२०८१ वैशाख ७ गते | 19th of April 2024

सामुदायीक विद्यालयको स्तर उकास्न राज्य गम्भीर – मन्त्री तामाङ

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २७ गते १५:५१

काठमान्डौं – कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सामुदायीक विद्यालयको स्तर नबढे सम्म मुलुकको समग्र शैक्षिक अवस्थामा सुधार आउन नसक्ने बताउनु भएको छ । राजधानीको गोकर्णेश्वर–६ मा रहेको चामुण्डा माविको ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री तामाङले सामुदायीक विद्यालयको स्तर उकास्न राज्यसँगै समुदाय नै बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो । वर्तमान सरकार सामुदायीक विद्यालयहरुको स्तर उकास्न प्रतिबद्ध रहेको भन्दै मन्त्री तामाङले सरकारको अभियानमा साथ दिन सबैलाई आग्रह गर्नुभयो । चामुण्डा माविकै पूर्व विद्यार्थी रहनु भएकी सांसद सरिता न्यौपानले सामुदायीक विद्यालयहरु मुलुककै अमुल्य सम्पति भएको चर्चा गर्नुभयो । 

गोकर्णेश्वर नगरपालिका नगरप्रमुख सन्तोष चालिसेले नगरपालिका भित्र रहेका सामुदायीक विद्यालयको स्तरउन्नतिका लागि आफू क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णगोपाल तामाङले शिक्षामा आमूल परिवर्तन ल्याउने गरी सरकारले नयाँ नीति तर्जुमा गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । विद्यालयका प्रधानाध्यापक यादवप्रसाद पौडेलले सरोकारवाला सबैको सहयोगका कारण विद्यालयले लगातार उत्कृष्ट नतिजा हासिल गरेको तथ्यांक प्रस्तुत गर्दै आगामी दिनमा पनि शैक्षिक गुणस्तर कायम गर्न प्रयत्नशील रहने बताउनुभयो । व्यवस्थापन समितिका सदस्य तथा समाजसेवी दीपक सिंह भण्डारीले नेपालको शैक्षिक क्षेत्रमा सामुदायीक विद्यालयहरुको भूमिका उच्च कोटीको रहेको भन्दै राजधानीको पूर्वी क्षेत्रमा शिक्षाको विकासमा चामुण्डा विद्यालयले खेलेको भूमिकाको चर्चा गर्नुभयो । व्यवस्थापन समितिका अर्का सदस्य दिवाकरप्रसाद भण्डारीले विद्यालयको स्तर उन्नतिमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । सहायक प्रधानाध्यापक गुणराम आचार्यले विद्यालयको शैक्षिक कार्यक्रमलाई विस्तार गर्नुपर्ने खाँचो औल्याउनुभयो । 

कार्यक्रममा विद्यालयकी पूर्व विद्यार्थी तथा वर्तमान सांसद सरिता न्यौपाने तथा विद्यालयका पूर्व शिक्षक समेत रहनु भएका नेपाली साहित्यका चर्चित स्रष्टा गोविन्दप्रसाद घिमिरे वेदमणिलाई मन्त्री तामाङले सम्मान गर्नु भएको थियो । सम्मानपछि समाज तथा राष्ट्रप्रति आफूहरुको दायित्व अझ बढेको सम्मानितद्धय घिमिरे र न्यौपानेले बताउनुभयो । विद्यालयका प्रशासकीय अधिकृत उद्धव रायमाझीले सम्मानितद्धयको योगदानको चर्चा गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक शत्रुध्नबहादुर सुवेदीले विद्यालयको विविध पक्षहरु बारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिनुका साथै सांस्कृतिक कार्यक्रम पनि देखाइएको थियो । विक्रम सम्बत् २०२४ सालमा स्थापना भएको चामुण्डा मावि भौतिक पूर्वाधर तथा लगातारको उत्कृष्ट नतिजाका कारण मुलुककै उत्कृष्ट सामुदायीक विद्यालयहरुमा पर्दछ । हाल कक्षा १ देखि १२ सम्म गरी करीब २ हजार जना यस विद्यालयमा अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *