२०८१ वैशाख ७ गते | 19th of April 2024

नेपाली चेलीहरूलाई खाडी मूलुकमा घरेलु कामदारको रूपमा लान दिनु उचित होइन

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १० गते २१:५१

– मणि भट्टराई

जडिबुटी जरैसँग उखेलेर बेचिसके छन् क्यारे ! खोलानाला मुहानै देखि भित्रभित्रै बेचिसकेका होलान् । अब बेच्न शायद केही बचेको छैन, गोर्खाली युवाहरूको श्रम त गल्ली पिच्छे मेनपावर खोलेर बेचेका बेचेकै छन् । अझै पुगेन छ । अब गोर्खाली युवतीहरूको श्रम पनि खाडीमा घरेलु कामदारको रूपमा बेच्ने तयारी हुँदै रहेछ !
हुन त यस अघि पनि मानव तस्करहरूले गैह्र कानुनी रूपमा फाट्ट फुट्ट गरीब सोझासिधा नारीहरूलाई बेचिरहेकै थिए । तर अब चाहीं सरकारले पनि ऊनिहरूबाटै सिकेर त होला नि, विधिवत रूपमा नै बेच्ने कुरा गर्दै रहेछ । धन्य होस् । जय होस् । मूलुकको द्रुततर बिकास भनेको यसरी नै त हुने रहेछ नि !

बा पनि विदेश । आमा पनि विदेश । यसरी हुर्केको अबको २०-२५ बर्ष पछिको नयाँ पुस्ता कस्तो होला ? ऊसको मनोविज्ञान के होला ? के यस तरिकाले देशको भविष्यको निम्ति राज्यले उत्पादन गर्न खोजेका नागरिकहरू उत्पादन होलान् ? अहिले मध्येपूर्वमा गएर सस्तो मूल्यमा घरेलु कामदारको रूपमा आफ्नो श्रम बेचेर दु:खले नेपालमा सन्तानको खर्च जुटाइरहेका आमाहरूलाई बुढेशकालमा कुन मूलुकको नागरिक आएर रेखदेख गर्ला ? के राज्यले चाल्नुपर्ने कदम यस्तै हो ?

सीता सावित्रीहरूको मूलुकले मिडल इस्टका मान्छेको घर सफा गर्ने नारीहरूको जन्म मात्र दिएको रहेछ ! पठाउनु नै परे पनि कुनै उधोगधन्दामा काम गर्न पठाउनु नि ! आँखिर जतिसुकै नारी हक हीत र समानताको कुरा गरे पनि नारीहरूलाई घरेलु कामदार भन्दा माथिको स्तरमा खै कुन जनबादी शासकले देखेको रहेछ र ! यहाँ भन्दा ठूलो अपमान अरू के हुनसक्छ ? यतिखेर प्रगतिबादी भनाउँदा लेखकका कलमहरू कतै कुनामा ढुँसी परिरहेका हुनसक्छन् । यसो भन्दैमा केही पनि नलेखी त कसरी बस्नु । फेरी यी सबै काम उनिहरूको ठेक्कामा पनि त नहोलान् । जबर्जस्ती लेख भन्नु पनि कसरी ? कलम जो स्वतन्त हुनुपर्छ भन्ने मान्यताको पक्षपाती म स्वयम् पनि त हुँ ।

आफ्नी छोरीलाई अर्काको घर सफा गर्न, अर्काका रासलीला गरेका लगौंटी धुन, कसिंगर, ट्वाइलेट सफा गर्न, भाँडा माझ्न पठाऊँदैछौ सरकार ? सम्झँदा पनि आँसु आउँदैन ? खाली रेमिट्यान्सको सपना मात्र देख्छौ है ? छोरामान्छे गएर भएन ? कम्तिमा नारीहरूकै निम्ति मात्र भए पनि एक दुई उधोग नेपालमै खोल न प्रभू ! अरूले नै लगानी गरेर खोलिदिन्छ – कम्तिमा बाताबरण त बनाइ देऊ ।

सतीले सरापेको भनिने मूलुक – खाडीमा घरेलु कामदारमा जाने छोरी चेलीको सरापेको मूलुक नहोस् । त्यति धेरै स्रोत साधन भएर पनि सत्ताको बग्गीमा मात्र नृत्य गरिरह्यौ भने नेपाल आमाले धिक्कार्ने छिन् । अरूलाई त एजेन्डा विहीन भनेर गाली गर्छौ सरकार – ठीक छ । म जस्तै धेरैलाई सरकारको कुरा बहुत मन पर्छ । एजेन्डा हुनुपर्छ देशको विकास र उन्नतीको निम्ति । तर के तिम्रो एजेन्डा चाहिं यही हो ? सरकारले नै निर्णय गरेपछि यो काम अबैधानिक हुने त कुरै आएन, एक तर जिम्बेवार अभिभावक भएर सोझासिधा चेलीहरूलाई आफ्ना नाबालक सन्तानलाई देशमा अलपत्र छोडेर, सन्तानबाट आमाहरूलाई अलग्याएर , त्यह पनि खाडीमा अर्काको घर पोत्ने वाताबरण सिर्जना गरिदिनु पक्कै पनि अनैतिक काम हो ।

मलाई लाग्छ नेपाल सरकारले यो भन्दा धेरै राम्रो काम गर्न सक्छ । अझै पनि मलाई विश्वास छ सरकारले यो निर्णय पटक्कै गर्ने छैन । कथम कदाचित घरेलु कामदारको रूपमा गएका नेपाली चेलीहरूको इज्यत लुटियों भने त्यो देशकै इज्यत लुटिए सोसरह हुनेछ । आशा छ सरकारले सरकार जस्तो भएर सोच्ने छ र यी सोझा सिधा नपढेलेखेका नेपाली छोरीचेलीको निम्ति देशभित्रै रोजगारको सिर्जना गरिदिनेछ ।

म यसर्थ पनि यो लेखिरहेको छु कि सरकार, जनताकै ईज्जत भएन भने सरकारको के ईज्जत हुन्छ र ?

आगे हजुरको जो मर्जी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *