२०७८ साउन ११ गते | 26th of July 2021

भाइ हत्यामा पक्राउ परेकी युवतीद्वारा आत्महत्या

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १२ गते १७:०९

लहान, १२ कात्तिक /भाइको हत्या आरोपमा पक्राउ परेकी एक युवतीले आज साँझ इलाका प्रहरी कार्यालय, विष्णुपुर, सिरहाको प्रहरी हिरासतभित्रै आत्महत्या गरेकी छन् ।

सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरकी १६ वर्षीया प्रियंका यादवले प्रहरी हिरासतभित्रै रहेको शौचालयमा सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिप्रका सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।

नुहाउन जान्छु भन्दै शौचालय छिरेकी प्रियंका ननिस्किएपछि महिला प्रहरीले ढोका खोलेर हेर्दा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

शव झुण्डिएको अवस्थामा आजै साँझ माइती पक्षलाई बोलाई घटनास्थल प्रकृति मुचुल्का उठाएर परीक्षणका लागि सिरहा जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नर्सरीमा अनैतिक सम्बन्धको प्रत्यक्षदर्शी रहेका आफ्नै ठूलो बुबाको छोरा भाइ १४ वर्षीय भवेश यादवलाई केटा साथीसँग मिलेर हत्या गरेको आरोपमा पक्राउ परेकी प्रियंका र उनका केटा साथी सञ्जयकुमार साहलाई इप्रका, मिर्चैयामा आज बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेपछि मिर्चैयामा महिला थुनुवा राख्ने ठाउँ नभएकाले प्रियंकालाई विष्णुपुर लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *