२०८१ वैशाख १३ गते | 25th of April 2024

पार्टीका अन्तर्घातीलाई कारबाही हुन्छ  सभापति देउवा

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ५ गते १२:५०

काठमाडौँ, ५ साउन । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टीका विरुद्ध अन्तर्घात गर्नेलाई तत्काल कारबाही हुने बताउनुभएको छ ।

तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोजित ‘छलफल कार्यक्रम’लाई यहाँ आज सम्बोधन गर्दै उहाँले भन्नुभयो – “पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्नबाट बन्चित भएको छ ।”

सभापति देउवाले “निर्वाचनमा उम्मेदवारका आंकाक्षी धेरै हुनु स्वभाविक हो, तर आफूले टिकट पाएमात्र जितिन्छ भन्ने भ्रम पाल्नु हँुदैन,” भन्दै पार्टीभित्र अन्तर्घात गर्नेलाई अनुशासन समिति बनाएर तत्काल कारबाही गर्ने स्पष्ट पार्नुभयो ।

आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन व्यक्तिगत स्वार्थ छोडी एक ढिक्का भएर लाग्न सबैलाई निर्देशन दिँदै उहाँले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनका लागि डेढ महिनाअघि नै उम्मेदवार चयन गरिसक्ने जानकारी गराउनुभयो ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले उत्पीडित जनतालाई अधिकार दिलाउन स्थानीय निर्वाचन अपरिहार्य भएको बताउँदै स्थानीय तहको आगामी निर्वाचनमा मधेस केन्द्रित दल पनि सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

“मधेसको पक्ष र विपक्षमा को छ भन्ने प्रष्ट पार्नका लागि पनि संविधान संशोधन प्रस्ताव प्रक्रियामा अघि बढाउनुपर्दछ,” उहाँले भन्नसभयो – “पार्टीको गुटउपगुटभन्दा माथि उठेर टिकट वितरण गर्न सक्नुपर्दछ ।”

नेता पौडेलले पार्टीका स्थानीय संयन्त्रबाटै टिकट वितरण प्रक्रिया टुङ्ग्याउनुपर्नेमा जोड दिदैं काँग्रेस मधेसबाटै जन्मिएको पार्टी हो, त्यसैले प्रदेश नं २ ले नै काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

महामन्त्री डा शशांक कोइरालाले काँग्रेस प्रदेश नं २ बाट पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्दै टिकट नपाएका असन्तुष्ट नेता कार्यकर्तालाई प्रदेश र संघको निर्वाचनमा व्यवस्थापन गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

कोषाध्यक्ष सीतादेवी यादवले संविधान संशोधन प्रस्ताव प्रक्रियामा अघि बढाउनुपर्ने बताउँदै अन्तिम समयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पनि संशोधनको पक्षमा मतदान गर्ने आशा व्यक्त गर्नुभयो ।

नेता कृष्णप्रसाद सिटौलाले निर्वाचनमा गुटउपगुटका भन्दा पनि पार्टीले योग्य उम्मेदवार चयन गर्नुपर्ने सुझाव दिँदै संविधान संशोधन विधेयक प्रक्रियामा लैजान काँग्रेस तयार रहेको बताउनुभयो ।

प्रदेश नं २ का १०० तहमा जित्ने रणनीतिक योजना

स्थानीय तहको दुई चरणको निर्वाचनमा दोस्रोस्तरमा झरेको काँग्रेसले तेस्रो चरणको निर्वाचनबाट पुनःपहिलो पार्टी बन्ने रणनीतिक योजना अघि सारेको छ ।

काँग्रेसले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारी गर्न बोलाएको प्रदेश नं २ को भेलाका बारेमा प्रकाश पार्दै नेता विमलेन्द्र निधिले आगामी निर्वाचनबाट काँग्रेस पहिलो पार्टी बन्ने बताउनुभयो ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा काँग्रेस एमालेभन्दा ५० तहमा पछि परेको भन्दै नेता निधिले पहिलो बन्नलाई प्रदेश नं २ का कुल १२७ तहमध्ये १०० तहमा काँग्रेसले जित्नैपर्ने धारणा राख्नुभयो ।

प्रदेश नं २ को निर्वाचनको तयारीका लागि पर्याप्त समय भएको भन्दै उहाँले यस बीचमा समयमै उम्मेदवार चयन, प्रचारप्रसार र असन्तुष्ट कार्यकर्ताको माग सम्बोधन गर्न सकिने बताउनुभयो ।

प्रदेश नं २ का सप्तरी र सिराहाबाहेक छ जिल्लाका ९६ तहमध्ये १९ तहमा मात्रै एमालेको प्रभाव रहेको आँकलन गर्दै काँग्रेसले त्यस्ता तहमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाललगायत दलसँग चुनावी तालमेल गर्न सकिने निष्कर्ष निकालेको छ ।

नेता निधिले विगतमा तयारी नपुगेका कारण कतिपय स्थानमा अन्य पार्टीसँग चुनावी तालमेल गरेर पनि विजय हासिल हुन नसकेको सन्दर्भ उल्लेख गर्दै आगामी दिनमा तयारी र सुझबुझका साथ तालमेल गर्न सकिने धारणा राख्नुभयो ।

भेलामा प्रदेश नं २ का आठवटै जिल्लाका पार्टीका केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति र संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्षतर्फका उम्मेदवारका प्रत्यासी सहभागी हुनुहुन्छ ।

शुक्रबारसम्म छलफल हुने सो कार्यक्रममा आठवटै जिल्लाका आठ समूह बनाएर उम्मेदवार सिफारिस, प्रचारप्रसार र अन्य दलसँगको चुनावी तालमेल सम्बन्धमा छुट्टाछुट्टै र सामूहिक छलफल गरी निष्कर्ष निकालिने पार्टी कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *