२०७७ फागुन २५ गते | 9th of March 2021

ईतिहास लुकाएर लुक्दैन : यसरी मारेका थिए माओबादीहरुले शिक्षक मुक्तिनाथ अधिकारीलाई ।

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २३ गते १७:४१

काठमान्डौं । मर्स्याङ्दी नदीमा मिसिनुअघि पाउँदी खोलाले पूर्व-पश्चिम तन्किएको फराकिलो उपत्यका बनाएकी छन्। यसै उपत्यकाको उत्तरी विशाल पाखोलाई दुराडाँडा भनिँदोरहेछ; शाह वंश तथा नेपाल राज्यकै उद्गमस्थल र मध्यपहाडको शिक्षा र प्रगतिशील विचारको थलो। इतिहास र संस्कृतिले उर्वर यस माटोका बौद्धिक उत्पादन थिए शिक्षक मुक्तिनाथ अधिकारी।

प्रत्यक्षदर्शी स्थानीय बासिन्दा बताउँछन्: ३ माघ २०५८, दिउँसो १:१० बजे; मुक्तिनाथ सर कक्षा ९ मा विज्ञान पढाउँदै थिए। माओवादी पार्टी, लमजुङ जिल्ला समिति सदस्यको नेतृत्वमा आएको टोलीले ‘सर दुई मिनेट काम छ’ भनेर कक्षाबाट तानेर बाहिर लगे। सशंकित विद्यार्थीको छाडिदिने आग्रह मानेनन्। गाउँको गोरेटो बाटो हुँदै माथि आधा घन्टा पर रहेको बारीको कान्लामा लिएर गए। साँझपख गाउँबासी माथि पुग्दा मुक्तिनाथ सरलाई हत्या गरी उत्तिसको फेदमा बाँधेर ठड्याइएको भेट्टाए। माओवादीले ‘बम छ, कसैले नछुनू’ भनेका कारण त्रसित गाउँबासी लासछेउ आगो बाली जागराम बसे।

मुक्तिनाथ सरलाई घिस्याएको गोरेटोकै बाटो गरी छोरा सुमनले हाम्रो टोलीलाई माथि त्यो रक्ताम्मे गह्रातर्फ लिएर गए। मुक्तिनाथ सरलाई मारेको कान्लाछेउ चन्द्र आकार घेरा बनाएर हामीले स्वःस्फुर्त श्रद्धाञ्जली भेला गर्‍यौं। पत्रकार चन्द्रकिशोरले केही शब्द श्रद्धासुमन राखे अनि भने, ‘मुलुकभर मारिएका निहत्था निर्दोष नागरिकका प्रतिक हुन् मुक्तिनाथ अधिकारी। मनमा लागेका कुरा स्पष्ट भन्ने, समाजलाई उदार र खुला राख्ने प्रण गरौं।’

मुक्तिनाथ सरलाई मारिएको ताका माओवादीको ‘जनयुद्ध’ शिखरमा थियो, गाउँमा विद्रोहीको ज्यादती भयावह र चरम अवस्थामा थियो। गर्धन छिनालेको, यातना दिएको बीभत्स दृश्य त फोटोग्राफरहरूले खिचेका तस्बिरमा सर्वत्र उपलब्ध थिए, जस्तैः एमाले नेता यदु गौतमको। पाठकप्रतिको संवेदनशीलताले त्यस्ता तस्बिर पत्रपत्रिकामा छाप्ने अवस्था थिएन। तर, माओवादीको व्यक्तिहत्याको शृंखलालाई उजागर गर्ने तस्बिरको भने खाँचो थियो।

त्यतिबेला हिमाल खबरपत्रिकाका श्रीभक्त खनाल त्यतै खटाइए र मुक्तिनाथ सरको हत्यापश्चातको तस्बिर फेला पारी लिइआए। मृत्युको भोलिपल्ट बिहानको फोटो। सौम्य मुद्रामा निदाएजस्ता मुक्तिनाथ सर। हिमाल खबरपत्रिकाका संस्थापक सम्पादक राजेन्द्र दाहाललाई लाग्यो : यो तस्बिर सार्वजनिक गर्न उपयुक्त छ र आँट गरीकन १६-३० माघ २०५८ को आवरणमा त्यो छापियो। पहिलो पटक सायद माओवादीको व्यक्तिहत्याको प्रमाण आमपाठकसामु प्रस्तुत भयो।

हत्याको चरित्र तथा मरण स्थलबारे गाउँबासीबाहेक अरूलाई जानकारी त्यो तस्बिर मात्र थियो। तसर्थ त्यहीँ पुग्दा केही थप कुरा थाहा भयो। मुक्तिनाथ सरको बिदाइको यो स्थललाई नेपालका हिमालहरूले पहरा दिएका रहेछन्; शिर ठाडो गरेर हेर्नुपर्ने एकातिर मनास्लु, हिमालचुली, बौद्ध र डा.हर्क गुरुङले नाम दिएको ङादीचुली। अर्कातर्फ लमजुङ हिमाल, माछापुच्छ्रे तथा सम्पूर्ण अन्नपूर्ण हिमशृंखला। मानौं व्यक्तिहत्याको शृंखलालाई त्रास, अन्यौल र मौनतामा डुबेको बौद्धिक जगत बाबजुद नेपालका हिमालय साक्षी छन्। बिर्सन दिने छैनन्।

तस्बिरमा मुक्तिनाथ सर शालिन छन्, रक्तपात देखिँदैन। तर बीभत्सको पाटो क्यामेराको लेन्सले नसमेटेको रहेछ, त्यहीँ थाहा भयो। उनको हत्या एउटा गोलीबाट भएको रहेछ, दाहिने कान पछाडिबाट छिरेको, खप्पर पछाडिबाट बाहिरिएको पुरै विष्फोट गरी छियाछिया पार्दै। फोटोले त्यो थाहा दिएन।

किन व्यक्ति हत्या ?

आखिर किन गर्‍यो माओवादीले नागरिकको हत्या? माओत्सेतुङद्वारा प्रतिपादित जनयुद्ध कार्यक्रममा सर्वसाधारणलाई यातना नदिनू भन्ने निर्देशन छ। एक त २०५२ सालमा लोकतन्त्र आगमनको ६ वर्ष नबित्दै ऐतिहासिक उत्पीडनलाई खलास पार्न सशस्त्र द्वन्द्व आवश्यक थियो भन्ने माओवादी नेतागणको दाबी स्विकार्न गाह्रो छ। लडाइँ गर्नु नै थियो भने त्यो राज्यसत्ता तथा सुरक्षा फौजतर्फ लक्षित हुनुपर्नेमा निहत्था, निर्दोष स्थानीय अगुवा, शिक्षक, समाजसेवी, कार्यकर्ता, व्यापारी, बौद्धिकको हत्या गर्ने औपचारिक तरिका अपनाइयो। नेपालको माओवादीले अग्रज ठानेका ७० को दसकका भारतका नक्सालवादी व्यक्तिहत्या (टार्गेटेड किलिङ)मा लागेका थिएनन्।

नेपाली माओवादी नेतृत्वको ‘कार्यनीति’ प्रस्ट छ : आफ्नो हैकम जमाउन नागरिक मार्दै हिँडेको। सत्ता कब्जाका लागि नेपाली भूमिको भौगोलिक विशेषता तथा जिल्लाका कुनाकन्दरामा सरकारी अनुपस्थितिको फाइदा लिँदै स्थानीय सामाजिक नेतालाई दबाउने, तर्साउने नीति उसले लियो। नदबिने र नतर्सिने अगुवा कोही निस्किए, निर्ममताका साथ यातना दिने या सफाया गर्ने नियत उसको रह्यो। एउटा हत्याकाण्ड मच्चाउँदा दसौं हजार जनतालाई भयको वातावरणमाझ नियन्त्रण गर्न सक्ने हुनाले भेकभेकमा यस्तै गर्‍यो माओवादीले। मुक्तिनाथ सरलाई मारेर लमजुङ जिल्लामा पनि उसले यसै गर्‍यो।

भयको वातावरण आजसम्म छँदैछ जिल्लामा। संक्रमणकालीन न्यायको अभाव, शान्तिप्रक्रियाको कमजोरी तथा केन्द्रका बौद्धिकहरूको लाचारीले आजसम्म गाउँबासीको मुखमा पट्टी लागेको छ। कसले मार्‍यो मुक्तिनाथ सरलाई, सबैलाई थाहा छ तर कसैले किटानी जाहेरी दिन सक्ने अवस्था छैन, न त आगन्तुक पत्रकारलाई बताउने। बल्लबल्ल एउटा स्मृतिसभा गर्न सक्ने अवस्था जुरेको छ, समयचक्र घुम्दै जाँदा।

मुक्तिनाथ सरको हत्यापश्चात धेरै वर्षसम्म काठमाडौंको पद्मकन्या कलेजको एउटा सानो कोठामा स्मृतिसभा आयोजना गर्न मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान बाध्य रह्यो। नागरिक अगुवा र राजनीतिज्ञ बिरलै आउने त्यो कार्यक्रममा मुख्यतः आफन्त र विस्थापित गाउँबासीको उपस्थिति रहने गर्थ्यो। यसपाला दुराडाँडा गाउँकै पाणिनी संस्कृत माध्यमिक विद्यालयको प्रांगणमा समारोह आयोजना भयो, नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताको उपस्थितिमा। तर पनि सहभागिता पातलो नै रह्यो। भयको राज भएको गाउँबाट धेरै पलायन भइसके भने अझै पनि स्थानीय तवरमा भौतिक, सार्वजनिक, राजनीतिक हिंसाको डर छँदैछ। नत्र हिंसाविरुद्ध गरिएको त्यो स्मृति समारोहमा सयौंमात्र होइन, हजारौं उपस्थित हुने थिए। आउँदा वर्षहरूमा होलान् पनि।

पीडितका प्रतिक

नौ वर्षपपछि पहिलो पटक स्मृतिसभा गर्दैगर्दा मुक्तिनाथ सरको निकटतम सम्झनामा सबै स्तब्ध थिए। सार्वजनिक विलापको मौका पहिलो पटक जुरेको थियो। र, हिजैमात्र त्यो सभास्थलसामुन्ने रहेको कक्षाकोठाबाट उनलाई लगेको जस्तो स्थानीयबासीलाई लागेको थियो। मुक्तिनाथ सरका मित्र शिक्षक ठाकुरप्रसाद तिवारी माइकमा त गए तर भक्कानो फुट्यो र रुँदै ‘मनमा धेरै कुरा छ तर केही भन्न सकिनँ’ भन्दै लत्रक्क बसे बेन्चमा। उता मुक्तिनाथ सरकी श्रीमती इन्दिरा अधिकारी छेवैमा खास्टोले मुख छोप्दै, आँसु पुछ्दै थिइन्।

मुक्तिनाथ सरले २०५७ को दसैं पेस्कीको कुनै अंश स्थानीय माओवादीलाई दिन इन्कार गरेलगत्तै स्कुलका सबै शिक्षकले सामुहिक निर्णय गरेका थिए चन्दा नदिने। स्थानीय कमिसारलाई त्यो स्वतन्त्रताको संकेत सैह्य भएन, विशेषगरी ‘गोली किन्नलाई पैसा दिन्नँ’ भन्ने मुक्तिनाथ सरको भनाइ सुनेपछि। ‘उहाँलाई घिसार्दै हत्या गर्न लाग्दा पनि ‘चन्दा’ दिन राजी हुनुभएको भए उहाँ बच्ने सम्भावना थियो तर माओवादी ज्यादतीअगाडि उहाँ घुँडा टेक्न तयार हुनुभएन,’ स्मृतिसभामा अधिकारकर्मी सुशील प्याकुरेलले भने।

जनमानसको चासोका कारण मुक्तिनाथ अधिकारी लमजुङमात्र नभई देशभर हत्याका सिकार निर्दोषहरूको प्रतिक बनेका छन्। उनको मरणले लमजुङमै मारिने सामाजिक अगुवा तथा सर्वसाधारणको समेत प्रतिनिधित्व गर्छ। इशानेश्वर घर भएका केदार घिमिरेलाई मुक्तिनाथ सरको हत्याको ३ दिनपछि ६ माघ २०५८ मा मारियो। ११ असार २०५९ मा अर्जुनप्रसाद घिमिरेलाई घरबाट अपहरण गरी सुराकी र भ्रष्टाचारको आरोप लगाई आफ्नै स्कुल प्रांगणमा लगियो। दुवै खुट्टा र पैतालामा फलामे किला ठोकी हिँड्न भनियो, नसकेपछि गोली हानी हत्या गरियो। केदार घिमिरे तथा अर्जुनप्रसाद घिमिरेलाई मुक्तिनाथ सरकै हत्या गर्ने टोलीले सफाया गरेको देखिन्छ।

अन्यत्र, १५ माघ २०५८ मा जिताका स्वास्थ्य कार्यकर्ता चिनबहादुर थापालाई चरम यातना दिएर हत्या गरियो। मोहनसिंह घिमिरेलाई ९ असोज २०६१ मा हत्या गरियो भने केही दिन मात्र पछि नन्दजंग गुरुङलाई १५ असोजमा। १६ माघ २०६१ मा परेवाडाँडाका तिलकराज पाण्डे मारिए भने ६ असोज २०६१ मा उही गाउँका व्यापारी मोहनलाल श्रेष्ठलाई बन्दुकको गोली बचाउन भनी दाउराले पिटीपिटी मारे। मोहनलाल कुनै दल वा समूहको नपरेको हुनाले आजसम्म उहाँको मरणले परिवारजनबाहेक अरूलाई छोएको छैन।

नमारिएका तर यातना खेपेकाको संख्या कम छैन। २ साउन २०५४ मा जिताका शिक्षक श्रीकृष्ण घिमिरेको दुवै हात भाँचियो। १८ पुस २०५८ मा सप्तधारा मावि, जिताका शिक्षक ऋषिराम कोइरालालाई सुताएर जाँतोले थिची घनले ठोकेर छाडिदिए। शान्ति बोहरालाई दाउरा र ढुंगाले हानेर थिलथिलो पारेर छाडियो। धेरै यातना खपेकाहरूको मनस्थिति खलबलिएको छ।

टुहुरा समाज

आतंकपीडित टुहुरा समाज नामक संस्थाका सदस्यहरू दुःख साटासाट गर्न तथा आत्मबल लिन मुलुकका विभिन्न क्षेत्रबाट आएका थिए दुराडाँडा। मारिएकाका छोराछोरी जसले सम्झनाको दियो बालिरहेछन्। जाजरकोटमा १६ फागुन २०५३ मा मारिएका लक्ष्मीप्रसाद आचार्यका छोरा मुक्ति आचार्यले माइकमा, ‘हाम्रा अभिभावकले बन्दुक बोकेका थिएनन्, किन माओवादीद्वारा हत्या गरियो?’ कुरा यहीँ आएर अड्केको छ, कि माओवादीले युद्ध गर्नुपर्ने थियो राज्यसँग तर उसले बन्दुक नबोकेका स्थानीय राजनीतिक अथवा सामाजिक अगुवाइ गरेकालाई नै मार्ने रणनीति बनायो। व्यक्तिहत्याद्वारा गाउँमा प्रभाव जमाउने योजना थियो, सामाजिक क्रान्ति नभई सशस्त्र युद्धको।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले २२ साउन २०६३ मा बिबिसी नेपाली सेवाको प्रश्नोत्तरमा भनेका थिए : ‘इलिमिनेट’ गर्दा यातना नदिईकन मार्नू। काठमाडौंको शंकर होटलमा वरिष्ठतम सम्पादकहरूमाझ उनले भनेका छन्, ‘कन्चटमै गोली हान्ने आदेश थियो।’ उपाध्यक्ष बाबुराम भट्टराईले मुक्तिनाथको शवको तस्बिर समेटिएको एक प्रदर्शनीको आगन्तुक पुस्तिकामा लेखेका छन्, ‘हिंसाको चरित्र वर्गीय र राजनीतिक हुन्छ। त्यसलाई बिर्सेर नि-वर्गीय र गैर-राजनीतिक हिंसाको कुरा गर्न खोजियो भने त्यति वस्तुवादी हुँदैन।’ त्यो दिन आउनेछ जब भट्टराईको शब्द प्रयोगलाई टुहुराले सोध्नेछन्- मुक्तिनाथ सरको हत्या कसरी ‘वर्गीय’ अनि ‘राजनीतिक’ थियो?

गाउँठाउँमा स्थानीय हत्याको कुल मिलाएर माओवादीको ‘जनयुद्ध’ बन्न पुग्यो। एउटा दलले संसदीय व्यवस्थाको खिलाफ बन्दुक उठायो, आफ्नो उत्थानका लागि ‘सामाजिक न्याय’ को नारा दिँदै व्यक्तिहत्यातर्फ लाग्यो। युवालाई बन्दुक थमाउँदै युद्धमैदानबाहिर नै बर्बर हत्या गर्न सिकायो। मुलुकभरका युवा जमातलाई कतै जातियता, कतै वर्गसंघर्ष, त कतै उग्र-राष्ट्रवादका परस्पर विरोधी नाराद्वारा अझै पनि सल्काउँदैछ, प्रयोग गर्दैछ माओवादी पार्टी।

अनि कस्तो विडम्बना! काठमाडौंस्थित नागरिक समाजले सही र गलत छुट्याउन सकेन वा चाहेन। गाउँघरमा भएको हिंसाबारे एकरत्ति संवेदनशीलता देखाएन। माओवादीको ‘जनयुद्ध’ का बेला गरिबीले विद्रोह जन्माएको भन्ने अपर्याप्त तर्क गर्दादेखि आज अन्य दलहरू मिलेर माओवादीलाई एक्ल्याउँदैछन् भन्ने कमसल विचारसम्म सामाजिक जवाफदेहिताको अभाव महसुस हुन्छ। अनि; कस्तो आम जनताको नजरअन्दाज कि, सहमतिको सरकार बन्नुपर्छ भनेर ठोकुवा गर्ने पश्चिमा नियोगका परामर्शदाता हुन पुगेका राजनीतिशास्त्रीहरू माओवादीको शिविरमा तैनाथ लडाकु दस्ताको कुरै गर्न चाहेनन्।

सत्य निरुपण

जे हुने भइहाल्यो भन्दै विचार बिसाउने मनसाय धेरैको छ; नागरिक अगुवा र नेतालगायत। मुक्तिनाथ सरको हत्यारा जो खुलेआम हिँडिरहेका छन्, तिनले हर्ष लिने कुरा हो यो। सशस्त्र द्वन्द्वताका निर्दोष नागरिकमाथि विद्रोही र सुरक्षाफौजतर्फबाट भएको ज्यादतीविरुद्ध कारबाही नहुने हो भने मृतकको आत्माको अपहेलना हुनेछ। जीवित परिवारजनको घाउ आलो नै रहनेछ। प्रतिशोधको भावना जन्मनेछ। उता भोलिको ज्यादती गर्नेहरूलाई ढोका खुल्नेछ।

माओवादी नेतृत्वले सुन्दा धेरै राम्रा कुरा गरे पनि आफ्नो दलको सन्तुलन खलबलिएला भनेर सत्य निरुपण तथा मेलमिलाप आयोग खडा हुनदिने स्थिति देखिँदैन। तसर्थ सरकारी अनुसन्धान तथा अदालतीय कारबाहीको ढोका खुलै राख्नुपर्नेछ, राज्य र विद्रोही पक्षको ज्यादतीको सन्दर्भमा। अफसोस, हालैको सर्वोच्च अदालतको एक निर्णयले यो ढोका बन्द गर्न खोजेको भान हुन्छ।

नेपालमा दिगो शान्ति चाहने, हिंसारहित समाज चाहने जोकोहीले ‘आममाफी’ को एजेन्डा अस्वीकार गर्नुपर्छ। राज्य तथा माओवादी पक्षको ज्यादती-कर्तालाई अदालतको कठघरामा ल्याउने अभियान सशक्त पारिनुपर्छ। लमजुङकै कुरा गर्दा २०५६ सालमा माओवादी कार्यकर्ता एकराज विकलाई हत्या गर्ने र दुई सहयोगी बेपत्ता पार्ने सुरक्षाकर्मीको पहिचान र उनीविरुद्ध कारबाहीका लागि पनि ‘आममाफी’ अस्वीकार्य छ। यस्तै मैना सुनुवार, भैरवनाथ गण; बर्दिया, बाँदरमुडे; अर्जुन लामा, काजोल खातुन, उमा सिंह, दोरम्बा; जता जसले बर्बर कार्य गर्‍यो उसको न्यायिक पिछा छोड्नु हुँदैन।

आज आफ्नो र आफ्नाको बचाउमा हिँडेको माओवादी नेताहरूको अगुवाइमा बृहत् राजनीतिक जगत तथा नेपाली सेना पनि ‘तैं चुप मै चुप’ छन्। विडम्बना, यस्तो बेला मानवअधिकारकर्मीको आवाज मसिनो भएको छ। उता नागरिक अगुवा मानिनेले मुक्तिनाथ अधिकारी र उनको आत्माले प्रतिनिधित्व गर्ने माओवादी र राज्य हिंसाका सिकारमा परेकाहरूको नामै सुन्न चाहँदैनन्। व्यक्तिहत्याको शृंखलालाई बिर्सने हो भने, न्याय नखोज्ने हो भने आजको र भोलिको नेपाल सभ्य समाजको पंक्तिमा उभिन सक्दैन। दिगो शान्तिसट्टा यहाँ अनेकन नयाँ अतिवादले टेको पाइरहन्छ। यस्तो समाजमा राजनीति कहिल्यै स्थिर हुने छैन; विकासका काम र अर्थतन्त्र सधैं शिथिल रहनेछन्।

हिमालय साक्षी छ, मुक्तिनाथ अधिकारीको हत्या। र, हिमालय साक्षी रहनेछ; उनको सम्झना नगर्नु, उनको हत्यारालाई अदालतसामु ल्याउन जमर्को नगर्नु यथास्थितिवादको चरम अनुयायी बन्नु हो। जजसले मुक्तिनाथ सर बिर्सन्छन्, बिर्सन चाहन्छन्, उनै हुन् देश र जनताको उत्थान नचाहने नेता, अगुवा, बौद्धिक। हत्यारालाई माफी दिने अधिकार मात्र मुक्तिनाथ सरको परिवारमा निहित छ।

Gulfact बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *