२०७७ चैत २८ गते | 10th of April 2021

फौज्दारी कसुरसम्बन्धी कानुन दक्षिण एसियाकै उत्कृष्ट

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २० गते १६:४७

काठमाडौँ, २० भदौ । व्यवस्थापिका–संसद्बाट पारित फौज्दारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन विधेयक–२०७४ दक्षिण एसियामै उत्कृष्ट भएको कानुनविद्हरुले बताए ।

फौज्दारी कसुर कानुनका सम्बन्धमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनहरुले यो कानुन दण्डात्मकभन्दा पनि सुधारात्मक भएको धारणा व्यक्त गरे ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद रामनारायण बिडारीले फौज्दारी कसुर कानूनमा अपराधीले गरेको कसुरका आधारमा सजायको फरकफरक व्यवस्था भएको जानकारी गराउँदै यो कानून दक्षिण एसियामै पहिलो भएको बताए ।

फरक प्रसंगमा सांसद बिडारीले उक्त कानून धार्मिक समुदायलाई सजाय दिनको लागि नभई संरक्षणको लागि बढी उपयोगी भएको भन्दै विधेयकसँग कुनै पनि धार्मिक समुदाय डराउन नहुने धारणा व्यक्त गरे ।

अधिवक्ता धर्मराज रेग्मीले नेपालको संविधान र अन्य कानूनले सबै धर्म संस्कृतिको संरक्षणको व्यवस्था गरेको बताउँदै कुनै पनि धार्मिक समुदायले आफ्नो धर्मको संरक्षण गर्दा फरक धर्म संस्कृतिको सम्मान गर्नपर्ने विचार व्यक्त गरे ।

महासंघका अध्यक्ष सिबी गहतराजले नेपालको संविधानले धर्म निरपेक्षताको व्यवस्था गरिसकेको भन्दै त्यसलाई प्रतिकूल हुने गरी कुनै पनि कानून बन्न नसक्ने जिकिर गरे ।

कार्यक्रममा मुस्लिम समुदायका अध्यक्ष खुसिद् आलम, वानी नेपालका राष्ट्रिय निर्देशक डा समित अहम्मद, फ्रिडम फर अलका सचिव मानवअधिकारकर्मी खगेन्द्र ओली, महासंघका महासचिव पदमनाथ पराजुलीलगायतले फौज्दारी संहितामा धर्मः कसुर र सजायसम्बन्धी कार्यपत्रमा उल्लेख विषयवस्तुमा आफ्ना धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *