२०७९ असार १२ गते | 26th of June 2022

बिश्वेश्वरको राष्ट्रिय एकता र मेलमिलाप नीति, तोड्ने देउवा र रामचन्द्र नै

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १६ गते २०:३८

काठमाडौं। नेपालीमा उखान छ ‘बत्तीमुनी अँध्यारो।’ ठ्याक्कै त्यस्तै गरिरहेका छन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले। उनीहरु दुवै कांग्रेसका अभिभावक हुन्। तर व्यवहारमा कांग्रेसलाई डुबाउन र टुक्राउन उद्धत छन्। होइन भने कम्तीमा बीपी कोइरालाको एकता र मेलमिलाप दिवसको दिन त एकै ठाउँमा भेला भएर एकताको सन्देश दिन सकिने थियो नि। कांग्रेसले हरेक वर्ष झैं यो वर्ष पनि पुस १६ गते राष्ट्रिय एकता र मलेमिलाप नीति मनाउँदैछ। तर एकता गरेर हैन छुट्टाछुट्टै।

देउवा खेमाको राष्ट्रिय सभा गृहमा र पौडेल खेमाको त्रिचन्द्र क्याम्पसमा। मुस्किलले एक किलोमिटरको दूरीमा छुट्टाछुट्टै कार्यक्रम गरेर काँग्रेसी नेताहरुले दुनियाँ हँसाइरहेका छन्। कार्यकर्ता यताउता होलान् भन्ने चिन्ता हो वा संयोग हो समय भने एउटै पारिएको छ। दिनको ठीक १ः०० बजे पंडितकी छोरी पोइल जानु र काँग्रेसी नेताहरुको मति बिग्रिनु उस्तै हो । न छोरीले बाबुको ख्याल गरी न त देउवा–पौडेलले बीपीको ख्याल गरे।

‘परेका बेलामा बीपीको नीति चल्छ नपरेका बेलामा कांग्रेसमा नेता चल्छ।’ भन्ने भनाइ ०४६ सालदेखि चलिरहेको छ। बीपीकै नीतिको आड लागेर कम्युनिष्टहरु काँग्रेससंग जोडिएर आन्दोलन गर्छन्, राजनीतिक समाधान गर्छन् तर काँग्रेस नेताहरु छुट्टाछुट्टै भाषण गरेर एक अर्कालाई गाली गर्छन्।

यस्तो लाग्छ कि बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता नेताहरुले रोपेको कांग्रेसी रुखमा बसेर अहिलेका कांग्रेस नेताले हाँगा काटिरहेका छन्। अनि घाँससंगै दारपात प्रतिपक्षीलाई सुम्पिएका छन्। माउपार्टीको यो हालत भएपछि स्वभावतः भ्रातृ संगठनहरुले सिक्ने पनि त्यही हो। गुटबन्दीले जरो गाडेको नेविसंघमा शनिबार छुट्टाछुट्टै कार्यक्रम भए। अध्यक्ष नैनसिंह महर एउटा कार्यक्रममा अनि महामन्त्री कुन्दनराज काफ्ले अर्को पार्टीमा। यो नियति कहिलेसम्म ? एक जना पुराना कांग्रेसी नेता भन्छन्, ‘लोभ र मोह रहेसम्म कांग्रेस सुध्रिन्न।’

उनी अगाडि भन्छन्, ‘बाबुले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको नतिजाले काँग्रेस नेताहरु सुध्रिन्छन् भन्नुभएको होला ढुक्क हुनुस् सुध्रिनेवाला छैनन्।’ उनको भनाइमा जति बढी दम छ काँग्रेसी सक्रिय कार्यकर्तामा भने पीडा बल्झिँदो छ। आज त नेताहरु सुध्रिन्छन् र पार्टी एक हुन्छ भनेर परिकल्पना गर्नु आकाशका फलजस्तै भएको छ।

यसले कम्युनिष्टहरुलाई आनन्दित त पारेको छ नै विकासको गति ठप्प भएको छ। चिन्तन रोकिएको छ। विचार अधोगतितर्फ धकेलिएको छ। काँग्रेसले यति धेरै प्रजातन्त्र त अवश्य खोजेको हैन। जीवनको उत्तरार्धमा गणेशमान काँग्रेसकी नवनेताहरुबाट टाढिनु र कृष्णप्रसाद भट्टराईले वितृष्णा पोख्नु एक क्षणको आवेग पक्कै हैन। युवा नेताहरुले नयाँ सोच नल्याउने हो भने र अग्रतज नेताहरुकै पिछलग्गु भएर जाने हो भने काँग्रेसको अधोगति कसैले रोक्न सक्दैन।

-बाबु नेपाली – हाम्राकुरा