२०७९ असार १९ गते | 3rd of July 2022

२४१ वर्षको जेल सजाय

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २१ गते १७:२५

बबी बोस्टिक हरेक दिन बिहान ४ः४५ मा ब्युँझिन्छन्।

उठेर मुख धुन्छन्, दाँत माझ्छन् र साढे पाँचतिर नास्ता गर्न जान्छन्। फर्केर आएपछि उनी टिभी हेर्छन्, प्रायः सिएनएन। त्यसपछि प्रार्थना गर्छन् र पढ्न सुरु गर्छन्।

जेल निकै हिंसात्मक हुन्छ। २० वर्षअघि अवस्था झन् खराब थियो। अहिले पनि समस्या खोज्न टाढा जानु पर्दैन। त्यसैले बोस्टिक न्युयोर्क टाइम्स, सेन्ट लुइ पोस्ट डिस्प्याच, आन्टरप्रेनर म्यागेजिन, आदिमा मुन्टो निहुर्‍याएर बसिरहन्छन्।

उनी आत्मकथात्मक कृति मन पराउँछन्। पुस्तकालयमा नभेटिए उनको परिवारले त्यस्ता पुस्तक मगाइदिन सक्छ। तर उनी जे पायो त्यही पढ्छन्। अन्तिम पटक उनले वाल्टर आइज्याकसनको ‘दि इन्नोभेटर्स’ नामक पुस्तक पढेका छन्।

बोस्टिक टिभी आवाजविहीन राख्छन्, सबटाइटल चलिरहेको हुन्छ। यदि कुनै ब्रेकिङ समाचार भए उनी आवाज बढाउँछन्। त्यस्तो केही नभए पढिरहन्छन्।

खाना र बाहिर बस्ने समय (साताको १२ घण्टा) बिताएपछि उनी बेलुकीको १० बजे ओच्छ्यान पस्छन्। भोलिपल्ट ब्युँझेपछि उनी मुख धुन्छन्, दाँत माझ्छन र नास्ता गर्न जान्छन्।

उमेर १६, अपराध १७
बोस्टिक त्यसबेला १६ वर्षका थिए, जतिबेला उनले १७ ओटा अपराध गरेका थिए। उनलाई अपराधैपिच्छेको सजाय जोडेर दिइएको छ। अदालतले पुनर्विचार नगरे उनी कम्तीमा सन् २०९१ सम्म जेलमै हुनेछन्।

उनी अहिले ३९ वर्षका भए, सजायको अन्त्य हुँदा उनी ११२ वर्षका हुनेछन्।

बबी बोस्टिक सेन्ट लुइ, मिजोरीका हुन्, जुन मध्यपश्चिमी अमेरिकामा पर्छन। उनी चार सन्तानमध्ये एक थिए। उनका दाजु र दिदी चाहिँ अर्कै बुबाका सन्तान थिए। उनी हुर्किरहँदा परिवारको साथमा बुबा थिएनन्।

‘हामीकहाँ देखासिकी गर्न लायक पुरुषहरु थिएनन्,’ जेफरसन सिटीको जेलमा उनले भने, ‘गल्लीगल्ली घुमिरहन मलाई पूरा छुट थियो।’

बोस्टिकको परिवार गरिब थियो। उनी कुनै खेलमा सहभागी हुन पाएनन्, किनभने उनी युनिफर्म किन्न सक्दैनथे।

१० वर्षकै उमेरमा उनले चुरोट तान्न र रक्सी पिउन थाले। १२ वर्ष हुँदा गाँजा खान थाले। १३ वर्षको उमेरमा पिसिपी नामक अर्को अवैध लागुऔषध प्रयोग गर्न थाले। त्यही बेला उनी कार चोर्थे वा चोरिएका कार चढ्थे।

‘यो हैसियत प्रदर्शनको कुरा थियो,’ उनी भन्छन्, ‘हाम्रा लागि सम्पत्ति भनेकै त्यही कार थियो, जुन हाम्रो थिएन।’

१९९५, डिसेम्बर महिनाको मंगलबारको दिन उनको जीवन सदाका लागि बदलियो। १६ वर्षे बोस्टिक सहरको अर्को भागमा अवस्थित एक साथीको पनि साथीको घरमा थिए। उनीहरु गाँजा तान्दै जिन पिउँदै थिए। त्यसपछि उनीहरुकी एक केटी साथी बाहिर गइन्।

‘तिनी छिमेककै एक केटासँग कुरा गरिरहेकी थिइन्,’ बोस्टिक सम्झिन्छन्, ‘उसले ती केटीलाई हिर्कायो। उनले नजिकै बसिरहेका हामीलाई बोलाउने धम्की दिइन् तर त्यो मान्छेले उनलाई जा लिएर आइज भन्यो।’ बोस्टिक र उनका साथीहरु ती व्यक्तिसँग झगडा गर्न पुगे। ‘त्यही भएर मसँग बन्दुक थियो,’ उनी भन्छन्।

तर झगडा गोली नचलाई नै सुल्झियो। बोस्टिक र उनका साथी डोनाल्ड हट्सन थप गाँजा तान्न गए।

डोनाल्ड हट्सन

डोनाल्ड हट्सन

‘गाँजा तानिरहँदा हामीले पीडितहरुलाई देख्यौँ,’ बोस्टिक भन्छन्, ‘हामीलाई थाहा भइहाल्यो, तिनीहरु वरिपरिका होइनन्। तिनको ट्रकमा टन्नै सामान थियो।’

ती पीडितहरु खाँचोमा रहेका परिवारलाई उपहार बाँडिरहेका थिए। उनीहरुसँग दुईटा कार र एउटा ट्रकभरी सरसामान थियो। उपहारका रुपमा क्रिसमस ट्री र पुराना सोफा समेत थिए।

‘त्यस्तो योजना थिएन,’ बोस्टिक भन्छन्, ‘हामीले उनीहरुलाई देख्यौँ। मैले हट्सनको अनुहारमा हेरेँ, उसले मलाई हेर्‍यो। त्यसपछि तत्कालै त्यस्तो भयो। हामीले बन्दुक तेर्स्यायौँ।’

बोस्टिक र हट्सन कारबाट सोफाको कुसन निकाल्दै गरेकी महिलासामु पुगे र उनको टाउकोमा बन्दुक ताके। उनी भागेपछि उनीहरुले लखेटे।

ती महिलाको केटासाथी फोनमा कुरा गरिरहेका थिए। यो देखेपछि उनी कराए। त्यसपछि महिलालाई छोडेर बोस्टिक र हस्टन उनको केटासाथीको पछि लागे। उनीहरुले पैसा मागे, ती व्यक्तिलाई मुक्का हाने र जमिनमा लडाए।

जब ती व्यक्तिले पैसा दिन अस्वीकार गरे बोस्टिकले उनलाई गोली हाने। किन त? ‘म कुनै बहाना बनाउन सक्दिनँ,’ उनी भन्छन्, ‘म के गरिरहेको थिएँ भन्ने नै मलाई थाहा थिएन। म उनलाई मार्न वा हिर्काउन खोजिरहेको थिइनँ। म कुनै बहाना बनाउन सक्दिनँ। मैले त्यसो गर्नु हुँदैनथ्यो र त्यसो गरेकोमा मलाई पछुतो छ।’

गोलीले अलिकति छेडेर गएपछि पीडितले उनीहरुलाई ५०० डलर दिए। तर बोस्टिक र हट्सन रोकिएनन्। उनीहरुले उपहार बाँड्ने समूहकै अकी महिलालाई समाते र तिनको छालाको ज्याकेट खोसे। उनीसँग भएको पुरुषसँग पनि उनीहरुले पैसा मागे। ती पुरुषले आफ्नो वालेट झिकेर उनीहरुतिर फ्याँके। त्यसपछि उनीहरुले ती व्यक्तिमाथि पनि गोली चलाए। तर गोली लागेन।

बोस्टिक र हट्सन यतिमै रोकिएनन्।

त्यहाँबाट भागेर उनीहरु आफ्नो केटीसाथीको घरमा गए। केटीसाथीले उनीहरुलाई त्यहाँ बस्न दिइनन्। ‘त्यहाँबाट हामी निस्कियौँ र दाहिनेतिर मोडियौँ,’ बोस्टिक भन्छन्। त्यहीँ उनीहरुले अर्को पीडित भेट्टाए।

ती महिला कारबाट पोकापन्तुरा निकाल्दै थिइन्। बोस्टिक र हट्सनले उनमाथि बन्दुक ताके, कारको चाबी लिए र महिलालाई कारको पछाडि राखेर हुँइकिए।

उनीहरुले महिलालाई कोट फुकाल्न र कानको मुन्द्रा झिक्न भने। उनले आफ्नो पर्स पनि बुझाइन्। हट्सनले अझै पैसा छ कि भनेर महिलाको सुरुवाल र जुत्ता जाँचे। उनले पीडितको छातीमा समेत छोए। अन्ततः ती महिलालाई सडक किनारामा छोडेर बोस्टिक र हट्सन कार हाँकेर बेपत्ता भए।

एक घण्टापछि उनीहरु पक्राउ परे।

बबी बोस्टिक

बबी बोस्टिक

२४१ वर्षको जेल सजाय
‘पक्राउ नपरुञ्जेल मलाई यसको गम्भीरता नै महसुस भएन। ती को मान्छे थिए र के गरिरहेका थिए, मलाई थाहा थिएन। त्यसपछि पछुतो हुनथाल्यो,’ उनी भन्छन्।

उनीहरु पक्राउ परिरहँदा पहिलो पीडितले योजनाअनुसार नै क्रिसमसको उपहार बाँडिन्।

पक्राउ परेको चार महिनापछि बोस्टिकसामु एक प्रस्ताव राखियो। दोष स्वीकार गरेर ३० वर्ष अर्थात् जन्मकैदको सजाय स्वीकार गर्ने। बोस्टिकले अस्वीकार गरे।

आठ महिनापछि उनीसामु ‘अदालतको दया’ नामक अर्को प्रस्ताव ल्याइयो, दोष स्वीकार गरेर न्यायाधीशले जे आदेश दिन्छन्, त्यसलाई मान्ने। यो प्रस्ताव पनि उनले अस्वीकार गरे। किन त?

‘मलाई त्यस्तै सल्लाह दिइएको थियो। मेरो बुबा, झड्केला बुबा, उनी पनि जेलमा थिए। मैले उनलाई पत्र लेखेँ र उनले जस्तोसुकै भए पनि दोष स्वीकार नगर्न सुझाव दिए किनभने पछि के हुन्छ के थाहा! मलाई थाहा थियो, म दोषी छु। तर जुरीमा मलाई मौका मिल्ने विश्वास थियो। १७ वर्षको उमेरमा म स्पष्टसँग सोच्न सकिरहेको थिइनँ।’

बोस्टिक सुनुवाइमा गए र १७ आरोपमा दोषी ठहरिए। जसमध्ये ८ आरोप सशस्त्र अपराधअन्तर्गत थिए भने तीन ओटा लुटपाटअन्तर्गत। उनीमाथि सजाय तोकिनुअघि उनका वकिलले उनलाई न्यायाधीशलाई पत्र लेख्न लगाए। त्यसैले उनले चारपटक पत्र लेखे।

हरेक पत्रले उनको अवस्था अझ खराब बनाउँदै लग्यो।

‘अहिले पछि फर्केर हेर्दा मैले पर्याप्त पश्चाताप व्यक्त नगरेको देख्छु,’ अन्तिम पटक तीन वर्षअघि सो पत्र पढेको बोस्टिक भन्छन्।

उनकी आमा डायनाले पनि न्यायाधीशलाई पत्र लेखिन्।

अदालतमा बोस्किटलाई सम्बोधन गर्दै न्यायाधीश एभिलिन बेकरले भनिन्, ‘तिमी कति प्रतिभाशाली, बुद्धिमान र संसारमा अरु सबैभन्दा जान्ने छौ भनेर तिमीले मलाई यी पत्र लेख्यौ। तर तिमी यो अदालतसामु उभिने सबैभन्दा ठूलो महामूर्ख हौ। तिमीले कुनै पछुतो देखाएका छैनौँ।’

बोस्टिकको सजाय समानान्तर रुपमा होइन, लगातार जोडेर दिने आदेश न्यायाधीशले दिइन्। जम्मा सजाय २४१ वर्ष हुनपुग्यो।

‘तिमीले आफ्नो बाटो रोज्यौ र तिमी आफ्नो रोजाइसहित मर्नेछौ,’ न्यायाधीश बेकरले भनिन्, ‘किनभने बबी बोस्टिक, तिमी डिपार्टमेन्ट अफ करेक्सनमै मर्नेछौ।’

बोस्टिकका साथी डोनाल्ड हट्सनले अदालतको दया स्वीकार गरे। त्यसैले न्यायाधीश बेकरले उनलाई ३० वर्षको सजाय दिइन्।

न्यायधीश एभिलिन बेकर

न्यायधीश एभिलिन बेकर

‘मलाई २४१ वर्षको सजाय दिइएकै क्षण वास्तविकता स्थापित भयो र उनले मलाई म जेलमै मर्ने कुरा पनि सुनाइन्,’ बोस्टिक भन्छन्, ‘जब यस्तो हुन्छ, संसार भताभुंग हुन पुग्छ र वास्तविकता सुरु हुन्छ।’

बोस्टिकलाई दुई महिना किशोर सुधारगृहमा राखियो त्यसपछि वयष्कहरुसँगै जेलमा सारियो। उनका अनुसार जेल ‘पूरै भद्रगोल’ थियो। ‘जेलमा शिकारी र शिकारबीचको लडाइँ थियो,’ उनी भन्छन्, ‘कहीँ न कहीँ मिल्ने प्रयास गर्नुथियो।’

सुरुवाती दिनमा बोस्टिक ‘अनेकौँ परीक्षा’ बाट पार भए। खाना चोरिनु साधारण परीक्षा थियो। ‘म केही झगडामा परेँ। जोसुकै पनि यस्तोमा पर्छ। नयाँ आउने सबैले परीक्षा उत्तीर्ण गर्नुपर्छ। म कलिलै थिएँ र आफूलाई प्रमाणित गर्न बाँकी थियो। लडाइँ गरेर आफूलाई प्रमाणित गर्नु थियो,’ उनी भन्छन्।

बोस्टिकले माध्यामिक स्कुल पास गरेका थिए तर उच्च माध्यामिक स्कुल सुरु गरेका थिएनन्। जेलमा तीन वर्ष बिताएपछि उनले पढाइ सुरु गरे।

उनलाई प्रभावित पार्ने पहिलो पुस्तक माल्कोम एक्सको आत्मकथा थियो। ‘उनी त्यस्ता व्यक्ति थिए, जसले मैले भोगेकै कुरा भोगेका थिए,’ उनी भन्छन्। त्यसपछि उनी ‘पुस्तकमाथि पुस्तक’ पढ्दै गए।

उनले उच्च माध्यामिक विद्यालयबराबरको पढाइ सिध्याए र पुस्तक लेख्न थाले। चार ओटा ननफिक्सन र आठ ओटा कविताकृति। उनको एउटा कविताको शीर्षक छ, ‘द टेरिबल बुलेट।’

उनले विभिन्न पाठ्यक्रम पनि पढे। व्यापार, अर्धकानुनमा स्नातक र अरु थुप्रै। त्यसमध्ये एक थियो, पीडितको वकालतबारे कक्षा। ‘यसमा तपाईंलाई अपराधको सुरुवातदेखि अन्त्यसम्म पीडितले के भोग्छन्, त्यो पढाइन्छ,’ उनी भन्छन्, ‘मैले अपराध गर्दा पीडित को थिए र के गरिरहेका थिए, मैले महसुस नै गरेको थिइनँ।’

‘जेल भनेकै अज्ञानताको राज्य हो,’ बोस्टिक भन्छन्, ‘युवाहरु यसै बसिरहेका हुन्छन्। कोही पढ्ने, अध्ययन गर्ने गर्दैन। जेलमा आउँदा हामी पढ्ने गथ्र्यौँ। आजभोलि त्यस्तो छैन। मात्र टिभी र खेल छ। अहिले सबैथोक खेल बनेको छ।’

बोस्टिक शिक्षामा विश्वास गर्छन्। उनी किशोरकिशोरीलाई सहयोग गर्ने र कुनैदिन आफूले चोरी गरेकै सडकमा च्यारिटी स्थापना गर्ने सपना देख्छन्। तर त्यसका लागि पहिले उनी जेलमुक्त हुन आवश्यक छ।

सन् २०१० मा एक मुद्दामा अमेरिकाको सर्वोच्च अदालतले हत्याको अपराध नगरेका नाबालिगलाई परोलबिना जन्मकैद दिन नहुने आदेश जारी गरेको छ। २०१२ मा सर्वोच्चले हत्या गरेका नाबालिगमा पनि यही नियम लागु गरेको छ। २०१६ मा यो कानुन विगतका मुद्दामा पनि लागु हुनुपर्ने जनाएको छ।

तै पनि बोस्टिकले परोल पाउने छैनन् किनभने मिजोरीको अदालतले उनलाई जन्मकैद होइन, लामो अवधिको सजाय दिएको बताएको छ। उनले एकदमै बुढोसकालमा मात्र परोल पाउने सम्भावना छ।

सजाय दिने न्यायाधीशलाई नै पछुतो
तर बोस्टिकको मुद्दालाई सर्वोच्च अदालतले नै हेर्नुपर्ने आवाज पनि उठ्दै आएको छ। थुप्रै उनको समर्थनमा छन्।

उनको समर्थनमा ती व्यक्ति पनि उभिएकी छन्, जसले उनलाई समर्थन गर्ने सम्भावना एकदम न्युन थियो। सन् १९९७ मा न्यायाधीश एभेलिन बेकरले बोस्टिक जेलमै मर्नुपर्ने फैसला गरेकी थिइन्, अहिले आएर उनले आफ्नो मन बदलेकी छन्।

६९ वर्षीया बेकर अहिले पनि बोस्टिकलाई स्पष्ट सम्झिन्छिन्। बोस्टिकको पत्र पनि उनलाई याद छ।

बेकर २५ वर्ष न्यायाधीश रहेपछि १० वर्षअघि सेवानिवृत्त भइन्। उनले दिएकामध्ये बोस्टिकको २४१ वर्षको सजाय नै सबैभन्दा लामो थियो। ‘मैले दिएको आदेशमध्ये समयको परिमाणमा पछुतो भनेको यही मुद्दामा मात्र छ,’ उनी भन्छिन्, ‘यो परिमाणको सजाय हास्यास्पद छ।’

‘मैले बबीलाई वयष्क व्यक्तिकै तराजुमा राखेँ,’ उनी भन्छिन्, ‘जब म यसलाई पछि फर्केर हेर्छु, मैले भन्नैपर्ने हुन्छ, औसत १६ वर्षका व्यक्ति अलिअलि मनोरोगी हुन्छन्।’

बबी बोस्टिक

बबी बोस्टिक

मिजोरीको अदालतले यो मुद्दामा पुनर्विचार नगर्ने बताएपछि उनले सार्वजनिक वक्तव्य दिइन्, ‘मैले बबीलाई अन्याय गरेँ। यो अन्याय हो र यसलाई सुधार्न सकिन्छ।’

डोनाल्ड हट्सनलाई जस्तै ३० वर्षको जेल सजाय उचित हुने बेकरको भनाइ छ। परोलसहितको ३० वर्ष सजायको अर्थ बोस्टिक यसै वर्ष मुक्त हुन सक्थे।

‘मैले पढेअनुसार बबी १६ वर्षे पंक अब छैनन्, उनी जिम्मेवार वयष्क भइसकेका छन् र आफूले गरेको कामप्रति पछुतो मान्छन्,’ बेकर थप्छिन्।

चिठी लेखेर पीडितहरुसँग माफी माग्न बोस्टिकलाई १० वर्षभन्दा लामो समय लाग्यो। तर पीडितबाट उनले कुनै उत्तर पाएनन्। त्यसपछि उनले सञ्चारमाध्यमबाट माफी मागे। उनी सहानुभूति माग्दैनन्, बरु दोस्रो मौकाको खोजीमा छन्।

उसोभए उनी जेलमै मर्नुपर्छ, लुटपाट, अपहरण र झण्डैझण्डै हत्या जस्ता अपराध माफी दिन योग्य छैनन्, २४१ वर्षको सजाय उनलाई उचितै हो भन्नेहरुलाई उनी के भन्छन् त?

‘उनीहरु आफ्नो दृष्टिकोण राख्न पाउँछन्,’ बोस्टिक भन्छन्, ‘म यहीँ मर्नुपर्छ भन्ने उनीहरुलाई लाग्छ भने उनीहरु त्यसो भन्न पाउँछन्।’

अप्रिल महिनामा अमेरिकी सर्वोच्च अदालतले बोस्टिकको मुद्दामा बोल्ने अपेक्षा गरिएको छ। सर्वोच्चले उनको सजायमा पुनर्विचार वा कानुनी तर्कको खोजी गर्न सक्नेछ।

जसो गरे पनि यो कुराले बोस्टिकलाई सपना देखाइरहेको छ। ‘एक मानिसको रुपमा भन्दा स्वतन्त्रताले दिमागलाई कहिल्यै छोड्दैन,’ उनी भन्छन्, ‘टिभीमा आफूले चाहेका अनेक कुरा देखिन्छ तर प्राप्त गर्न सकिँदैन।’

त्यसैले बोस्टिक उही चक्रमा छन्। हरेक दिन उस्तै छ। बिहान पौने पाँचबाट उनको दैनिक उसैगरी सुरु हुन्छ।

‘मसँग दिने कुरा धेरै छन्,’ उनी भन्छन्, ‘म उही १६ वर्षे किशोर होइन। मेरो मनमा त्यो अपराध गर्ने बच्चाले दोस्रो मौका पाउनुपर्छ भन्ने लागिरहन्छ किनभने ऊ त्यसबेला बच्चा थियो। तर यसको अर्थ उसले जे गर्‍यो, त्यो ठीक थियो भन्ने होइन। एक व्यक्तिको रुपमा उसले जीवन बाँच्ने दोस्रो मौका पाउनुपर्छ।’

उनीप्रति सहानुभूति राख्ने वा नराख्नेहरुका लागि उनी कुनै सन्देश दिन चाहन्छन्?

‘यदि पीडितहरुले यसलाई सुनेका छैनन् भने म फेरि पनि उनीहरुसँग माफी माग्न चाहन्छु। उनीहरुलाई थाहा दिनुस्, म दुःखी छु,’ उनी भन्छन्।

‘यदि कुनै बच्चा वा किशोर मेरो कुरा सुनिरहेको छ भने मलाई उदाहरणको रुपमा लिन अनुरोध गर्छु। जीवनमा के हुनसक्छ भन्ने कुराको उदाहरणका रुपमा मलाई लिनुहोला र मैले गरेको गल्ती गर्नबाट बच्नुहोला,’ उनी भन्छन्।

‘म मेरो अपराधको नीचतालाई साँच्चै महसुस गर्छु। म हरेक दिन यही पश्चातापको साथमा बाँच्ने गर्छु। मेरो बाँकी जीवन कुनै अर्को कुरामा लगानी गर्न पाए हुन्थ्यो भन्ने मात्रै मेरो सपना छ,’ उनी भन्छन्, नेपाल खबरले लेखेको छ ।