२०८१ वैशाख ८ गते | 20th of April 2024

हे नारान ! आरन र एनआरएन !!

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २ गते १२:१५

-गोकुल ढकाल

टेनेसीमा हस्ताक्षर सहित मुद्दाका खातका ‘फर्जी अभियोग’ आरोप पत्र सामावेश गर्दै बहु-प्रतिक्षित एनआरएन विज्ञ सम्मेलन र अमेरिकाको सातौं वार्षिक साधारण सभा रोक्न दर्ता गरिएको कार्यले हावा खाएको छ । यो कसैका प्रति आरोप होईन । न त मुद्दाले सम्बोधन नपाएको खुशीयालीमा मनाईएको बनभोजमा सित्तैमा खान पाएको भातको बखान हो । एक मानाको चामलको भात खान सबैलाई पुग्छ, अमेरिकामा । भलै, कमाउनेका कमाईका रवाफका आ-आफ्नै कहानी होलान । भाते सम्मेलनको एक बर्षे महा-पुराणको काहानी भोगेको एनआरएन अमेरिकाको भातको यो सानो प्रसंग जोडीन आएको मात्र ।

यो लेख लेखिंदै गर्दा बहुमतको नचाहिने दम्भ बोकेको नेपाल सरकारका पर्यटन मन्त्री रबिन्द्र अधिकारीले एनआरएनको यसपालीको सान्-फ्रान्सिस्को सम्मेलनको मन्चको पानसमा बत्ती बाल्नेछन । एनआरएनका महारथी भनिने तर एक्लै आएका जिवा लामिछानेले पानसको बत्तीको रापमा ताली पड्काउने छन । रसिक केन्द्रिय अध्यक्ष भवन भट्टले प्रचन्ड स्टाईलको कपाल मुसार्दै रेवान चश्मा अांखाको डिलबाट दुई औंलाले माथी घचेट्नेछन । आईसिसीका महामहिम सदस्यहरु कोही टाई कस्नेछन, नाम बोलाउन बिर्सिएकाहरु मन्चमुनी बस्नेछन र विज्ञ सम्मेलनमा पालिएका विज्ञहरु कार्य-पत्र अधुरो पढ्दै हात बांधेर दिमाग घस्नेछन । प्रवासमा नेपाली समुदायले गर्ने यस्ता खाले अधुरा र आयोजनाका नाममा मात्र आयोजना हुने कार्यक्रमका अर्को कार्यक्रम सम्पन्न भएको खबर हामी लेख्नेछौं । सबैको चाहना छ, बहु-प्रचारित विज्ञ सम्मेलन त्यस्तो नहोस् । कार्यपत्रहरु पुरा पढिईउन । बिश्लेषणले जग्गा लिओस । होटलको लबीमा वाइनका ग्लासहरु ठोकेर कबिता भन्दा अध्यक्ष भवन भट्टको चाकडीमा गललल हांसेका ओठहरुले औपचारिक कार्यक्रममा आशाको थुकले चुरोट तानेका, गुटखा खाएका र सुर्ती चुसेका ओठहरु भिजुन ।

हे नारान !
अमेरिकामा सबैभन्दा बढी लेखिएको शिर्षक हो, एनआरएन । सबैभन्दा बढी समेटिईएका पात्र हुन, गौरीराज जोशी र डा. केशव पौडेल । सबैभन्दा बढी मुद्दाको फाईल समाउने पात्र हुन, रबिना थापा । समग्र एनआरएनका सबैभन्दा बाठा कलाकार हुन, भवन भट्ट । उनले नजानेको कुनै कलाकारिता छैन । गीत, कविता, भाषण र मदिराजस्ता हरेक चिजका श्रेष्ठ रसिक नेता । सबैभन्दा बढी भावना बुझेका नेता हुन, जिवा लामिछाने ।
अध्यक्षको गोरेटो खन्न सबैभन्दा बाठा कुमार पन्त । विज्ञ भेला र सातौं वार्षिक साधारण सभामा भाग लिन आउने क्रममा सान्-फ्रान्सिस्को आएका छन, सबै ।

डालासमा आफ्नै जातका मित्रले आयोजना गरेको तुलनात्मक रुपले सानो कार्यक्रममा अस्ट्रेलियाका धनी नेपाली शेष घले आफ्नी अर्धाङ्गिनीका साथ त्यहां पुगेका थिए । आईसीसीको ‘ड्रिम प्रोजेक्ट’ ‘एक्स्पर्ट कन्फेरेन्स’मा घलेको अनुपस्थिती अर्थपूर्ण छ । ठुलो बनाईदिएर बिनोद चौधरीको प्रतिस्पर्धी तपाईं भनि तेल घसे संसारका जुनसुकै कुनामा पुग्ने उपेन्द्र महतो र देवमान हिराचनहरुको अनुपास्थिती किन भयो, कसले उनीहरुका कान फुके । तर उनीहरु आएनन । ब्यवसायिक ब्यस्तताको उनीहरुको बाहाना पनि वालुवाको पानी सरि सुकिजाला । तर उनीहरुको उपस्थितीको नाटक चाहीं एनआरएनको असफलता हो । हे नारान, बुझ्न नसकिने, एनआरएनको सम्मेलन ।

अमेरिकाज क्षेत्रको आरसीमा निर्वाचित अमेरिकी एनआरएन, अध्यक्ष पदका सर्वाधिक चर्चित पात्र गौरीराज जोशीको ड्रिम प्रोजेक्ट ‘विज्ञ भेला’मा घले, महतो र हिराचनहरुको अनुपस्थिती जोशीलाई एनसिसीमा जान रोक्ने प्रपन्च त होईन ? पञ्चायतकालदेखी बहुमतको शक्तिशाली सरकारसम्मको ब्यापारिक साझेदारीमा मन्त्रीहरुसंग टेबलमा बसेका ‘एनआरएन महारथी’हरुलाई नै यसको जवाफ थाहा होला । हे नारान, नबुझिने एनआरएनको रामकहानी ।

मुद्दा, आरोप र झमेला सबैभन्दा बढी बेहोरेका तर सदैव विजयको माला पहिर्याउने चलाख नेता, एनआरएन अमेरिकाका अध्यक्ष डा. पौडेलको एउटा भाग्य परिक्षा हो, यो । चुनाव हारेपनि लामो समयदेखी एनआरएन अभियानमा दिल्योज्यान दिएकी निवर्तमान उपाध्यक्ष रबिना थापाको आरोप, अदालती चुनौती, भोगिने परिणतीहरुप्रती डा. पौडेलले गर्ने सम्बोधन सुन्न आईसिसी मात्रा होईन, धेरै विज्ञहरु पनि उपस्थित छन, यसपाली । अन्तर्वार्तामा वार्ताको टेबलबाट समाधान गरिन सक्ने समाधानका उपायहरु अर्थ्याउने डा. पौडेलको शक्ती जोखिने तराजु हुनेछ, सातौं वार्षिक सम्मेलन । वरिश्ठ उपाध्यक्ष सुनिल शाहले ‘रबिना थापाहरुसंग भएको असन्तुश्टीहरु मेटाउन थालेको प्रयास असफल’ भएको उत्तर दिने अवसर हो, यो । किनकी यो साधारण मिटिङ्ग होईन, साधारण सभा हो । असन्तुस्ट आवाज बोल्न कोही नआए पनि असन्तुस्ट आवाजहरुको सम्बोधन भने अबश्य दिनुपर्नेछ, यो साधारण सभाले । समाजको राजनीति, समाजको ब्यबस्थापन र घटनाको चिरफारको राम्ररी चिकित्सा गर्न सक्ने आयमिक अनुभव बोकेका डा. पौडेलको शल्यकृयाको परिणाम देखिने स्थल हो, सातौं साधारण सभा । साधारण सभामा उपस्थित हुन आएका हरेक सदस्यहरुका भावनाको सम्बोधन होस् । हे नारान, त्यो कुरा सफल होस् ।

आरन !!
संस्थाहरु धेरै जन्मिए रुसमा, नेपाली समुदायको उत्थान गर्ने क्रममा । बेलायतमा त संस्थाहरु मात्र होईन । राष्ट्रको चौथो अंग पत्रकारिताको अधिकारिक संस्था नै छ, त्यहां । जात, राजनीति र सेवका नाममा बेलायतमा धेरै नेपाली संस्थाहरु छन । लाहुरेका, चाउरेका र धुपौरेका । जो सामाजिक दायित्वमा लागेनन, ती धुपौरे संगठन मात्र हुन । जापान, युरोपका थुप्रै देशहरु, अस्ट्रेलिया र अमेरिकामा जन्मेका संस्थाहरुका बारेमा लेखिंदा एउटा महाकाब्य बन्छ । किन जन्मे त संस्था ? तिनका उदेश्य, कर्तब्य र निष्ठाका निरन्तरताले ती संस्थाका परिचय दर्शाउंछन । जन्माउनु ठुलो होईन, हुर्काउनु ठुलो कुरा हो ।

संस्था एउटा आरन हो । गाउंमा भांडा-कुंडा बनाउने घरेलु कारखाना । काठको मुढो, एक झिल्को आगो, झिल्को बाल्न फुकिने ढुंग्रो, बाख्राको छालाको खलांती र जांगर । यी कुराहरुको सम्मिश्रणको घरेलु कारखानाको नामा हो, आरन । बेलायत, जापान, युरोप, अस्ट्रेलिया र अमेरिकी मुलुकहरुमा नेपाली उठाउन-जगाउन खुलेका संस्थाहरु प्रवासी समस्याहरुका झिल्कोहरुलाई सेवाको खलांतीले ईमान्दारिताको औजार बनाएर समाधान गर्ने आरन बन्नुपर्दछ । बिभिन्न क्षेत्र र बौद्धिकताका विज्ञहरुको यो भेला एवम सातौं साधारण सभाले समस्याहरुलाई एकताको खलांतीको साहारामा सामुदायिक बलको औजार बनाउन सफल हुनु जरुरी छ । एनआरएन होईन एनआरएन ; आरन हो ।

एनआरएन !!! 

३०० को संख्याबाट शुरु भएको अमेरिकी एनआरएन, आईसिसीको सबैभन्दा ठुलो संस्था बनेको छ । यसमा शिव राई, बिष्णुहरी द्धौराली, प्रल्हाद पन्त, खगेन्द्र जिसी, डा. केशब पौडेलहरुका कार्यसमितिका अहम भूमिका छन । आज सातौं सम्मेलनको उद्घाटनको संघारमा पाहुनाहरुको स्वागतार्थ आयोजित एनआरएन क्यालिफोर्निया च्याप्टरद्दारा आयोजित रात्रीभोजमा ठुलो संख्यामा जनमानसको उपस्थिती थियो । खानका लागि मात्र होईन, सहभागीताका लागि । अनुमानत: करिव ३०० पाहुनाहरु अमेरिकाका बिभिन्न राज्यहरुबाट पाहुनाका रुपमा सहभागी छन ।

जनसंपर्कको संपर्क बढाउन कोही धनन्जयनरसिंह केसी निवास लागे, निम्तो मान्न । धेरै च्याप्टरको रात्रीभोजस्थल लागे । सम्मेलनको बाहानामा समर भ्याकेशन बनाउन आएकाहरु साथीभाई र आफन्ती महल एवम कोटरीतिर लागे । तर मध्यरातमा कार्यक्रमस्थलको लबीमा भवन भट्टसंग वाइनका
बार्गेनिङ गिलास चियर्स गर्नेहरु, कुमार पन्तसंग बहुमतको सरकारको खुशीयालीमा आफ्नो पार्टीको सु-अवसरका बखत अध्यक्ष र तिनका भारदार बन्ने लहडमा कुनामा व्हिस्कीका ग्लास पड्काउनेहरु, एमाले भएकै कारण ६७ तोला सुनका धनी सर्वहारा तर राष्ट्रका सम्पत्ती, युवा जोशका पर्याय मन्त्री रबिन्द्र अधिकारीलाई लाल सलाम गर्न आउनेहरु, आरसी गौरीराज जोशीको शालिनतामा कुम मिलाउन लामबद्ध लाग्नेहारु, समस्याका क्षमतापुर्ण समाधान निकाल्ने चतुर खेलाडी अमेरिकी एनआरएन अध्यक्ष डा. केशब पौडेलसंग हार्दिकताका हात मिलाउनेहारु, गरिमामय मनोनयनका लागि अझै पनि पिछलग्गु बन्दै इलेभेटरमा पछि लाग्ने जिवा लामिछानेका अनुयायीहरु, यताका भावी सभापतिका उम्मेद्वार वरिश्ठ उपाध्यक्ष सुनिल शाहका भजन गाउनेहरु र गरिमामय मनोनयनका पदधारीहरुको झुन्ड फरक फरक रुपमा देखिदा रमणीय लाग्नु स्वाभाविकै हो ।

तर आयोजना र सहभागीका सहजताका नारा दिएर संयुक्त रुपमा आयोजित विज्ञ भेला र साधारण सभा अनि यसले पारीत गरी कार्यन्वयन गर्ने प्रस्ताव तथा योजनाहरुले समुदायमा कति असर पर्दछ भन्ने कुरो श्रेष्ठ हुनेछ ।

र अन्तमा,
मिडिया समितिले आयोजना गरेको प्रेस मिटमा सातौं वार्षिक साधारण सभाकी कन्भेनर तथा उपाध्यक्ष उमा कार्की थापाले आफुलाई उक्त कार्यक्रमको बारेमा जानकारी नै  नदिएको बताईन् ।

चर्चित ब्यवसायी, एनआरएनका केन्द्रिय अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त र आईसिसिका पदाधिकारीहरु वरपर माहुरीका रानो पछि रानीहरु झुमेसरी वाइनका ग्लास चियर्स गर्दै रसिक भट्टले वाचन गरेका कबिता र गाएका गीतहरुमा औंठीले गिलास बजाएर संगित भर्दै स्वरमा स्वर मिलाएको अवसर रोमान्चक थियो, (चाहेर पनि फोटो चाहीं खिचिएन)।

जे होस्, आरन बनोस एनआरएन । टाउकोमा हात राखेर हे नारान ! भन्ने खालको होईन ।
विज्ञ सम्मेलन र सातौं वार्षिक साधारण सभाको शुभकानमा !
अस्तु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *