२०७८ असोज ५ गते | 21st of September 2021

सम्माननीय प्रधानमन्त्रीज्यूलाई बिन्ती पत्र

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १३ गते ५:३८
  • लक्ष्मण सिटौला

सर्वप्रथम हजूरलाइ बधाई एवम् सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु ।

म आज बिहान गोङ्गबु सामाखुसी चोक बाट महाराजगन्ज हुँदै एयरपोट जाँदै थिए लोकल बसमा । त्यति धेरै ट्राफिक जाम पनि थिएन। एका बिहानै ट्राफिक जामको हैरानी बाट मुक्ति पाउन म छिटो अफिस जाने गरेको छु । सुकेधारा चोकमा पुगेपछि बस रोकियो । त्यहा युवाहरूको एउटा बिशाल लाइन देखे। लगभग गोपिकृश्न हल पुग्न आटेको उक्त लाइन देखेर म अचम्मित भए । ग्लोबल आइ एम इ बैंकमा कोरियन भाषा परिक्षा शुल्क बापत रकम दाखिला गर्नका लागि लाइन पर्खिरहेका हजारौं युवाहरू देखेर आँसु मात्रै आएन मेरो। यस्तो लाग्यो अबको केहि बर्ष भित्र गाउँ सहर नै शुन्य हुनेवाला छ । जवानी जोश उमंग सपना बल बीर्य जति सबै बिदेशीलाई बेचेर अन्तमा गलित शरीर बोकेर कोहि नेपाल फर्कलान वा कोहि नफर्कलान यो दुखको कुरा छ ।

भ्रष्टाचारको मुद्दामा चौध बर्ष जेल परेका बिहारका बाघ भनेर पुकारिने लालुप्रसाद लाई सम्झिए अनि बङला देशकी भुपु बेगमलाइ सम्झिए । ती भन्दात श्रमको पसिनाले जिन्दगीको सपना सजाउन खोज्ने हाम्रै दाजुभाइ धेरै भाग्यमानी हुन भनेर चित्त बुझाए तत्काल । र बसभरी यो कुराको सुइराले कोखमा हानिरह्यो लगातार । त्यस्ता धेरै देशहरु छन जहाँ गएर नेपालीहरुले रगत पसिना पोखेर निर्माण गरेका छन । आज हङकङको प्रगतिका पछाडी पनि नेपाली युवाको हात छ ब्रीटिस सरकारको शासनकाल देखि हाल सम्म पनि नेपाली युवाले त्याहाको माटाको कण कणमा आफ्नो श्रम पोखेका छन । गाह्रो र लेबर काम गर्नी को हो त भन्दा नेपाली युवा जता पनि । त्यस्तै खाडी मुलुकले आज जुन रफ्तारमा प्रगति गरिरहेजो छ त्यस्मा नेपाली युवाहरुको मिहिनेत लगन र पसिना परिरहेको छ ।

बिगतमा कोरियाली सरकारलाइ चामल दिन्थ्यौ रे हामी तर अहिले उसैको दास बन्नलाइ लामबद्द छौ । हामीले भानु भृकुटी सीता बुद्ध सबैलाई बेचिरहेका छौ । बम्बैमा शरीर बेच्नु र कोरियामा पसिना बेच्नुमा कति फरक छ ? ती देशहरुलाइ मनोरञ्जन दिन पर्यो हाम्रै दिदीबहिनी आयात गर्छन पहाड फोर्न पर्यो हाम्रै युवा किन्छन। प्रगतिको साचो जति बिदेशीलाई बुझाएर हामीले चै कहिले सम्म प्रगतिको बन्द ताला खोल्नका लागि कुरिरहने प्रधानमन्त्रीज्यू !!

इतिहासमा गरीब थिए ती देशहरु जतिबेला हामी धनी थियौ । तर आज हामी अफ़्रिकि देशकै तुलनामा पुग्यौ । अफ़्रिकि देशको एउटा काला नागरिकलाई र नेपालीलाई हेर्ने दृस्ठिकोण एउटै भएको छ हिजोआज । नेपाली भनेपछि इमिग्रेसनले नाक खुम्च्याउछन जता गए पनि । खोइ के परिवर्तन ल्यायौत हामीले? ४६ सालको आन्दोलनले ल्याएको प्राप्ति भनेको राजा हट्नु मात्रै थियोत? खोइ जनताको भोक हटेको ?नयाँ सम्बिधान मात्रै पाउनु हाम्रो अभिस्टता थियोत? प्रयोगका लागि मात्रै ब्यवस्था परिवर्तन गर्नु रगतको होलि खेलिएछ जस्तो लाग्न थालेको छ आजकल त । प्रगति बिनाको संविधान त एउटा कागजको दस्तावेज न हो । जनताले सम्बिधान होइन पेटभरी खानलाइ धान चाहेका थिए तर धान फलाउने युवाको लर्को प्रतिदिन दुई हजारका दरले बिदेशीदै छन ।

नेपाल यस्तै हो यहाँ केही हुनेवाला छैन अनि बिदेश नगै के गर्नु भन्ने जन आवाज आज पहाडका हरेक घरमा बोलिन्छ ती आवाजलाई कसरी बन्द गराउने प्रधानमन्त्रीज्यू ? ब्यावस्था मात्रैको परिवर्तनले वा सम्बिधान मात्रैको पुनर्लेखनले हुने वाला केही छैन । सम्बिधानको धारा र उपधारा मात्रै थपघटले मुलुकको सर्वाङीण बिकास हुन सम्भावना छैन ।

इतिहासले तपाईलाई यस्तो मौका दिएको छ कि यस्तो अवसर शायद कुनै नेपाली नेताले नपाउलान । समयको भरपुर उपयोग गर्नुस । तपाईं भित्र एउटा ननिभ्ने दीयालो बलेको छ । जति बोल्नुहुन्छ बोलिरहनुभएको छ त्यस्लाइ कार्वान्वयन गर्नुस । अहिले जति समर्थन र सामर्थ्य भोलि नजुटन सक्छ । स्टेशन बाट रेल छुटेपछि आफू पनि छुटिन्छ । नेपालीले चाहेको बिकासको गति हो सम्बिधान कानुन रुल एन्ड अर्डर फेर्दै गरुला समय छ तर बिकासको लागि समय ज्यादै ढिलो भैसकेको छ किनभने हामीलाई छोडेर अरु धेरै गरीब देश धनी भैसकेका छन हाम्रै युवाका श्रम चोरेर । त्यो युवा जोश र पसिनाले के हाम्रो धरती पनि हराभरा बनाउन सकिन्न र प्रधानमन्त्रीज्यू ?

भानु सीता भृकुटी बुद्द्ले कमाएर पठाएको रेमिटेन्सले मात्रै देश के यसरी नै चल्छ होला त ?

पहाड त शुन्य भैसकेको छ नि प्रधानमन्त्रीज्यू !

कपाल फुलिसकेको छ पहाडको । अब कतिन्जेल सम्म काला कपाल जति सबैलाइ अरब र कोरियाको प्रगति गर्न पठाइरहने ? हाम्रो खेतमा सिरु उम्रेको पनि हेर्नुस्न एकचोटी बिन्ति प्रधानमन्त्रीज्यू !

लास उठाउने मान्छे छैनन गाउँमा । युवा जति कहिले युद्दमा मर्ने मारिने , कहिले भुकम्पमा मर्ने अनि दैनिक हजारौं बिदेशीको प्रगति गर्नु जाने? हाम्रो देशको प्रगति चै खोइत ? हामी नेपालीका छोराछोरीले आफ्नो खेतमा चै एक कुपो खन्न नहुने कोरियामा गएर चै सुगुरको खोर सफा गर्न हुने ?

गाईको मासु खान पाउन पर्छ भन्दै एकाथरी नारा लगाउदै हिंड्न् थालेका छन । शान्त सनातन सर्व धर्मले मान्यता पायको यो मुलुकलाई फेरि केही जमातले खलल पार्दै छन यहाँको आदिम सस्कृती । चुनाव जितेर राज्यको सर्वोच्च उदेश्य केहो भन्ने कुरामा बहस गर्नु पर्ने नेता गाइको मासुको पछि लागेपछि अनि कसरी प्रगति हुन्छ यो देशको ? त्यस्ता अबुझ नेतालाई कार्वाहीको दायरामा ल्याउनुहोस । चुनाव जितेर सभासद हुदैमा केही हुनेवाला छैन। गाइको सिनुमा प्रगतिशिलता देख्ने धर्म बिरोधि नेता भन्दा हलो जोत्ने एउटा किसान महान हुन्छ।

असला माछा जति सबै बिदेशीको शरणार्थी र यहाँ भएका बुदुना चेपा गाडा लार्भा भ्यागुता सब फेसबुकमा अलमस्त ।
योजनाको अभाव छैन यहाँ मात्रै जागर र देश बनाउ भन्ने भावनाको कमि छ । सफलता त्यो जमिन मुनिको पानी हो जुन शय ठाउमा एक मिटर खन्दा मिल्दैन तर धैर्य गरेर एकै ठाउमा शय मिटर खन्दा चाइ मिल्छ । हामी नेपाली बिच त्यो धैर्यताको पहाड कहिले अग्लिन्छ ? तिब्बती राजा स्रङ्चङगम्पोले भृकुटी बिहे गरेर लगे भन्दैमा के नेपाली चेलीलाइ बम्बै बेच्नुपर्छ र? कलाकार अरनिको ( बलबाहु ) कला फैलाउन चीन गए भन्दैमा आधुनिक बलबाहुहरु काम गर्न कोरिया र खाडी मुलुक नै जानुपर्छ नै भन्ने छ र?

किन यस्तो माहोल सिर्जना गरियो ? युवाहरूलाई किन यस्तो स्कुलिङ दिइरहेको छ राज्यले?

कोरिया र अरब बाट कमाएर ल्याएको पैसा केवल राजधानीमा घडेरी किन्ने र घर बनाउने काम मात्रै भएको छ ।

अनुत्पादक क्षेत्रमा भैरहेको लगानी बन्द गर्ने नियम ल्याउनुस ।नियन्त्रण गर्नुस । एउटा बलियो हितकारी कानुन ल्याउनुस कि वैदेशिक रोजगारीमा जानेको पैसा हाइड्रोपावर वा त्यस्तै रोजगारी सिर्जना हुने काममा उपयोग गर्न लगाउनुहोस । ताकी फेरि फेरि पराइ देशको प्रगति गर्न कोहि नेपाली युवा लाम बद्ध हुन नपरोस । अब तपाईं कडा हुनुस । नरम नौनी भएर देश चल्दैन । बलात्कारीलाइ सिधै गोलि हान्नुस । भ्रष्टाचारीलाइ इन्काउन्टरमा मार्नुस। अटेरीको जागीर खाइदिनुस । बेरोजगार धेरै छन यहाँ । मौका दिनुस सुध्रिने । नसोजिने मृत काठ काम छैन त्यस्लाइ इन्धनको रूपमा प्रयोग गर्नुस । तपाईंलाई एउटा यस्तो मौका मिलेको छ कि यो मौकाको भरपुर सदुपयोग गर्नुस । र सधैंको लागि रास्ट्रपिता बन्नुस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *