२०७८ मंसिर २१ गते | 7th of December 2021

कठघरामा एनआरएन

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २६ गते ४:५३
  • बाल जोशी

हरेक मानिसलाई आफ्नो प्रशंसा सुन्न मन पर्छ। नवजात शिशु होस् या जीवनका अन्तिम दिन गन्दै बसेका वृद्ध – आलोचना र प्रशंसा बिच चुनाव गर्न दिने हो भने सबैको रोजाईमा प्रशंसा नै पर्छ। तर, अधिकासं समयमा मानिस के बिर्सन्छ भने प्रशंसाका लागी योग्य कार्य पनि गर्नु पर्छ। योग्य कार्यका लागि केही त्याग, केही तप केही सही नियत र केही दुरदृष्टि आवश्यक छ। आफूलाई केन्द्रमा राखेर गरिने कार्यहरू सामान्यतया समाजका लागि योग्य भैदिदैनन् र सुरुवात हुन्छ विवादको। सामजिक नेतृत्वले समाजलाई केन्द्रमा नराखी गरेका अधिकांश कार्यहरुलाई सरोकारवालाहरुले स्वीकार गर्न सक्दैनन् अनि सुरुवात हुन्छ सामाजिक कलह को। नेतृत्वले आफ्नो स्वार्थ परिपूर्तिका लागि सामाजिक स्वार्थ लाई ध्यान नदिदा सामाजिक संस्थाहरू प्रति सर्वसाधारणको रुचि दिन प्रतिदिन कम हुँदै जान्छ अनि एक दिन आफ्नो अस्तित्वका लागि संस्थाले सङ्घर्ष गर्नु पर्ने बाध्यता सृजना हुन्छ।

करिब करिब यही बाटोमा हिडेको छ हाम्रो एनआरएन। राम्रो काम गरे पछि स्वाभाविकरुपमा पब्लिकले स्वीकार्छ भन्ने सामान्य सिद्धान्तलाई जानेर पनि नजानेको झैँ गर्दै आफ्नै सुर र तालमा हिडे पछि त्यो बाटोमा ढुङ्गा -मुढा आइलाग्छन्। सामाजिक नेतृत्वको एक मात्र जिम्मेवारी हो – सारोकालवालाहरुलाई सेवा दिने। हाम्रो एनआरएनको सन्धर्बमा पनि त्यो लागु हुन्छ। तर यो सर्बमान्य बुझाइलाई नबुझेर आफ्नै बुझाइलाई सरोकारवालहरुमाथि थुपार्न खोज्यो भने प्रतिकार स्वभाबिक छ।

पछिल्ला केही दिनहरूमा सामाजिक सञ्जाल र सञ्चारमा हाम्रो एनआरएनको विषयमा छताछुल्ल विषयहरू पनि यही प्रतिकारका नमुना हुन्। दोष नेतृत्वको छ, मिडियाको होइन। मिडिया त समाजका यैना मात्र हुन्। समाजले देखेको र भोगेको र महसुस गरेको यथार्तलाई समाचारका रूपमा दुनियाका सामु पस्कने। हो- मिडियाको खोल ओढेर व्यक्तिगत प्रतिशोध लिनेहरुको पनि कुनै कमी छैन हाम्रो समाजमा। आफूले भनेको नभए पछि जसरि पनि नेतृत्वमा बसेकालाई बदनाम गराउन खोज्ने केही स्वघोषित पत्रकारहरुलाई समाजले नदेखेको हैन। तर सुन्दर पक्ष भने त्यो स्वार्थीहरुको झुण्ड अति नै सानो छ र उनीहरूलाई समाजले राम्ररी चिनेको पनि छ। अमेरिकाको नेपाली समुदायमा प्राय सबै ( केही अपवाद बाहेक) संचारकर्मीहरु इमान्दार छन् र उनीहरू आफूले बुझेको र जानेको जति नै सम्प्रेषण गर्दछन्।

संयोग पनि कस्तो? एनआरएन अमेरिकाको सञ्चार संयोजक मनोनीत भएको केही दिन भित्र मै संस्थाका केही निर्णय र एक पदाधिकारीले गरेका एकल निर्णयले हाल एक नयाँ विवाद सिर्जना गरेको छ। हाम्रो एनआरएनका एक आजिबन सदस्य, जो संचारकर्मी पनि हुन्, लाई उनको सदस्यता खारेजीका लागी पत्राचार भए पछि उत्पन्न विवादले नयाँ नेतृत्वबाट धेरै आस गरेकाहरुलाई चोट दिएको छ नै, विरोधका लागी विरोध गर्नेहरुलाई थप ‘मशाला’। एक संचारकर्मी नै सञ्चार संयोजक रहेको संस्था बाट अर्को संचारकर्मीलाई निष्कासन गर्ने भन्ने समाचारले मेरो अन्तर्मनमा पिडा दिएको छ। यधपी समाजमा भएका घटनाहरूको विवरण सत्य तथ्यरुपमा प्रकाशन प्रसारणको जिम्मेवारी बोकेका संचारकर्मीहरु पनि कुनै राजनीतिक र व्यक्तिगत पूर्वाग्रहबाट मुक्त्त भएर आफ्नो जिम्मेवारी पुरा गर्नु पर्छ भन्ने मेरो मान्यता छ र आफ्नो धर्म पुरा नगरेर कुनै अन्तर्निहित स्वार्थ र नियोजित तवरले संस्था वा व्यक्तिविशेषलाई बदनाम गराउनका लागी समाचार वा लेख प्रकाशन/प्रसारण गर्ने छुट कसैलाई पनि छैन। पत्रकार कुनै तेस्रो ग्रहका प्राणि होइनन् जसलाई जे गरे पनि उन्मुक्ति मिलोस। संचारकर्मी पनि समाजले निर्दिष्ट गरेका मूल्य मान्यता र प्रचलित कानुनको दायरामा रहनु पर्छ।

दुख लाग्दो पक्ष के हो भने हाल छताछुल्ल विवादको सृजना हिजो मात्र भएको होइन। यो त विगतका घटना परिघटनाहरुको एक शृंखला मात्र हो। विगतका केही वर्ष देखि समाजमा एक वा अनेक कारणले हाम्रा मनहरू फुट्ने क्रम जारी छ , र त्यही क्रमको निरन्तरताका रूप पछिल्लो विवाद हो। चुरो कुरो बेग्लै छ।

हाम्रो एनआरएनको यस अघिको कार्य समिति र वर्तमान कार्य समिति सँग सस्थागत वा व्यक्तिगत असन्तुष्टि भएकाहरुको एक समूहले सधैँ गलत देख्ने छ। अर्को समूह छ जसले संस्थाको नेतृत्वले जे गरे पनि ‘लोयल’ बन्ने नाममा सधैँ सही देख्ने छ। सौभाग्यले एउटा तेस्रो समूह पनि छ जो सही लाई सही र गलतलाई गलत भनेर बुझ्दछ र त्यसरी नै मूल्याङ्कन गर्दछ। संस्था वा पदाधिकारीले गलत गरेमा आँखामा ‘लोयल्टी’ को रङ्ग पोतेर गलतलाई नजरअन्दाज गर्दैन यो समूहले। राम्रो काम गरेमा प्रशंसाका लागि यो समूहले कन्जुस्याई समेत गर्दैन। हाम्रो समुदायको ठुलो हिस्सा यो समूहले ओगटेको छ जसलाई समाजको चिन्ता छ। विवेकको प्रयोग गर्ने, राम्रोलाई राम्रो भन्ने सक्ने हैसियत राख्ने र नराम्रोको आलोचना गर्न आँट राख्ने यो समूह नै समाजको असली पहरेदार हो। आलोचना पनि रचनात्मक हुन सक्छ भन्ने विश्वास गर्ने यो समूहले हाम्रो एनआरएनको वर्तमान कार्य समिति र यसको नेतृत्व बाट धेरै अपेक्षा गरेको छ। तर संस्थाका पछिल्ला केही निर्णय र पदाधिकारीका केही गतिविधि ले यो समूह दुखी हुनु स्वाभाविक हो।

समग्र अमेरिकन समुदायको हक हितका लागी स्थापित संस्था नै व्यक्तिगत दुश्मनी साध्ने ठाउँमा परिणत हुनु तपाईहाम्रा लागी सुखद होइन। हाम्रो एनआरएनको वर्तमान कार्यसमितिलाई पनि फुटेका मनहरुलाई एक मालामा सिउरिने गहन जिम्मेवारी छ। अपेक्षाहरुको पोको सँग सँगै अमेरिकन नेपाली समुदाय वर्तमान नेतृत्व प्रति धेर थोर शंसंकित पनि छ। विगतलाई हेरेर भविष्य आंकलन गर्ने हाम्रो बानीले संस्था बाट त्यति धेरै आस नगर्नु स्वभाबिक होला तर प्रण बोकेरलागेका हरुलाई कुनै ग्रहण नलागेका चस्माले भने हेर्न जरुरी छ। सार्वजनिक रूपमा अमेरिकन नेपाली समुदायको कठघरामा पुर्याइएको हाम्रो एनआरएनले यो अग्नी परीक्षामा सामेल भएर एक सक्षम नेतृत्वको अनुभूति दिलाउनु नै आजको एक मात्र माग र विकल्प हो। व्यक्तिगत लाभ र पूर्वाग्रहबाट माथि उठेर आफ्ना ‘लोयल हनुमान’हरुको भिडको मात्र कुरा नसुनी आलोचनाको स्वागत गर्दै संस्थागत विकासका लागी यदि एक जुट नहुने हो भने केही वर्षमा हाम्रो एनआरएनको पतन निश्चित छ।

त्यसैले आउनुहोस् – रङ्ग, रूपको सानो घेरा बाट मुक्त भएर सफा नजरले सबै विचारहरूको सम्मान गर्दै आफ्नो व्यक्तिगत तुषलाई बाहिर कतै ‘फ्लस’ गरेर हाम्रो एनआरएनलाई हिजो भन्दा आज र आज भन्दा भोलि मजबुत र सुन्दर बनाउन सबै हातेमालो गरौँ। दूधले धोएको याँहा कोही छैन। धेर थोर गुण दोष हामी सबैका छन्। आवश्यक छ त केवल गुण र दोषको सही हिसाब राख्ने। संस्थालाई मजबुत बनाउन पहिलो प्रयास नेतृत्वबाट नै हुनु पर्छ। काम भन्दा क्रेडिट धेरै खोज्ने मनोरोगबाटमुक्त भएर हाम्रो एनआरएन को वर्तमान नेतृत्वले आफ्ना हरेक निर्णयमा पारदर्शिता अपनाउनु पर्छ। अमेरिकन नेपाली समुदायको कठघरामा उत्तीर्ण हुनका लागी पुराना सबै तिक्तता बिर्सेर नयाँ अध्यायको सुरुवात नै आजको आवश्यकता हो।

सेतोपाटीकर्मी जोशी एनआरएन अमेरिकाका सञ्चार संयोजक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *