२०८१ वैशाख ७ गते | 19th of April 2024

समृद्धिका लागि डिजिटल नेपाल : प्रधानमन्त्री ओली

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १८ गते ८:०९

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फ्रोष्ट एण्ड सुलिभानद्वारा आयोजित ‘डिजिटल नेपाल कन्फरेन्स’ को शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गतिशील दुनियाँमा हामी कुद्न सकेनौँ भने हामीलाई कसैले पर्खेर नबस्ने उल्लेख गरे । उनले सरकार सुशासनमार्फत देशलाई विकसित र समृद्ध बनाउन सूचना प्रविधिको प्रयोग बढाउने प्रक्रियामा रहेको पनि बताए ।

सरकारले विद्युतीय भुक्तानी शुरु गरिसकेको र शिक्षा क्षेत्रमा डिजिटलको प्रयोग अस्वीकार गर्न नसकिने भइसकेको जनाउँदै उनले मुलुकको उत्पादन र उत्पादकत्व बढाउन नागरिकको क्षमता वृद्धिका लागि सम्मेलनले उपयोगी निष्कर्ष निकाल्ने बताए । उनले भने, ‘सन् २०३० भित्र सहस्राब्दी विकास लक्ष्यमार्फत समाजको सम्पूर्ण विकासका लागि नेपाल सरकार तत्पर छ । यो हाम्रो कर्तव्यमात्र होइन आवश्यकता पनि हो । त्यसैले यसका लागि डिजिटल नेपालको अवधारणा कार्यान्वयन हुनु अपरिहार्य छ ।’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिले सहज सेवा प्रवाह, आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले छिमेकी भारत र चीनले सूचना प्रगतिमा गरेको प्रगतिलाई आत्मसात् गरी कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन आदिका क्षेत्रमा यसको प्रयोगको व्यापकता गरिने बताए । उनले नागरिकको जीवन सहज बनाउन तथा सूचना एवं ज्ञान बाँड्न सम्मेलनबाट प्राप्त सुझावबाट सरकारको समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा गर्न योगदान मिल्ने बताए ।

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारले राष्ट्रिय परिचयपत्र बनाइ एकै परिचयपत्रबाट सबै सेवाका लागि प्रयोग गराउने नीति लिएकामा त्यसका लागि डिजिटल नेपाल लागू हुनु अत्यावश्यक भएको बताए । फ्रोष्ट एण्ड सुलिभानका अन्तर्राष्ट्रिय अध्यक्ष अरुप जुट्थीले ‘डिजिटल नेपाल स् समृद्ध नेपाल र सुखी नेपालीका लागि सामाजिक र आर्थिक कार्यढाँचा’ बारे कार्यपत्र प्रस्तुत गर्दै डिजिटल क्रान्तिले आर्थिक रुपान्तरणलाई तीव्र बनाउँदै नेपाललाई विकसित बनाउने बताए। उनले परम्परागत उद्योग र रोजगारीलाई डिजिटल प्रविधिको प्रयोगबाट सिर्जनशील र सहज बनाउन सकिने जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *