२०७८ जेठ १ गते | 15th of May 2021

भरतपुरको १९ वडामा मतदाताको संख्या घटयो , ७५ प्रतिशत मतदान

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २० गते १३:२५

चितवन, २० साउन । भरतपुर महानगरपालिका–१९ मा आज भएको पुनः मतदानमा ७५।५८ प्रतिशत मत खसेको छ ।

उक्त वडामा गत वैशाख ३१ गते भएको निर्वाचनमा ७६।२९ प्रतिशत मत खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानमा दुई हजार ८७० मत खसेको हो । सोअनुसार जीवनज्योति राष्ट्रिय प्राथमिक विद्यालय केन्द्रमा एक हजार १४, किरण मावि किरणगञ्ज केन्द्रमा नौ सय ५३ र शारदा मावि शारदानगर केन्द्रमा नौ सय तीन मत खसेको छ ।

यसअघि सो वडामा दुई हजार ८९७ मत खसेको थियो । सो वडामा तीन हजार ७९७ मतदाता छन् । पहिलेभन्दा २७ मत कम खसेको हो । दुई दिनदेखि परेको वर्षा, यससँगै धान रोपाईँको चटारो, नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध तथा दुई पटक मतदान गर्नुपर्दा मतदाता रुष्ट बनेका कारण मत कम खसेको अनुमान गरिएको छ ।

महानगरपालिकाका २७ वटा वडाको मतगणना सम्पन्न भइसकेर दुई वटा वडाको मत गन्न बाँकी रहँदा मतपत्र च्यातिएको थियो । सत्ताइस वटा वडाको अन्तिम परिणामनुसार नेकपा (एमाले) का प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९८० तथा माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालले ४० हजार १९४ मत प्राप्त गरेका थिइन । महानगर–२० को तीन हजार ३०२ मतगणना गर्न बाँकी छ ।

मतपत्र संकलन भएपछि दलको सहमति भएमा आजै साँझदेखि मतगणना गरिने मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए । यसअघि मतपत्र च्यातिएपछि मतगणनस्थल भरतपुरको कभर्ड हलमा तीन सिसी क्यामरा जडान गरिएको छ । मतगणनास्थलमा जाली लगाई प्रतिनिधि जाली बाहिर बस्ने व्यवस्था मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *