२०७८ साउन १० गते | 25th of July 2021

नागरिक नभएको देश ?

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ ७ गते २३:४८

शैलेश श्रेष्ठ
न्युजर्सी, अमेरिका ।
नेपाल जस्तो हरेक किसिमले सम्भावनायुक्त देशले किन बिकाश, प्रगति र समृध्दी तर्फ न्युनतम फट्को मार्न सकेन? कहाँ चुके सत्ताधारी दलहरु र हामीले ठुला ठानेका र मानेका नेताहरु? कहाँ छन तिनको अकर्मन्यता र दण्डहिनताको बिरुध्द चुस्त दुरुस्त प्रतिकार र बिरोध गर्नु पर्ने स्थायी प्रतिपक्षी दायित्व भएका नागरिक समाज? यिनै राजनैतिक जस्ता लाग्ने सामाजिक यक्ष प्रश्नहरुले आफैलाई जबर्जस्त घेराबन्दी गर्दा अनि चिथोर्दा हिजोआज म चाँही हामी नागरिकहरुको जिम्मेवारी र दायित्वबोधको बारेमा आत्मबोध सहित गहन चिरफारमा घोत्लिने गर्दछु । कहीं हामीले सँधै औंला उठाउने गरेको अझ आक्रामक भएर गाली गर्ने गरेका ठुला दल र तिनै नेताहरु जस्तै हामी आम मानिस पो कहीं कतै साँचो अर्थको नागरिक हुन या बन्न चुक्यौं कि? त्यसरी सुक्ष्म बिबेचना गर्दा अनि हाम्रो भू-राजनीति केलाउँदा देशदेखि प्रवाससम्म म आम नागरिक भन्दा पनि राजनीतिबाज र दल या नेताहरुका पक्षपोषकको भिंडभाँड बढी देख्ने गर्दछु ।

हाम्रा अधिकांश मानिसहरुसंग एउटा बिबेकी अनि असल नागरिकसंग हुनुपर्ने ब्रम्ह अनि चेतना समेत छैन । हामी आफ्नो आँखाले केहि हेर्नै नसक्ने अनि नजान्ने भएका छौं किनकी हामीलाई स्कुल पढ्दादेखिनै जबरजस्ती लगाई दिएका ती राजनैतिक बैचारिक चस्माहरु छन् त्यो राजनैतिक चस्माले सत्य-तथ्य अनि यथार्थ देख्दैन अनि राजनैतिक लाभको आकाशे लोभ र लालचमा स्कुल कलेज पढ्दै लगाएका ती राजनैतिक चस्माहरु प्रवासमा दशकौं बस्दा पनि फाल्न अथवा फेर्न तयार छैनौं । न्युयोर्कको ज्याक्सन हाईट्स बस्दा पनि त्यो राजनैतिक दोषी चस्माले यताको राजनीति, घरगृहस्थ, दैनन्दिनी, समुन्नत जिविकाहरुको अथाह सम्भावना कहीं, कतै अनि केहि देख्दैनौं बरु त्यो चस्माले नेपालको बैतडी र कैलालीको राजनीति देख्छ अनि ज्यान टेक्सासको ड्याल्लस भए पनि राजनैतिक महत्वाकाँक्षी मन झापा ईलाम अथवा झापा पुग्छ । हामीलाई दास बनाउन उनीहरु हरेक अर्थमा सफल भएका छन तर हामी चाँही घर परिवारको मानो काटेर तिनकै पक्षपोषण अनि जयजयकार निरन्तर गरिरहेका छौं ।

नेपालमा ढुंगामुढा, आगजनी र बाधा व्यवधानको अराजक राजनीति धेरै लामो काल चल्यो । बीस तीस बर्ष अघि त्यस्तो शैली र प्रारुपको बिरोधहरु आवश्यक पनि थिए होलान तर अबको युगमा त्यसको उपादयता आवश्यकता मृत प्राय भएको अवस्था छ । अबको नागरिक आन्दोलन अथवा एडभोकेसीको शैली र प्रारुप बदल्नै पर्छ । आफुसंग भएको अलिकति पूर्वाधारलाई भत्काए अनि जलाएर प्रदेश राजधानी माग गर्ने ढुंगेयुगीन उद्दण्ड राजनीतिलाई अहिलेको शभ्य समाजले स्वीकार्न सक्दैन । हामी दृश्यसंगै संसारलाई लज्जा पनि बाँडीरहेका छौं ।

डा. गोबिन्द के.सी. ले एक्लै गर्ने गरेको गान्धीबादी सत्याग्रहले मात्र अबको यो जर्जर दण्डहिनताको क्रमिक अन्त्य गर्न निक्कै कठिन छ । सडकको आवाज र अभिमतलाई अब बिधेयकहरु मार्फत सुचिकृत र पुँजीकृत गर्न अब कत्ति पनि ढिला गर्नु हुन्न । ठुला पार्टीहरुलाई बहुराष्ट्रिय निगम र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थानहरुले आवश्यक चारो हाल्दै संचालन गर्नु अनि जनसरोकारका शिक्षा र स्वास्थ्य जस्ता बिषयहरुमा ठुला पार्टी र तिनको नेताहरुको लगानी, सामिप्य र राजनैतिक लब्बी हुनु कुनै पनि हिसाबले शुभ-संकेतहरु होइनन । जनताको निस्वार्थ सेवा गर्नु पर्ने नेताहरु स्वास्थ्य प्रतिष्ठानहरुको लगानीकर्ता बन्ने गरेको वर्तमान यथार्थलाई अबको व्यबस्थापिका, कार्यपालिका र न्यायपालिकाले कुनै पनि बहानामा उन्मुक्ति दिनु हुन्न । अबको राज्य ब्यबस्थामा यस्ता बिषयहरुलाई निरुपण गर्न नयाँ बिधेयक ल्याउन नागरिक र अधिकारकर्मी संस्थाहरुले पहल मात्र होइन अगुवाई गर्न जरुरी छ । 

संसारभरको राजनीतिमा देखिएको एउटा सत्य के हो भने वर्तमानमा रमाएको यथास्थितिबादी संस्थापन कुनै पनि खाले परिवर्तनको नेतृत्वको लागि तयार हुँदैन त्यसकारण त्यस्ता मुद्दाहरुको नेतृत्व जिम्मेवार प्रतिपक्ष, नागरिक समाज र अधिकारकर्मी संस्थाहरुले लिनै पर्छ । म यो मेरो मातृभूमीको अहम सवाललाई प्रवासबाट बनिबनाउ मनगढन्ते झटारो हानी रहेको छैन । मैले आफु एक जना सामाजिक अधिकारकर्मी भएको हैसियतमा “पेड सिक डेज” बिधेयक भनेर जानिने सेवा प्रवाह गर्ने ब्यबसायमा काम गर्ने कामदार कर्मचारीहरुलाई दिईने बिरामी बिदा सम्बधि प्रस्तावित बिधेयकमा काम गरेको पुरानो अनुभबका आधारमा यो समसामयिक विचार सम्प्रेषण गरिरहेको छु । करिब चार बर्ष केहि महिनाको अनवरत विधिसम्मत लडाईपछि सन २०१४ को अप्रिल एकमा त्यो विधेयकले न्युयोर्क सहरको कानुनको मान्यता पायो जसको माध्यमबाट आज लाखौं लाख कामदारले हरेक बर्ष दस दिन बिरामी बिदा पाउने गरेका छन ।

त्यसै गरि अहिले हामी न्युयोर्क सिटी काउन्सिलमा चांडै पेस गरिने आई भोटिंग क्याम्पेनको नामले जानिने (गैर नागरिकहरुले पनि सहर भित्र हुने निर्वाचनमा मत दिन पाउने अधिकार सहितको बिधेयक) मा काम गरिरहेका छौं । यसरी बिधेयकहरुको माध्यमबाट आफ्ना अधिकारहरु सुरक्षित गर्न र ब्याप्त चरम दण्डहिनता रोक्न नागरिकहरुका सामाजिक संगठनहरुले अगुवाई गर्न जरुरी छ । समुन्नत अनि बिकशित राष्ट्र अनि राज्यमा नागरिकहरुले त्यस्ता अहम दायित्व निर्वाह गरिरहेका हुन्छन । तर हामी आफा बढी दलगत राजनैतिक हुनाको कारण त्यो पिडा खपिरहेका छौं, त्यहि पिडाले पोलेर प्रवासको जीवन र बाटो रोज्यौं तर पनि त्यो राजनैतिक दोषी चस्मा फुत्त फाली हाल्ने आँट गरेनौं किनकी हामी र राम्रा मान्छेहरुलाई त्यस्तो दासतामा बाँच्ने बानी परिसकेको छ ।
अबको पहिलो आवश्यकता भनेको नेता, नेतृत्व र पार्टीहरुलाई आर्थिक अनुसाशनमा बाध्ने बृहत अनि गैर राजनैतिक चरित्रको नागरिक अभियान नै हो जसलाई बिस्तारै अबको नयाँ सदन मार्फत कानुनी रुप दिनै पर्छ त्यति गर्न सके अहिले देशदोहन गरेर बसेका ७० प्रतिशत तथाकथित “ठुला माछाहरु” लाई कानुनको घेरामा ल्याउन सकिन्छ । भ्रष्टाचार मुलुकको महामारी भएको हामीमा चेतना र जानकारी हुँदाहुँदै पनि त्यसतर्फ संगठित भएर काम गर्न सकेका छैनौं । पार्टीगत बैचारिक मायाजालमा फसेर हामीमा एकखाले रतन्धो जस्तो रोग लागेको छ । जे हो त्यो छर्लङ्ग देख्छौं तर सत्य बोल्न सक्दैनौं किनकी हामी पार्टी बिशेषका कार्यकर्ता हौँ र भयौं तर सचेत, स्वतन्त्र अनि स्वाधीन नागरिक कहिल्यै भएनौं ।

पार्टीको तावेदारी गरे बापत देश दोहन गर्न पाईने मेरो देश नेपालमा बसेर पार्टीका आसेपासे भिजिलान्तेहरुले त्यसो गर्नुको राज, अन्तर्य र अभिष्ट बुझ्न कत्ति पनि कठिन छैन तर हाम्रा मान्छेहरु प्रवासमा दशकौं बसेर पनि पार्टी बिशेषको कारिन्दा र दास बनिरहेका छन् अनि तिनीहरुको त्यो भ्रष्ट आचरण र शैलीलाई मन्च, आशन र भाषण मार्फत सार्वजनिक अनुमोदन गरिरहेका छन् ।
आफुले पाएको सरकारी गाडी सुबिधा ड्राईभरलाई आफ्नो पदीय प्रभाब र दवाबमा पारेर आफ्नी श्रीमतिलाई अफिससम्म ड्रप गर्ने गराएको अभियोगमा जेल बसेर न्युयोर्क सहरका कम्पट्रोलर आलान हभासी अघिल्लो बर्ष मात्र जेल मुक्त भएको अनि आफ्नो प्रभाब र राजनीतिक शक्तिको आडमा आफ्ना छोरालाई ठेक्कापट्टा दिलाएको अभियोगमा न्युयोर्क राज्यको माथिल्लो सदन सिनेटको शक्तिशाली मेजोरिटी लिडरको गर्विलो पद र राजनैतिक प्रतिष्ठा गुमाएका डिन स्केलोसको समाचार पढ्न पाईने काननी राज्य भएको देशमा बसेर हाम्रा नेताहरु साँढे-जुधाई, भाले-जुधाईको समुद्घाटन गर्न अनि सपथ लिन हेलिकोप्टरमा सवार भएको दृश्य सहितको समाचार पढ्दा म चकित हुन्छु । सामाजिक न्याय र न्यायिक पध्दतीमा हामी कुन युगमा छौं?

अबको नागरिक अभियान भनेको “लेजिसलेटिभ एड्भोकेसी” हुनुपर्छ जसको परिबेगले भष्टाचार नियन्त्रण गर्ने र राष्ट्रसेवक कर्मचारी तथा नेताहरुलाई नियन्त्रणमा ल्याउने युगसापेक्ष अन्तर्राष्ट्रिय मापदण्डको भ्रष्टाचार नियन्त्रण बिधेयक र आर्थिक अनुसाशन बिधेयक ल्याउनै पर्छ । जसको माध्यमबाट नागरिकहरुको करबाट संकलित राष्ट्रको ढुकुटी आफ्ना आसेपासे पार्टी कार्यकर्ताहरुलाई बाड्ने प्रधानमन्त्री तथा मन्त्रीहरुलाई कानुनको घेरामा ल्याउन सकिन्छ । देखिने युग अथवा सुचना र संचारको कारण अहिले भ्रष्टाचार बिरुध्दको नागरिक आन्दोलन संसारभरनै सशक्त भएर अघि बढेको छ अब फलाम तातेको बेला एकठ्ठा भएर आकार दिनै पर्छ । अब आम नागरिकहरुले भ्रष्ट नेताहरुको कठपुतली अथवा तिनको अकर्मन्यताको पक्षपोषण गर्ने भिजिलान्ते बन्न अस्विकार गर्नै पर्छ । हामी सजिलो गरि जिम्मेदारीहरु अरुहरुको भागमा जबरजस्ती हाली दिएर आफु चाँही चोखो बन्छौं तर पार्टी र भ्रष्ट नेताहरुको दास बन्न कस्सिने तर युगसापेक्ष असल सचेत अनि स्वाधीन नागरिक चाँही बन्न तयार नहुने हामी आफै पनि कम जिम्मेदार छैनौं ।

(शैलेश श्रेष्ठ अमेरिकाबाट निर्माण अनि प्रशारण हुने कार्यक्रम सम्प्रेषणका प्रस्तोता तथा निर्माता र स्वतन्त्र लेखक हुन।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *