२०७८ असोज ५ गते | 21st of September 2021

कांग्रेस पार्टी सुदृढीकरणका लागि युवा नेताको संयुक्त प्रस्ताव पेश हुने

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ६ गते १०:३५

काठमाडौँ –  नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा युवा केन्द्रीय सदस्यले पार्टी सुदृढीकरण गर्ने योजना सहित संयुक्त लिखित प्रस्ताव पेस गर्ने भएका छन् । सकभर वैशाख ७ गते नै नभए ८ गते पार्टी सशक्त बनाउने योजना सहितको संयुक्त लिखित प्रस्ताव पेस गर्ने तयारीमा जुटिरहेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

पार्टीलाई वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने योजना सहितको प्रस्ताव ल्याएर नेतृत्वलाई सचेत गराउने प्रयासमा लागेको उनले बताए ।

९ चैतबाट प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समीक्षाका लागि सुरु भएको केन्द्रीय समितिको बैठक १६ चैतमा नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगित गरिएको थियो । स्थगित बैठक शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।

केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, गगन थापा, धनराज गुरुङ, कल्याण गुरुङ, नवीन्द्रराज जोशी, गुरुराज घिमिरे लगायतको अगुवाइमा ल्याउन लागिएको प्रस्तावमा पार्टीको विधान विपरीत गठन गरिएका कार्यसम्पादन समिति र संसदीय बोर्ड भंग गर्नु पर्ने माग उल्लेख हुने पौडेलले बताए ।

‘पार्टी विधान संशोधन गर्न महासमिति बैठक तत्काल बोलाउनु पर्ने र विधान संशोधनका लागि मस्यौदा तयार गर्न समिति बनाउनु पर्ने माग गर्छौं,’ पौडेलले भने, ‘विधानलाई मिचेर गठन गरिएका कार्यसम्पादन समिति र संसदीय बोर्ड भंग गर्नु पर्ने, वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्ने गराउन संगठन सुदृढीकरण अभियान चलाउनु पर्ने लगायतका विषय मुख्य रूपमा उठाउँछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *