२०७८ जेठ ४ गते | 18th of May 2021

‘रिकुटे’हरू पार्टीकेन्द्रमा हर्ताकर्ता भएपछि…

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २२ गते १:३७

– राजेन्द्रप्रसाद पाठक

कुनै पनि फौजको गठनपछि त्यसलाई निरन्तर चलायमान गराइराख्नका लागि नयाँ भर्तीको जरुरत पर्दछ । फौजमा समेत भर्तीका प्रकृया प्रतिष्पर्धा र आन्तरिक दुवै प्रकारबाट हुने रहेछ । तर जसरी भर्ती भएका भए पनि दुबैको दर्जा चाहिँ अन्तमा एकै हुन्छ । त्यसो भए पनि पिपा वा भान्छेबाट सिपाही भएकाहरू हाकिमहरूसंग पूर्वपरिचित हुन्छन् । प्रतिष्पर्धाबाट गएकाहरू आन्तरिकबाट आएकाको तुलनामा अब्बल होलान् तर अलिक बोलवाला तिनै पिपा रिकुटे (रिक्रुट गरिएका)हरूकै रहने हुनाले अरु सिपाहीको फौजी अभ्यासमा कहीँ न कहीँ नैराश्यता आउनु स्वाभाविक नै होला । धेरै हाकिमहरूलाई भात–भान्छाको ब्यवस्था गरेका कारण उनीहरूको रुचि र प्रवृत्ति समेतमा परिचित हुने हुनाले हाकिम रिझाउने प्रशस्त भेउ पाएकाहरूसंग बिचरा नवसैन्यको के लागोस् !

यो उदाहरणलाई राजनीतिक पार्टी–सङ्गठनको सन्दर्भमा जोडेर हेरौँ । राजनीतिक दल र विभिन्न संगठनहरूमा समेत धेरै अघिदेखि भर्ती या नियुक्तिको उल्लेखित प्रवृत्ति देखापर्दै आएका छन् । अराष्ट्रिय तत्व तोकिएको बेला होस् वा भूमिगत जीवनशैली अपनाएको बेलामा आफन्तलाई भन्दा कार्यकर्तालाई आफ्नो ठान्ने र सम्पुर्ण कार्यभार उनीहरूमै थोपर्न पछि नपर्ने नेतृत्व एकाएक बहुदल घोषणा भएर पार्टी सत्तामा आइसकेपछि परिवार र आफन्तैभित्र खुम्चिन पुगेको इतिहास जनमानसमा ताजै छ । धेरैले सम्पत्ति, उमेर, जागीर, जीवनशैली, परिवार, रहर, उमेर, शिक्षा र सम्पत्ति आर्जनको कुनै मोह नराखी सबै चिज पार्टीलाई अर्पिएका थिए र त आज यो परिस्थिति श्रृजना हुन सकेको हो ।

जनता र कार्यकर्ताको चाहना नेता हुनेभन्दा देश र जनताको जीवनस्तर बदलियोस् भन्ने नै प्रमुख थियो । तर हालसम्मको अवस्थामा त्यो त सम्भव नै देखिएको छैन । गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा, रोजगारी जस्ता आधारभुत आवश्यकता राज्यले नै पूरा गर्न सक्ने राज्य ब्यावस्था स्थिापित होस् भन्ने थियो । यदि यसो हुन सकेको भए जनतामा कुनै पनि किसिमको गुनासो रहने थिएन । उल्टै आस्थाका आधारमा प्रताडना भोग्नुपर्ने बाध्यता समेत आमजनताले भोगेर यो स्थितिमा आउँदासमेत तिनै पिपा रिकुटेहरूको जी–हजुरी नगरेसम्म साधारण जनता र कार्यकर्तासम्मले धरै नपाउने अवस्थाको श्रृजना हुनुको जिम्मेवार को भन्ने प्रश्न खडा भएको छ ।

पार्टीको इतिहास कार्यकर्ताको मुल्य र योगदान नजानेका र जान्न समेत नचाहनेहरू नै नेताहरूको किचन क्याविनेटमा एकाएक रिक्रुट भए । अब यतिबेला आएर नेताहरूलाई पारिवारिक मोह जाग्यो र त यस्तो हर्कत देखापर्दै आएको छ । देशका अधिकांश पार्टीहरूमा विशेष गरी नेपाली कांग्रेस पार्टीमा यो रोग बढी नै सङ्क्रमित भएको देखिन्छ । आमजनता नेपाली काङ्ग्रेस जस्तो ऐतिहासिक पार्टीमा यसो नहोस् भन्ने चाहना राख्दथे, तर बिडम्वना सो पार्टी नै परिवार र नातावादी बन्न थाल्यो ।

०४६ सालयता अधिकांश समय सत्ताधारी दल बन्न सफल भएको यो पार्टीमा प्रजातन्त्र पुनस्र्थापना हुनुअघि यस पार्टीका संस्थापक सभापति बीपी कोइराला यस्तो अवस्था श्रृजना नहोस् भन्नका लागि अत्यन्तै सचेत हुनुहुन्थ्यो र त उहाँले आफ्नै भाइ गिरीजाप्रसादलाई सबै नेता र कार्यकर्ताका सामु हवल्दारको संज्ञा दिनुभएको होला भन्ने अनुमान सहजै गर्न सकिन्छ । किनकि, हवल्दार त्यस्तो पद हो यसले आदेशको पालना गर्न मात्र जान्दछ । तर आदेश दिनकै लागि भने यो पद सक्षम छैन भन्ने नै बीपीको आशय थियो होला । भलै समयले गिरिजाबाबुमा निकै नै निखार ल्यायो तर बीपीको जस्तो सम्पुर्ण निखार भने उनमा सम्भव भएन ।

सोही परिणतिस्वरुप आफू सत्ता र शक्तिमा आइसकेपछि किचन क्याविनेटको प्रमुखमा छोरी सुजाता रिक्रुट हुन जादा हुँदाखाँदाको जर्मनी जोष्ट परिवारसँगको वैवाहिक सम्बन्ध नै तोडेर जनता र कार्यकर्तामाथि सत्ता लाद्न सामेल भइन् । जन्मले उनको नाता गिरिजाबाबुसंग बलियो थियो तर कार्यकर्ताको महत्व, मुल्य जान्न र राजनैतिक संस्कार सिक्ने काम भने रत्तीभर हुन सकेन । कमाण्डरको भातभान्छा र नुन–तिहुन मिलाउन समेत उनले बिर्सीसकेको हुनु पर्दछ । तर त्यतिसम्म थाहा पाउन उनलाई समय पनि लागेन र केही गल्ती–कमजोरीसम्म भएमा क्षम्य हुनेसम्मको वातावरण मिलाउन भने उनी सक्षम नै भएको देखिन्छ । अब आयो जनता र कार्यकर्ता भनेका त उनका लागि रैतीभन्दा माथि रहन नसकेको तितो यथार्थको सर्वज्ञ उनकै पार्टीका कार्यकर्ताहरू छन् । तर काङ्ग्रेसको लागि सौभाग्य नै भनौँ त्यतिबेलासम्म नेपालमा संसारभरी चिनिएको प्रजातान्त्रिक पार्टीको रुपमा कांग्रेस मात्र भएका कारण जनता र कार्यकर्ताहरूले अर्को विकल्प रोज्न भ्याएका थिएनन् ।

पछिल्लो समयमा आएर गिरिजाबाबुको किचनको केही सहायक भूमिकामा सुशील कोइराला देखा परे । विकराल अवस्था श्रृजना हुनुअगावै उनी केही परिवर्तित भूमिकामा देखा परे । नेपालका बामपथीहरूकै भूमिकालाई आत्मसात गर्र्न पुगेका कारण ठुलै दुर्घटना भने हुन पाएन । उनलाई यतिसम्म सफल नै मान्न सकिन्छ ।

उनको देहान्तपश्चात हालका सभापतिको उदय भयो । त्यसबेलासम्म आम कार्यकर्तामाझ शेरबहादुर प्रशंसाका पात्र नै थिए । किनकि उनी कसैको विरासतबाट आएका नेता थिएनन् । जब उनी सत्ता र शक्तिधारी भए उही पुरानो रोग अझै क्रोनिक भएर बल्झीयो । उनै कमाण्डरलाई नुनतिहुन मिलाउनेबाट नै अन्य तेश्रो उपक्रमका नेतालगायत सम्पुर्ण कार्यकर्ता रैतीको स्तरबाट समेत तल ओर्लनु पर्यो । अब त यतिसम्म भयो कि रिक्रुटबाट आएका रिकुटेले देशमा श्रृजना र रिक्त भएको पद, पदावधिलगायत भान्छामा पाकेको भोजनको समेत हाटबजार लगाउन थालिन् । किनकि यत्रो इतिहास भएको पार्टीले नै उनका पूर्वजलाई धोखा दिएको थियो । उनले वर्तमानमा रहेर वंशले बदला लिएजस्तै बापबैरी साधना गरेजस्तो दृश्य सबैले देखेकै हुन् । सोही गतिविधिको प्रतिछायास्वरुप आजको यो परिणाम सिङ्गो कांग्रेस पार्टीले भोग्दैछ ।

देशको अधिकांश पार्टीका ‘छाया जर्नेल’ तिनै रिकुटे नै छन् । समयले यिनीहरूलाई पर्गेल्न त पर्गेल्ला तर त्यो समयसम्म बाँकी जनता र कार्यकर्ताहरूलाई पर्खन भने गाह्रो परिरहेको छ । यदि नेतृत्वले नसच्चिए सेना छोडेको जर्नेलजस्तै निरीह बन्नेमा दुईमत नहोला । यति मात्र नभएर दोश्रो दर्जाका नेतासम्ममा यो रोग सङ्क्रमण भैसकेका कारण केही सानोतिनो काम लिएर नेताकहाँ जानेहरूले समेत उनिहरूको ‘किचन’लाई रिझाउनुपर्ने अवस्था पैदा भएको भनी गुनासो गर्नेहरूको कमी छैन । लामो समयसम्म संघर्ष गरेर इतिहास बनाएका नेताहरूमा कमी–कमजोरी न्युन भएता पनि किचनप्रति नतमष्तक हुनु नै उनीहरूको अत्यन्तै ठुलो कमजोरी हो । यसबाट जोगिएर खरो उत्रन सक्नेहरू मात्र आगामी भविष्यमा समेत सवल र सफल ठहर्ने कुरामा दुइमत नहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *