२०८१ वैशाख १२ गते | 24th of April 2024

बंगलादेशमा विद्यार्थी अान्दाेलन उग्र : राजधानी ठप्प, विमानस्थल प्रभावित

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १७ गते १०:३०

एजेन्सी – बङ्लादेशको राजधानी ढाकामा दशौँ हजार विद्यार्थी अान्दाेलनमा उत्रिएका छन् । उनीहरुकाे विरोध प्रदर्शनका कारण राजधानी लगायत सहरमा सडकमार्ग ठप्प भएका तथा विमानस्थल समेत प्रभावित भएकाे समाचार त्यहाँका सञ्चारमाध्यमले लेखेका छन् । आफ्ना सहपाठी विद्यार्थीकाे सडक पार गर्ने क्रममा बसकाे ठक्करबाट भएकाे मृत्युको विरोधमा उनीहरूले बिहीबार लगातार पाँचाै‌ँ दिन पनि सडक आन्दोलन जारी राखेकाे समाचारमा जनाइएको छ । उनीहरूले सडक अवरुद्ध गर्नुका साथै नाराबाजीसमेत गरेको बताइन्छ ।

बाटोमा हिँडिरहेका बेला चालकको लापर्वाहीका कारण विद्यार्थीकाे निधन भएको भन्दै उनीहरूले सडक यात्रा सुरक्षित गराउनसमेत सरकारसँग माग गरेका छन् । ‘हामी न्याय चाहन्छौँ,’ जस्ता नारा लगाउँदै विद्यार्थीहरूले मुख्य मुख्य सडकमा प्रदर्शन गरेको स्थानीय टेलिभिजनहरूले देखाएका छन्। उपचारका लागि राजवारी देखि शाहबागको अस्पतालमा आएका एक बिरामी ऐनुद्धिनले भनेका छन्, ‘हो म यतिबेला समस्यामा छु तर विद्यार्थीहरूको आन्दोलन जायज छ । किनभने सडक किनारमा उभिएका बेला बसले किचिदिँदाकाे परिणाम के हुन्छ ?’ सडकमा उत्रिएका विद्यार्थीहरूकाे प्रदर्शन डढेलाेझैँ देशभरि फैलिन थालेकाे बंगलादेशको पत्रिका दी डेली स्टारले लेखेकाे छ । आफ्ना माग पूरा नहुँदासम्म ढाकाको सडकबाट नटड्ने उनीहरुकाे अडान छ ।

राजधानी ढाकाको हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाने मुख्य मार्गमा गत आइतबार दिउँसो बाटाे हिँडिरहेका विद्यार्थीलार्इ बसले ठक्कर दिएकाे थियाे । साे घटनामा दुई जनाको मृत्यु भएको र नौ जना घाइते भएको समाचारमा जनाइएको छ । अघिल्लो दिन सडकमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमन विरुद्ध बुधबार झन् हजारौँ विद्यार्थीहरू स्कुल तथा कलेज पोसाकमा सडकमा उत्रिएका थिए । मंगलबार प्रहरीले हस्तक्षेप गर्दा कम्तीमा २० जना घाइते भएका थिए । अाक्राेशित आन्दोलनकारीले हालसम्म ७० भन्दा बढी गाडीमा तोडफोड गरेकाे जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *