२०८१ वैशाख ७ गते | 19th of April 2024

डायस्पोरा गीतकार सम्मान गीतकार राखि गौचनलाई

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ १४ गते २०:२७

काठमाडौं – गीतकार संघ नेपालले हरेक वर्ष प्रदान गर्दै आइरहेको राष्ट्रिय स्रष्टा सम्मान यस वर्ष वरिष्ठ गीतकार कालिप्रसाद रिजाललाई दिने निर्णय गरेको छ । आफ्नो स्थापना दिवसको अवसर पारेर आज संघले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै सम्मानको घोषणा गरेको हो । वरिष्ठ गीतकार एवं निर्देशक यादव खरेल, वरिष्ठ गायक एवं संगीतकार दीप श्रेष्ठ र संघका अध्यक्ष चुडामणि देवकोटाको छनौट समितिले वरिष्ठ गीतकार रिजाललाई छैटौं राष्ट्रिय स्रष्टा सम्मान दिने निर्णय गरेको हो । यस वर्षबाट राष्ट्रिय स्रष्टा सम्मानको अगाडि गीतकार अमर वान्तवा राईको नाम जोड्दै ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०७४’ प्रदान गर्ने निर्णय गरेको छ । गीतकार राईले गीतकार संघ नेपालको कोषमा १५ लाख रुपैयाँ राख्दै कोष बृद्धि गरिदिएकोमा संघले उक्त निर्णय गरेको संघका अध्यक्ष चुडामणी देवकोटाले बताए । रिजाललाई १००००१ नगद राशिसहित सम्मान गरिनेछ ।


त्यसैगरी यस वर्षको छैटौं वर्ष गीत पुरस्कारको उत्कृष्ट १० गीतहरुको सूची पनि सार्वजनिक गरिएको छ । जसमा अम्बिका गुरुङ (आँखा लाउँछन्), किरण केसी क्रोधी (कुनै दिन यी दृष्टि), गणेश श्रेष्ठ ‘अपेक्षा’ (आफू उभिएको), नूतन भुसाल (सुटुक्कै मनमा), प्रकाश केसी (रगत पनि), पवित्रा राई (अभिनय गर्दै), वसन्तराज अज्ञात (सपनीमा घरी घरी), डा.राजु बाबु श्रेष्ठ (सम्पत्ति दिएँ), राजु थापा (भीरै माथि) र सुमन बैरागी (प्रबासको पीडा) रहेका छन् ।
वर्ष गीत पुरस्कारका लागि दर्ता भएका एक सय गीतबाट गीतसंगीतमा निरन्तरता, गुणस्तरीयता, सामाजिक स्वीकार्यसहितको योगदानलाई ध्यानमा राखेर उत्कृष्ट दश सार्वजनिक गरिएको अध्यक्ष देवकोटाले कार्यक्रममा बताए । वर्ष गीत पुरस्कारको राशि ५१ हजार नगद रहेको छ ।


त्यसैगरी यस वर्षको डायस्पोरा गीतकार सम्मानबाट गीतकार राखि गौचनलाई प्रदान गर्ने निर्णय गरिएको छ । गीतकार गौचनलाई ११,०००। नगद राशिसहित सम्मान गरिने संघले जनाएको छ ।

त्यसैगरी यस वर्षको वर्ष गीत पुस्तकतर्फ जानुका राईको आमा, पूर्ण बहादुर साउद ‘शिरिष’को गजलको धून र सुमन श्रापितको भावनाको खेती उत्कृष्ट तीनभित्र परेका छन् । तीनबाट उत्कृष्ट हुने एक पुस्तकलाई ५१ हजार नगद राशिसहित सम्मान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *