रो गीत लेख्ने पुष्पा खनाल पछिल्लो समय निकै चर्चामा हुनुहुन्छ । उहाँको गीत “सुने तिम्रो खुशी”ले सन् २०१७ को पहिलो सात महिनामा पिआरविटीमार्फत् सर्वाधिक रोयल्टी प्राप्त गरेको थियो । त्यस्तै गत माघमा रेकर्ड गरिएको आमामा समर्पित “मैले पुज्ने देव तिमी” शीर्षकको गीत पनि निकै चर्चामा छ । अहिलेसम्म उहाँले दुई वटा गीति एल्वम निकालिसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *