२०७८ असोज ५ गते | 21st of September 2021

ज्याला माग्दा प्रहरीकै गोलीबाट मारिए म्यादी प्रहरी

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ८ गते ३:०३

काठमाडौँ, ८ पुस । जिल्ला प्रहरी कार्यालय कालिकोटले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै शुक्रबार बिहान म्यादी प्रहरीलाई अबिर लगाएर बिदा गर्‍यो। बिहान हात मिलाएर खुसीसाथ बिदा भएका उनीहरू दिउँसो एकाएक प्रहरी कार्यालय फर्किए। तलब र भत्ता कम भएको गुनासो गर्न पुगेका उनीहरूको कुरा सुन्न कार्यालयले अटेर मात्रै गरेन, प्रहरीले अन्धाधुन्द लाठीचार्ज गरेर लखेट्ने प्रयास गर्‍यो। झडपक्रममा प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको मृत्यु नै भयो।

निर्वाचन सुरक्षाका लागि दुई महिनासम्म सँगै काम गरेका म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा सान्नीत्रिवेणी गाउँपालिकाका २१ वर्षीय विवेक ऐडीको ज्यान गएको हो। टाउकोमा गोली लागेका उनी जिल्ला प्रहरी कार्यालयको गेटमै ढलेका थिए। निर्वाचनमा खटिएबापतको भत्ता माग्न गएका ऐडी आफूलाई अबिर लगाएर बिदा गर्ने प्रहरीकै हातबाट मारिए। उनको ज्यान गएपछि सदरमुकाम मान्म तनावग्रस्त बनेको छ।

झडपमा अन्य दुई जना म्यादी प्रहरी घाइते भएका छन्। उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घटनापछि म्यादीले मान्ममा रहेका प्रहरीका दुईवटा बिट तोडफोड र आगजनी गरे भने प्रहरीले हवाईफायर र अ श्रुग्यास प्रहार गरेर तिनलाई धपाउने प्रयास गरेको थियो। कालिकोटका डीएसपी सुवासचन्द्र बोहोराले भने, ‘हामीले तलब–भत्ताको बारेमा सबै स्पष्ट पारेका थियौं। बिहान खुसी हुँदै अबिर लगाएर बिदा भएका हुन् तर दिउँसो एकाएक प्रहरी कार्यालय घेर्न आए, दुखद् घटना हुन पुग्यो।’

सरकारले तोकेको सबै रकम र सुविधा उपलब्ध गराएको उनको दाबी छ। तर म्यादी प्रहरीले भने जुम्लाको तुलनामा आफूहरूलाई कम भत्ता दिइएको गुनासो गरेका छन्। आफूहरूले पाउनेभन्दा कम रकम दिइएकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ।

अवस्था नियन्त्रणमा नआएपछि बाध्य भएर गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै म्यादी प्रहरीले शुक्रबार अबेरसम्म मान्ममा प्रदर्शन गरेका छन्। आफ्नो माग पूरा नभएसम्म र सहकर्मीको हत्या गर्ने प्रहरीलाई कारबाही नगरिएसम्म आन्दोलन जारी राख्ने उनीहरूले जनाएका छन्।

प्रहरीले ज्यादति गरेको भन्दै स्थानीय बासिन्दाले पनि कडा विरोध जनाएका छन्। उनीहरूले घटनाको छानबिन गर्न माग गरिरहेका छन्। म्यादी प्रहरीले भत्ता कम दिइएको गुनासो गरे पनि प्रहरीले तोकिएकै रकम दिइएको जनाएको छ। प्रहरीका अनुसार म्यादीले पाउनुपर्ने तलब, पोसाकभत्ता र रासन खर्च गरी ५८ हजार तीन सय रुपैयाँ उपलब्ध गराइएको छ। पहिलो किस्ता २३ हजार पहिले नै खातामा जम्मा भएको र दोस्रो किस्ताअन्तर्गत ३५ हजार तीन सय पनि खातामा जम्मा हुने प्रहरीको भनाइ छ।

जिल्ला प्रशासन कार्यालयले भने म्यादीले एकाएक ढुंगामुढा गरेपछि अवस्था तनावपूर्ण बनेको जनाएको छ। म्यादीको गोलीले नभई ढुंगाले लागेर मृत्यु भएको हुनसक्ने प्रशासनको दाबी छ। यद्यपि जिल्ला अस्पतालले पोस्टमार्टम गरेपछि मात्र यसको पुष्टि हुने जनाएको छ। प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले भने, ‘हामीले अबिर लगाएर उहाँहरूलाई बिदा गरेका हौं, तलब र भत्ताको बारेमा पनि उहाँहरू सन्तुष्ट भएर जानुभएको थियो। तर बिचमा निर्वाचन बिथोल्न खोज्नेहरूले उचालेको देखियो।

निर्वाचन नचाहनेहरूले नै म्यादीलाई भड्काएर द्वन्द्व सिर्जना गरेका हुन्।’ उनले अवस्थालाई सामान्य बनाउन स्थानीय दलहरूसँग परामर्श भइरहेको जानकारी दिए। म्यादीले जुम्लाको जति भत्ता पाउनुपर्ने माग गरिरहेका छन् तर कालिकोट प्रहरीले भने जुम्लाको तुलनामा कालिकोटको स्थानीय भत्ता कम भएकाले दिन नसकिएको जनाएको छ। ०००१० सहकर्मीलाई प्रहरीको गोली लागेपछि उपचारका लागि लैजाँदै म्यादी प्रहरी। आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर रहेको छ । व्यवस्था छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *