२०७८ साउन १४ गते | 29th of July 2021

नेविसंघ अमेरिकाको स्थापनाको कथा र चुनौती

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ८ गते १७:०७

महेन्द्र बहादुर शाह
सभापति, नेविसंघ अमेरिका

विश्वमा जति पनि राजनीतिक परिवर्तन भएका छन्,ती सबै परिवर्तनको आन्दोलनमा युवाहरुको सहभागिता नै निर्णायक बन्दै आएको छ । चाहे त्यो फ्रान्सेली क्रान्ति होस् वा सन् २०१० मा प्रारम्भ भएको अरब स्प्रिंग या अन्य परिवर्तनका आन्दोलन हुन्, हरेक व्यवस्थाको परिवर्तनको निकासले त्यतिखेर मात्र सार्थकता पाउँछ जतिखेर युवा समूह सुझबुझका साथ परिवर्तनका लागि होमिन्छन् । नेपाल पनि यस्तै रुझानबाट मुक्त भएर भिन्न प्रवृत्तिको राष्ट्रको पहिचान दिन सक्दैन । कठीन समय र विषम परिस्थितिमा तीस वर्ष मुनिका युवा पुस्ताले आफुहरुलाई अग्रणी मोर्चामा अभ्याई नेपालको शासन व्यवस्था परिवर्तन गर्छु भन्ने अठोट लिई राणा शासन विरुद्ध विगुल फुक्नु आफैंमा धेरै ठूलो चुनौती थियो ।

त्यही अठोट र अदम्य सहास नेपाली कांग्रेसका ऐतिहासिक व्यक्तित्वहरु विश्वेश्वरप्रसाद कोइराला,गणेशमान सिंह,कृष्णप्रसाद भट्टराईलगायत युवाहरुले नबोकेको भए शायद २००७ सालको जनक्रान्तिको इतिहास किताबको पानामा अहिलेका युवाहरुले पढ्न पाउने सौभाग्य प्राप्त गर्ने थिएनन् । त्यसैले युवाहरुले दिएको गौरवशाली उदाहरण अहिलेको पुस्ताले प्रेरणाको रुपमा ग्रहण गर्न जरुरी छ । इतिहासको गहन विश्लेषण र अध्ययन गर्दै गतिलो वर्तमान बनाउदै सुनिश्चित भविश्यको परिकल्पना गर्नु अहिलेको युवा पुस्ताको दायित्व हुनुपर्छ। विदेशको भूमिमा रही जनक्रान्तिको विगुल फुक्नु अनि सफल पार्नुले एउटा अद्वितीय उदाहरण र सहास कांग्रेसका तत्कालीन नेताहरुमा देखिन्थ्यो । अझ भन्ने हो भने भारतको मुक्तिको आन्दोलनमा कलिलो उमेरमा समाहित भै परिपक्व राजनीतिज्ञको आभाष वीपी कोइराला लगायतका नेताहरुले दिएका थिए ।

किनभने उहाँहरुलाई राम्रोसंग थाहा थियो कि छिमेकी मुलुकमा भएको राजनीतिक घटनाक्रमले नजिकको मुलुकमा त्यसको प्रत्यक्ष असर पर्दछ । तत्कालीन विश्व राजनीतिमा भैरहेको स्वतन्त्रताको आन्दोलन,दोश्रो विश्वयुद्धको समाप्तीसंगै द्रूत गतिमा विश्वभरि फैलिएको थियो । त्यही रुझानलाई कलिलो मानसिकताले गहिरो विश्लेषणसहित नेपालमा पनि १०४ वर्षदेखि जकडिएर बसेको जहाँनिया राणा शासनको विरुद्ध कदम चाल्न सकिन्छ भनेर प्रेरणा लिनु आफैंमा गहन विषय थियो ।

विदेशी भूमिको लागि नि:स्वार्थ भावनाले स्वतन्त्रताको लागि लडाईंको मैदानमा होमिनुले अन्तर्राष्ट्रिय राजनीतिको रुझानलाई सजिलै बुझेको देखिन्छ । त्यही कुरालाई मध्यनजर गर्दै नेपाली कांग्रेसले आफ्नो संगठन विस्तारको अभियानस्वरुप विश्वका अन्य मुलुकमा पनि आफ्नो संगठन र भातृ संस्थाहरु विस्तार गरेको छ । विश्व राजनीतिक मन्चमा भएका घटना र विकासक्रमको ताजा जानकारी र अनुभव संगाल्दै नेपालको विकासमा टेवा पुर्याउने उद्देश्यले १३ जुन १९७६ मा भारतको मुम्बईमा नेपाली जनसम्पर्क समिति गठन गरी वीपी कोइरालाले अन्तर्राष्ट्रिय जगतमा संगठन विस्तारको अभियानलाई तीव्र बनाउनु भएको थियो ।

त्यो अभियान अन्तर्गत आज विश्वका महत्वपूर्ण मुलुकमा नेपाली जनसम्पर्क समितिलगायत अन्य भातृ संगठन विस्तार भएका छन् र अझ निरन्तरता पाइरहेको छ ।

नेपाल विद्यार्थी संघको अन्तर्राष्ट्रिय शाखा विस्तार :

नेपाल विद्यार्थी संघको बारेमा विदेशमा यसको आवश्यकता र अनिवार्यताको विषयमा विभिन्न समयमा बहस भएको पाइन्छ । सान्दर्भिकताको विषयमा पनि मतभिन्नता प्रकट हुने गरेको पाइन्छ ।

अहिले विश्वमा युवाहरुको युग उदाइरहेको भनेर चौतर्फी उदाहरण पेश गरिरहेको बेला हामीले विदेशमा नेविसंघको गठन र यसको औचित्य विषयमा चर्चा गर्नु आवश्यक छ । सन् २०१४ मा नरेन्द्र मोदी भारतको प्रधानमन्त्री निर्वाचित भैसकेपछि विश्व यात्रामा निस्कदा हरेक मुलुकमा आफ्नो सम्बोधन गर्दा उनले आफ्नो देशमा भएका युवाहरुको घनत्व,तागत फर्माइस गर्दै अबको केही वर्षमा भारत विश्वको शक्तिशाली राष्ट्रको सूचीमा उभिन्छ भन्दै गौरब प्रस्तुत गरिरहेका छन् । भारतमा विश्वको सबैभन्दा बढी जनसंख्या युवाको छ ।

३५६ मिलियन युवाहरुको देश भारत, २६९ मिलियन युवाहरुको जनघनत्व भएको देश चीन,६७ मिलियन जनघनत्व भएको देश इण्डोनेशिया,६५ मिलियन युवाहरुको देश अमेरिका र ४८ मिलियन युवाहरुको देश बंगलादेशको अवस्था हेर्ने हो भने विश्वमा एकपछि अर्को प्रगति गर्दै अग्रगतिमा बढिरहेको तथ्य हेर्दा लोभलाग्दो देखिन्छ । जुन देशमा युवाहरुको बाहुल्यता बढी हुन्छ र राष्ट्रले युवामाथि लगानी गरेको अवस्थामा त्यो देशले विकासको नेप्से बढाउँदै लागेको तथ्य छ । आज विश्व बजारको दुनियाँमा सफ्टवेयर निर्माणको बजार हेर्ने हो भने भारतको जनशक्ति व्यापक मात्रामा पाइन्छ । त्यसैगरी बंगलादेशको युवा जनशक्तिको घनत्व विभिन्न मुलुकमा दक्ष जनशक्तिको रुपमा रोजगारमार्फत आफ्नो देशमा विप्रेषण (रेमिट्यान्स) मार्फत देशको अर्थतन्त्रमा टेवा पुर्याईरहेका छन् ।

त्यसैगरी युवा जनशक्तिको सदुपयोगले बंगलादेशका युवाहरु उत्पादनमूलक कार्यमा संलग्न भएकाले बंगलादेशमा उत्पादन हुने गार्मेन्ट विश्वबजारमा सबैभन्दा गुणस्तरीय भनेर बुझिन्छ । त्यस्तै अन्य विकसित मुलुकमा युवाहरुलाई त्यहाँको राज्यले अवसर प्रदान गरी राष्ट्र निर्माणमा अग्रसर गराइन्छ । नेपालको संविधान निर्माण पश्चात संघीय गणतन्त्र नेपालका युवाहरुलाई राज्यको संरचना अनुसार युवाको सुनौलो भविश्य सुनिश्चित गर्दै अग्रगामी विकासतर्फ केन्द्रीत गराउने राज्यको प्रधान दायित्व हुनुपर्छ ।

दैनिक १५ सय युवाहरुको संख्या आफ्नो र परिवारको सुख,सम्मृद्धिको निम्ति भन्दै खाडी मुलुकमा ४५/५० डिग्री सेन्टिग्रेड तापक्रममा पसिना र रगत चुहाउन बाध्य छन् । उच्च शिक्षामा विद्यार्थीहरुले पाउनुपर्ने विश्व बजार अनुकूलको शिक्षाको गुणस्तरको अनुभूति नगर्दा वर्षेनी हजारौंको संख्यामा युवाहरु विदेश पलायन भएका छन् । नेपालको अस्थिर राजनीति र सबै निकायहरुको अनुचित व्यवस्थापन हावी हुँदै हरेक निकायमा नकारात्मक दम्भले बास गरेको छ । परिणामत: युवाहरु जो देशको कर्णाधार हुन्, जुन जमात अहिलेदेखि नै सच्चिनुपर्ने र देश तथा जनताप्रति उत्तरदायी बन्नुपर्ने हो त्यो जमात पनि आफूभित्र दम्भको बास गर्दै आफ्नो भविश्यको बाटो तय गरिरहेको छ । यस्तो राजनीतिक मनोविज्ञान र संस्कार बोकेर हिंड्ने परिपाटी हाबी हुँदै गयो भने भविश्यको नेपालको मुहार कस्तो हुन्छ भन्ने कुराको प्रतिबिम्ब बुझ्न शायद कठीन नहोला ।

राजनीति,उद्योग,शिक्षा,रोजगारी,पेशागत समूह वा अन्य कुनै क्षेत्रमा होस्,जताततै दम्भको मनोविज्ञानले विक्षिप्त बनाएको देखिन्छ । त्यसैले समयमै अहिलेको सचेत युवा जमातले वर्तमान राजनीतिको रोडम्याप तयार पार्दै नेतृत्व लिने अभ्यासमा जुट्नुपर्ने बेला आएको छ भन्दा अत्युक्ति नहोला । अमेरिकामा नेविसंघको शाखा विस्तार र दायित्व शिक्षा,स्वास्थ्य,राजनीति,व्यवसायलगायत सम्पूर्ण क्षेत्रमा शुद्धीकरण अभियानसहित विचार र चेतनाको दमले बास हुने वातावरणको नेतृत्व युवा पंक्तिले गर्नुपर्छ भन्ने हेतुले नै नेविसंघले देश अनि विदेशमा संगठन सुदृढीकरण एवं विस्तार अभियानको कडी हो अमेरिकामा पनि नेविसंघको गठन अनि विस्तार । अमेरिका विकासको आरम्भ भएको समयलाई मध्यनजर र अध्ययन गर्दै युवा हुनुको नाताले अझ बढी सकारात्मक विकासको कडीमा बढीभन्दा बढी युवाहरुलाई जोड्नुपर्ने दायित्व आत्मसाथ गर्नुपर्ने भएकोले यहाँको नेविसंघ शाखाले आफ्नो संगठन विस्तार एवं रचनात्मक कार्यक्रमहरु प्रस्तुत गर्दै सांगठनिक अभियान प्रारम्भ गरेको छ ।

अन्य मुलुकमा पनि नेविसंघ शाखाको स्थापनापश्चात विधि र विधानभित्र रही गरिने सम्पूर्ण गतिविधिहरु संचालन गर्दै आएका छन् । विदेशमा रही नेपाली समाजलाई अझ नजिक बनाउने,यहाँको विकासको अवधारणा ग्रहण गर्नेतर्फ प्रेरित गर्ने नेविसंघको दायित्व बनेको छ । विश्व बजारको विकासको प्रभावको लेखाजोखाको अध्ययन,यहाँको शिक्षा प्रणालीको विकास र यसको सान्दर्भिकताको गहिरो अध्ययन गर्दै स्वदेशमा पुर्याउने योगदान बारे अझ बढी सजग र सचेत बनाउने अभियानको नेतृत्व नेविसंघ अमेरिका शाखाले लिएको छ । यहाँको औद्योगिक विकासको अवधारणा सिक्दै,स्वदेशमा यसको तौरतरिकालाई कसरी भित्र्याउन सकिन्छ भन्नेतर्फा युवाहरुलाई एकमत बनाउने भन्ने दिशातर्फ उन्मुख गराउने अभियानको नेतृत्व नेविसंघले लिएको छ ।

यहाँको स्वास्थ्य अवस्था र विधिको मोडलको सिको गर्दै आफ्नो देशमा अधिकतम योगदान कसरी गर्ने भन्ने विषयमा चिन्ता,चासो र अध्ययन गर्दै प्रयोगमा ल्याउने र दिशाबोध गर्ने योगदानको नेतृत्व नेविसंघले लिने हो । यहाँको सम्मृद्धि,सभ्यता र सकारात्मक चिन्तनलाई स्वदेशमा भित्र्याउने अभियान नेविसंघले लिनेछ । अमेरिकाको राजानीतिक चिन्तन र सिकाइको स्तर विश्वको अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वराजनीतिक वृत्तमा अन्य मुलकले उदाहरणको रुपमा ग्रहण गर्ने गर्दछन् ।

त्यसैले यहाँको सकारात्मक राजनीतिक प्रभाव र चिन्तन ग्रहण गर्दै नेविसंघले यो संस्कार स्वदेशमा भित्र्याउने अभियानको नेतृत्व लिएको छ । यहाँका युवाले सिक्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना गर्दै राष्ट्र निर्माणको अभियानमा जोड्ने संकल्प नेविसंघले लिएको छ । बजारमा बढ्दो विकासको मापन र प्रतिष्पर्धात्मक आयामलाई राष्ट्र निर्माणको अभियानमा युवा र नेपाली समाजमा जोड्ने दायित्व नेविसंघले लिनुपर्छ भन्ने हो ।

हरेक संगठनका आ आफ्नै उद्देश्य,काम,कर्तव्य र अधिकार हुन्छन् र सबैलाई एउटै डालोमा परिस्कृत गर्ने संस्कारबाट हामी मुक्त हुनुपर्छ । सकारात्मक चिन्तन र प्रतिफल दिने विचारको नेतृत्व गर्ने संगठन नेविसंघ हो भन्ने कुरा विभिन्न कालखण्डमा भएको राजनीतिक परिवर्तनले दर्शाएको छ । नेविसंघ अमेरिकामा यहाँको वैज्ञानिकतासंगै प्राविधिक सुविधाहरु र रचनात्मक पक्षलाई नेपालमा कम्तीमा पनि तालिमकै आधारमा कसरी लैजान सकिन्छ भन्ने कुरामा केन्द्रीत छ । त्यसको निम्ति हामीले यहाँ विदेशमा आएका सबै विद्यार्थी वा युवापुस्तालाई सहायता कक्ष मार्फत वा हरेक कलेज,युनिभर्सिटीमा रहेका नेपाली कम्युनिटी क्लबहरुलाई एकताबद्ध रुपमा संगठित बनाई हाम्रो समाजलाई सकारात्मक दिशाबोध दिन र सभ्य समाजको परिकल्पनालाई साकार पर्न नेविसंघको औचित्य प्रवासमा हो ।

त्यस्तै रोजगारी,कानुनी मुद्दाहरु,नेपालको जनशक्तिको कमी,नेपालको सामुदायिक विद्यालयको अवस्था जस्ता प्राविधिक पक्षलाई कसरी व्यवसायिक तवरबाट कम्तीमा पनि तालिम शिक्षा दिने भन्ने बारे वैज्ञानिक ढंगले सुदृढ बनाउदै सारमा विदेशमा बस्ने नेपाली जगतले भोग्नु परेको वास्तविकता र समस्याको निदान लगायत विश्व भूमण्डलीकरणका आयामहरुको पक्षमा सकारात्मक चिन्तनको विकास गराउनु नेविसंघ अमेरिका शाखाको दायित्व बन्न पुगेको छ । सन् २०११ को जनगणना अनुसार नेपालको युवाहरुको जनसंख्या झन्डै ४०.३% छ । जसमध्ये अधिकांश युवाहरु शिक्षा,रोजगार र नयाँ अवसरको खोजीमा विदेशिएका छन् ।

उदाहरणका लागि हेर्ने हो भने सन् २०१४ मा अष्ट्रेलियामा डाक्टर कुमोद धितालले मुटू प्रत्यारोपणमा मेडिकल जगतमा विश्वव्यापी ख्यातीप्राप्त गर्ने कुरालाई हेरौं वा सन् २०१३ मा मंगल ग्रहमा पनि पानी छ भनेर पत्ता लगाउने वैज्ञानिक लुजेन्द्र ओझालाई उदाहरणको रुपमा हेर्ने हो भने नेपालको यो जनशक्तिले विश्वमा राष्ट्रको नाम चिनाउदै गर्दा त्यस्तो जनशक्तिलाई कसरी एकै मोर्चामा जोड्दै स्वाबलम्बन बनाउने,आर्थिक होस् वा अन्य माध्यममार्फत होस् राष्ट्र निर्माणको पक्षमा नैतिक समर्थन जुटाउने संस्कृतिलाई विश्वमंच र नेटवर्क विश्वमा रहेका नेपाली मनलाई जोड्ने विषय लगायत अन्य आवश्यक पक्षमा नेविसंघले लिएको छ ।

मूलत: कस्मोपोलिटन फोरममा विद्यार्थीदेखि विद्यार्थी तह र नागरिकदेखि नागरिक तहमा वैचारिक चेतना र सद्भाव कायम गर्दै सांगठनिक र राष्ट्र पक्षीय जिम्मेवारी नेविसंघको प्राथमिकतामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *