२०८१ वैशाख १२ गते | 24th of April 2024

खोक्रो राष्ट्रबाद र अन्धो देशभक्ति

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ १ गते ४:४९

– हरिबोल भन्डारी
गत साता नेपाली राजनिति क्षेत्रलाई भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बिषयले गर्दा निकै चर्चा पायो, यसका दुईवटा मुख्य कारणहरू छन्, एक नेपालका बर्तमान प्रधानमन्त्री श्री खड्ग प्रसाद ओलीको नाटकिय कट्टर भारत बिरोधी जस्तो देखिने बिभिन्न गतिबिधीहरू तथा अभिब्यक्ति र दोश्रो नाकाबन्दीका समयमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल प्रतिको हेराई र ब्यबहार, यी दुई बिषयमा नै सबैको ध्यान केन्द्रीत देखिन्छ हिजोआज सामाजिक संजाल र छापाहरूमा।

हामीले हाम्रा परस्पर सम्बन्धलाई राष्ट्रिय स्वार्थनुरूप हेर्न नसक्दा र हाम्रो नयॉं सरकार नै पिच्छेका बिदेश नितिका कारण आफ्नो राष्ट्रिय हितका लागि भारतले नेपाललाई समयानुकल भरपुर प्रयोग गर्दै आएको र गरिराखेको सबैमा बितितै छ। नेपालको गौरव र राष्ट्रिय महत्वका बिषयमा भन्दापनि सत्ता आरोहणका माध्यमका निम्ति मात्र आफ्ना भारत नितिमा फेरबदल गर्ने राजनितिक चरित्रले गर्दा नै हाम्रो राष्ट्रियता दिनानु दिन अझ कमजोर बन्दै गएको छ। हाम्रो देश भारत र चीन जस्तो बिशाल र बिश्व शक्तिशाली छिमेकिहरूको बिचमा रहेको तथ्य हामी सबैका सामु छर्लगं छ, दुबै छिमेकि मुलुकसंग मैत्रिपुर्ण र समान हैसियतको सम्बन्ध राखेर नेपालको द्रुत बिकास तथा आर्थिक समृद्धिको पाटोलाई अगाडी बढाउनु पर्ने राष्ट्रिय दायित्वलाई ओझेलमा पार्ने कुचेष्टा बिगतमा पटक पटक भएका छन्।

नेपाली जनताहरूलाई सुख र समृद्धि दिन्छौ भन्ने नाराका साथ अगाडी बढेको सबै राजनितिक दलहरुले अब छात्तिमा हात राखेर दुबै छिमेकि मुलुकसंग समान र एकै किसिमको बिदेश निति अंगिकार गर्न सकेको खण्डमा मात्र मुलुकले राष्ट्रिय पुर्नजागरण र नयॉं अन्तराष्ट्रिय पहिचान बनाउन सक्नेछ र त्यसमा हामी सफल हुनेछौ। आफु सरकारको नेतृत्वमा रहेको बेला सबै कुरालाई अनुकुल र प्रतिपक्षमा भएको बेला सबै प्रतिकुल देख्ने राजनितिक अज्ञानता र मनोदशाले हामीलाई भोली कहॉं पुर्याउछ यो हेर्न भने पर्खनै पर्छ। बिश्वका बिकसित, समृद्धशाली र प्रगतिसिल राष्ट्रका राजनितिक दलहरू आफ्नो अन्तराष्ट्रिय मामला र सम्बन्धको सवालमा सबै एकै ठाउँमा उभिएका प्रसस्त उदाहरणहरू छन्, त्यसैले बिकान्मुख हाम्रो राष्ट्रले दुबै छिमेकि मुलुकसंग मैत्रीपुर्ण र सम्मानजनक सम्बन्ध राख्दै सार्वभौम देशको पहिचान बनाउन सक्नु पर्दछ साथै भबिष्यमा समेत बन्ने सरकारले आफ्नो बिदेश निति बनाउँदा यी कुराहरू अनुसरण र अवलम्बन गर्न सकोस्।

नेपाली कॉंग्रेसका आदरणीय सभापति श्री शेर बहादुर देउवाज्यूले जिम्मेवार प्रतिपक्ष दलको नेताको हैसियतमा भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको यो भ्रमण नेपालको समृद्धि र आर्थिक बिकासका निम्ति सफल भएको बताउनु भएको छ, यसले राष्ट्रिय हितका सन्दर्भमा प्रतिपक्ष दलको बिगतको भुमिकालाई राम्रै सबक सिकाएको देखिन्छ। यसले हिजोका प्रतिपक्ष दलका नेता तथा बर्तमान प्रधानमन्त्री के पि ओलीको नाटकिय भारत बिरोधी चरित्रलाई पक्कैपनि गतिलो झापड पुगेको छ। आफु सत्तासिन हुँदा अन्धो बन्ने उदाहरणका रूपमा राजनितिक पार्टीले आफ्नो पार्टी कार्यालयमा राखेको ब्यानर प्रहरी प्रसाशन प्रयोग गरि हटाउन लगाउनु कहॉं सम्मको राष्ट्रियता र लम्पसारबाद हो पंतिकार यहॉं सरकारलाई र सत्तासिन दलका नेताहरूलाई प्रश्न गर्न चाहान्छ। हिजो एमाले प्रतिपक्षमा रहँदा भारतीय दुताबासमा नै पुगेर बिरोध -याली गर्दा तत्कालिन नेपाली कॉंग्रेस नेतृत्वको सरकारले त्यसलाई कुनै धरपकड र अड्चन नपुर्याएको बिषयलाई पुन एक पटक स्मरण गर्न योग्य ठाने।

महालम्पसारबादको एउटा ज्वलन्त उदाहरणका लागि अरूण तेश्रो जल बिधुत परियोजनालाई लिन सकिन्छ, लगभग दुई दशक भन्दा अगाडी राष्ट्रिय गौरवको योजनाको रूपमा नेपाली कॉंग्रेसको सरकारले अगाडी बढाएको योजनालाई राष्ट्रघाती भनेर गर्भमा नै योजना तुहाउने तत्कालिन प्रतिपक्ष दल र यसका नेताहरू अत्यन्त तामझामका साथ बिभागिय मन्त्रीको अनुपस्थितीमा नै यसको उद्घाटन गराएर कुन किसिमको देशभक्तिको नमुना देखाई रहेका छन् पंतिकारलाई यस बिषयले झस्काएको छ।

अन्तमा, नेपालको सार्बभौमिकता, भौगौलिक अखण्डतालाई अक्षुण राख्दै आम नेपालीहरूका बिच संधियौ देखि रहेको पारस्परिक सद्भाव र एकतालाई कायम गरी राष्ट्रिय हित र स्वार्थको लागि दलगत लाभ र आत्माकेन्द्रित नभई अगाडी जान सरकार र क्रियासिल राजनितिक पार्टी र यसका नेताहरूमा हार्दिक अनुरोध गर्दछु। मनोगत खोक्रो राष्ट्रबाद र अन्धो देशभक्तिले हामी कहिं पुर्याउदैन समयमानै चेतमा रहोस्।

जय नेपाल !

(भन्डारी नेपाली कांग्रेस महासमिती सदस्य तथा नेजस अमेरिकाका केन्द्रिय सदस्य हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *