२०८१ वैशाख ११ गते | 23rd of April 2024

जापानविरुद्ध रेड कार्ड खाएका कोलम्बियन खेलाडीलाई मारिदिने धम्की

खुल्लामन्च
 प्रकाशित: २०७५ असार १२ गते ६:१०

एजेन्सी – कोलम्बियन टिमका मिडफिल्डर कार्लोस सान्चेजलाई मारिदिने धम्की आएको छ ।

विश्वकप समूह चरणको खेलको सुरुवातमै डिएरियाभित्र जापानी खेलाडीले हानेको बल हातमा लागेपछि रातो कार्ड खाँदै बाहिरिएका उनलाई सामाजिक सञ्जालमार्फत धम्की आएको हो ।

जापानसँगको खेल कोलम्बियाले २-१ ले हारेको थियो । लगभग पूरा समय १० खेलाडीमा सीमित भएर खेल हारेपछि कोलम्बियन समर्थक भड्किएका थिए ।

कोलम्बिया त्यही देश हो, जहाँ सन् १९९४ को विश्वकपमा अमेरिकाविरुद्ध आत्मघाति गोल गरेका डिफेन्डर आन्द्रेस एस्कोबार त्यसको १० दिनपछि मारिएका थिए ।

कोलम्बियाले आफ्नो दोस्रो खेलमा पोल्याण्डलाई ३-० ले हरायो । प्रशिक्षक जोस पेकरम्यानसहित सबै खेलाडीले पोल्याण्डविरुद्धको जित कार्लोस सान्चेजलाई समर्पित गरेका छन् ।

‘सान्चेज एकदमै अप्ठ्यारो समयमा छन् । हामी यो जित उनीसँग बाँड्न चाहन्छौँ । हामी टिमका सबैको उही विचार छ’ पेकरम्यानले भने, ‘धम्कीका विषयमा हामीले केही थाहा पाएका छौँ । तर यही कुरा हो भन्न सक्ने स्थिति छैन ।’

सान्चेजलाई आएको धम्कीलाई लिएर प्रहरीले पनि अनुसन्धान थालेको छ । धम्कीका कारण खेलाडीहरुको मनोबलमा असर परेको प्रशिक्षक पेकरम्यानले बताएका छन् ।
‘यस्ता कुराहरुलाई सामान्य रुपमा लिनु हुँदैन । हामीले जति बुझेका छौँ त्यो भन्दा ठूला घटना फुटबलमा भएका छन् । यो कुरा अति नै पीडादायि छ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *