२०८१ वैशाख १४ गते | 26th of April 2024

‘बच्चा तुरुन्त छोड नत्र तेरो दिन सकिन्छ’ म्यासेजले लिएको मोड

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २२ गते १८:४५

काठमाडौं – राजधानीको काँडाघारीबाट अपहरणमा परेका एक बालकलाई छुटाउन पुगेको प्रहरीले अपहरणमा संलग्न टोलीमाथि सोमबार गोली चलायो। बालक अपहरणमा परेपछि खोजीका लागि जु्टेको प्रहरीको ‘इन्काउन्टर’मा भक्तपुरको घ्याम्पेडाँडामा दुई युवा मारिए। अपहरणमा संलग्न भनिएका अजय तामाङ र गोपाल तामाङ प्रहरी निशानामा परे। उनीहरुले ११ वर्षीय निशान खड्काको अपहरणपछि हत्या गरेका थिए।

समय : राति ९ : ०१ मिनेट
गोपाल तामाङ : हेलो ! तपाइँको बच्चा हामीहरु सँग छ। सकुशल चाहिन्छ भने दुई करोड दिनुस।

चमेली : तपाइँ को बोल्नु भएको ? खोई मेरो बाबु ? मसँग त्यति पैसा छैन (रुवावासी)

गोपाल : सकुशल बच्चा चाहिन्छ भने पैसा ल्याउनुस। (फोन काटिन्छ)

यो संवाद भएपछि ११ वर्षीय निशान खड्काकी आमा चमेली खड्का रुवावासी गर्छिन्। काँडाघारीस्थित चिया पसलमा स्थानीयको भीड लाग्छ। स्थानीयले नै प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेर घटनाको जानकारी गराउँछन्। साढे नौ बजे प्रहरी टोली घटनास्थलमा पुग्छन्।

९ :४६ मा काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले प्रहरीको सियूजी नम्बर ९८५१२०५५५५ बाट अपहरणकारीको मोबाइलमा सन्देश पठाउँछन्।

सन्देशमा – बच्चा तुरुन्त छोड नत्र तेरो दिन सकिन्छ। यो सन्देश अपहरणकारी मध्येका गोपालले थाहा पाउने वित्तिकै फोन स्वीच अफ हुन्छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार गोप्य रुपमा गरिने (कोभर्ट अपरेशन) यही सन्देशले मोडिन्छ।

सामान्यत : यस्ता संवेदनशील घटनामा प्रहरीले पीडितसँग समन्वय गरेर आफू पर्दापछाडी बसेर काम गर्नुपर्ने हुन्छ। तर पोखरेलको यो सन्देश नै अपहरणकारीका लागि निशान बाधक बनेको सोमबार घटनास्थलमा खटिएर विस्तृत अनुसन्धान गरेका प्रहरी अधिकारी बताउँछन्।

त्यतिबेलासम्म घटनास्थलमा पुगेका महानगरीय प्रहरी अपराध महाशाखा र बानेश्वर वृत्त र अन्य युनिटका प्रहरी एसएसपी पोखरेलले अपहरणकारीलाई पठाएको सन्देशका बारेमा जानकारी थिएन।

बानेश्वर वृत्तका डीएसपी गोविन्द काफ्ले राति साढे १० बजे स्वीप अपरेशन गर्ने निष्र्षमा पुगे। घना बस्तीमा त्यो सम्भव नभएपछि सेवाप्रदायक संस्थाबाट अपहरणकारीको फोनको लोकेशन मागियो। हेर्दा ठिमी क्षेत्रमा देखियो।

फरकफरक बनाएर टोली परिचालन भएपनि अपहरणकारी प्रहरीलाई निशान अपहरणबारे जानकारी भइसेकाले प्रमाण लोप गर्न लाग्छन्। उनीहरुले निशानको हत्या गरेको आशंका अनुसन्धानमा संलग्न अधिकारीको छ।

मेगा देवकोटा अपहरण घटनाको अनुसन्धान गरिसकेको नेपाल प्रहरीका एक पूर्वउच्च अधिकारी भन्छन्, ‘बन्धक वा अपहरणका घटनामा सबैभन्दा ठूलो अर्थपीडित व्यक्तिको सकुशल उद्धार नै हो। अपहरणकारी वा पीडक जे भनेपनि उसलाई जहिल्यै पक्राउ गर्दा पनि केश मर्दैन।’

उनले नियोचित र योजनाबद्ध ढंगले गरेका अपहरणका घटनामा प्रहरीले धेरै जोखिम मोल्नुपर्ने बताए। केही कम घटनामा मात्रै अपहृत व्यक्तिको सकुशल उद्धार गर्न सकिएको दृष्टान्त छ।

नेपाल प्रहरीका पूर्व डीआइजी हेमन्त मल्ल ठकुरीले अपहरणका घटनाका बारेमा सकभर आफन्तलाई समेत जानकारी नदिई प्रहरी समन्वयमा अपरेशन चलाउनुपर्ने बताए। ‘कतिपय घटनामा आफन्तले नै अपहरणकारीलाई सूचना दिएका पनि छन्। झन प्रहरी पीडित परिवारसँग समन्वय भएको विषय त अपहरणकारीले कुनै पनि हालतमा थाहापाउनु हुँदैन र प्रहरीले सिधै फोन वा सन्देश पठाउनुहुँदैन।’

ठकुरीले अपरहरणका घटनामा पहिलो प्राथमिकता अपहृत व्यक्ति नै हुनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *