२०८१ वैशाख ७ गते | 19th of April 2024

एसईई नतिजा त्रुटि प्रकरण : कर्मचारीलाई दोष लगाएर उम्कने दाउ

खुल्लामन्च
 प्रकाशित: २०७५ असार १३ गते १७:५६

काठमाडौं – एसईई परीक्षाको नतिजामा भएको त्रुटिका सम्बन्धमा तल्लो तहका कर्मचारीलाई दोष दिएर जिम्मेवार निकाय उम्कने प्रयत्नमा लागेको पाइएको छ ।

प्राविधिकले तथ्यांक व्यवस्थापन गर्दा मानवीय त्रुटि गरेको कारण देखाएर जिम्मेवार निकायले यस प्रकरणबाट उम्कने प्रयासमा लागेको हुन् । तरपनि, शिक्षा मन्त्रालयले यस सम्बन्धमा छानीवन समिति गठन गरिसकेकाले त्यसले कस्तो प्रतिवेदन ल्याउँछ हेर्न बाँकी नै छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले एसइइ नतिजामा भएको त्रुटि जानाजान नभएर प्राविधिक गडबडीका कारण भएको दावी गरेका छन् । ‘कसैले त्रुटि भयो भनेर नभइ आफैले त्रुटि पत्ता लगाएर सच्याइएको पौडेलले दावी गरेका छन् । आफैले पत्ता लगायौं, आफैले सच्यायौं’, डा. पौडेलले भने ।

शिक्षा पत्रकार समूहले एसइइ नतिजामा भएको त्रुटि सम्बन्धमा गरेको पत्रकार सम्मेलनमा बोल्दै बोर्ड अध्यक्ष पौडेलले नतिजा हेरफेर नभएको भन्दै माथिल्लो तहमा जानुपर्ने नतिजा सिस्टमको खरावीले तल्लो तहमा रहन गएको दावी गरे । त्रुटि हुनुहुँदैनथ्यो भयो, त्यसलाई सच्याउने कुरा महत्वपूर्ण रहेको भन्दै नसच्याइएको भए चाँही विद्यार्थीहरु माथि अन्याय हुने उनको जिकिर थियो ।
एसइइ परीक्षाको उत्तरपुस्तिका अंकमा परिक्षण भएर अक्षरमा नतिजा प्रकाशित हुने भएकाले ९० प्रतिशत माथि आउने विद्यार्थीको नतिजा सिस्टममा ए प्लसमा जानुपर्नेमा ए मात्रै जाँदा समस्या आएको पौडेलको भनाइ थियो ।

त्यो त्रुटि पनि आफुले विषयगत तथ्यांक निकाल्न प्राविधिकलाई जिम्मा दिँदा पत्ता लागेको भन्दै तथ्यांकविद् समेत रहेका बोर्डका अध्यक्ष डा. पौडेलले यो त्रुटि पछि विद्यालयलाई ग्रेडसिट पठाउँदा समेत सच्याउन सकिने भएपनि किन एकहप्ता अन्यौलमा राख्ने भनेर २४ घण्टा भित्रै सच्याइएको प्रष्टिकरण दिए । यस त्रुटिले चार लाख विद्यार्थीमध्ये करिव तीनहजार केसमा यस्तो समस्या देखिएको पौडेलले जानकारी दिए ।
घटना भइसकेपछि बोर्ड आफैले छानीव समिति गठन गर्न सक्ने भएपनि आफुमाथि पनि छानीवन होस् भनेर शिक्षा मन्त्रालयसँग समिति गठनका लागि आग्रह गरिएको डा. पौडेलले स्पष्ट पारे ।

विगत देखि नै एकदमै महत्वका साथ हेरिदैँ आएको कक्षा १० को अन्तिम परीक्षाको नतिजामा त्रुटि देखिदाँ समेत परीक्षा नियन्त्रण कार्यालय र शिक्षा मन्त्रालयले यसबारे बोलेका छैनन् । सोमवारको पत्रकार सम्मेलनमा समेत उपस्थित हुन सहमत भएका परीक्षा नियन्त्रक अम्विका रेग्मी अन्तिम समयमा अनुपस्थित भएका थिए ।

सरोकारवालाहरुले भने यस सम्बन्धमा शिक्षा सचिव, परीक्षा नियन्त्रकलगायतले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।
गएको शनिवार ३ बजे बैठक बसेर ४ बजे नतिजा सार्वजनिक गर्ने भनिएपनि प्राविधिक गडबडी भएको भन्दै राती ८ बजे मात्रै नतिजा प्रकाशित गरिएको थियो । कार्यक्रममा पत्रकारहरुले भने शनिवारै प्राविधिक समस्या आएको भए १÷२ दिन रोकेर ढिला नतिजा सार्वजनिक गरेको भएपनि हुने किन हतार गरिएको भनेर प्रश्न गरेका थिए । परीक्षा बोर्डका अध्यक्ष पौडेलले भने नियोजित नभइ नतिजा छिटो गर्ने भनेर शनिवार ढिलोगरी भएपनि नतिजा सार्वननिक गरिएको जनाए ।

राष्ट्रिय परीक्षा बोर्डलाई परीक्षाको जिम्मा भएपनि शिक्षा मन्त्रालयले साविकको परीक्षा नियन्त्रण कार्यालय खारेज नगरेकाले कार्यालय आफैले नतिजा सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *