२०७७ फागुन २२ गते | 6th of March 2021

हिमालको कथा – मौनता भित्रको आदिम लय

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ १५ गते १०:३६
– लक्ष्मण सिटौला
 हिजोआज एउटा नाराको बिकास भएको छ – ” हिमाल पहाड तराई कोहि छैन पराइ ” समावेशी नेपालको नव प्रध्वनी हो यो ।तर यो नारा भित्र के साच्चिकै कोहि काखा र कोहि पाखा छैन होलात पक्कै ! सबैले भन्नेगर्छन तराईमा सुन फल्छ । तर हिमालको नाउँ हम्मेसी कसैले पनि लिदैनन । हिमालको नाम वा हिमालय क्षेत्रको चर्चा त्यतिबेला मात्रै चुलिन्छ जब बसन्त ऋतु सुरुहुन्छ । तराई र पहाडमा जब गर्मी सुरु हुन्छ अनि सबैलाई हिमाल प्यारो लाग्न थाल्छ । आजको यो लेखमा म हिमालय शौन्दर्यको कुरा वा पर्वतीय श्रृङ्गारको कुरा गर्न गैरहेको छैन । यो लेखमा हिमाल मुनिको अध्यारोको बारेमा केही कुरा भन्न गैरहेको छु ।
हिमालय पर्वतलाई आफ्नो काधमा बोकेका जिल्लाहरु जुम्ला मुगु डोल्पा मुस्ताङ मनाङ्ग गोरखा रसुवा सिन्धुपाल्चोक दोलखा सोलुखुम्बु सन्खुवासभा र ताप्लेजुङ् हुन । सातै प्रदेश अन्तर्गत पर्ने यी जिल्लाहरुको पहाडी भेग सम्म बिकासको पुर्वाधार खडा  भए पनि पहाडी भेगबाट जब उत्तर तिरको  हिमालय रेन्ज नजिकका स्थानीय क्षेत्र, जहाँ हिमालयको उज्यालो आउँछ त्याहाका स्थानीय जनताको समग्र बिकासको लागि सरकारको कहिले पनि ध्यानाकर्षण हुन सकेको छैन ।
नेपाल सरकार चाहे पन्चायतकालिन हुन, चाहे लोकतान्त्रिक र गणतन्त्रकालिन हुन वा प्रजातान्त्रकालिन हुन ती सबको ध्यान केवल तराई र तराइवासीले दिएको दुख सम्बोधन गर्दैमा पचासौं बर्ष बितिरहेको छ । एउटा सिङ्गो शरीरको मुटुको घाउ हो तराई तर शीर ( हिमाल ) मा फुलेको रोगी कपाल र भित्र दुखेको पिनास तर्फ हाम्रो ध्यान गएको छैन। सत्ताको लुछाचुडिमा केवल तराई मात्रैको आवाजलाई सुनियो तर हिमाल पेन किलर खाएर मात्रै समाधी बसिरह्यो ।
नेपाल सधैं तराईको राजनीतिक समस्या समाधानमा अलमलिएको छ । हिमालय शृङ्खलाका शेर्पा समुदायको आर्थिक, सामाजिक ,सास्कृतिक ,शैक्षिक, भौतिक र धार्मिक उन्नतिका लागि हामीले कहिले पनि ध्यान दिएको देखिएन । तराईको साम्सदले सम्सद भवन भित्र मेच कुर्सी भाचिरहदा हिमालय भेगका साम्सदहरु कुन ढोकाबाट बाहिर निस्कने भनेर हातमा धुपीको माला जपिरहेका हुन्छन ।
खोइ किन होला हिमाल कहिले पनि सम्बोधनमा परेन वा महत्वमा परेन ।
बर्षको चालिस करोड  भन्दा बढी राजस्व  हिमाल चढ्नेहरुले मात्रै नेपाल सरकारललाइ बुझाउछन । त्यस्को तीस प्रतिशत आम्दानी स्थानीय तहमा खर्च गरिएको दावी सरकारले गरेपनी त्यस्को अलिकति पनि छनक स्थानीय तहले अनुभुत गर्न पाएका छैनन । आज पनि त्याहा एक पोका चाउचाउको साठि रुपैयाँ छ । चामल लगायत अरु खाद्य पदार्थ ढुवानीमा सरकारले दिएको अनुदान पनि प्रभावहिन छ । ढुवानीमा अनुदान दिए पनि महगाइ  उस्तै छ । एकातिर अनुदान दिएको बहाना गर्ने अर्को तिर महङाइमा नियन्त्रण र नियमन गर्ने निकायले रिमिते भएर बसिदिएपछी त्यस्को असर केही पनि पर्दैन । यातायात अभाव र भौगोलिक बिकटताका कारण  हिमाली भेगका महिलाहरु प्रसुती सेवा लिन चार लाखको हेलिकप्टर चढेर कि काठमाडौं आउनु पर्यो कि एक हप्ता लगाएर खच्चडमा बोकिएर सदरमुकाम झर्नु पर्यो । खोइ कहाँ छ राज्यको उपस्तिथि त्याहा ? हिमालयको धाक लगाउन हिमालको उन्नतिका लागि खै के गर्यौ हामीले ?
केवल तराई मात्रै प्राथमिकतामा परेको छ । हिमालय कहिले प्राथमिकतामा परेन । यार्सागुम्बा हुने भेगका स्थानीयलेत भलै अलिकति जीवन धान्लान तर सबै ठाँउमा यार्सागुम्बा हुदैन । केवल भोको पेटले हिमाल हेरेर के गर्नु । हिमाल हेर्नु र त्यस्को शौन्दर्य शास्त्र आफ्नो ठाँउमा होला तर हिमाल मुनि बाचिरहेका नेपालीहरुको अनुहारको अँध्यारो कसरी उज्यालो होला यो कुरामा नेपाल सरकारले कहिले ध्यान दिएन ।
हिउँ पगालेर पानी पिउनु पर्ने बाध्यता छ होला भन्ने कुरा कतिपयले अनुमान पनि लगाउन सक्तैनन् । सबै नदीहरुको मुलश्रोत हिमाल हो तर नदी छेउमा घर कतिको हुन्छ र? हिउँको सिरक बनाएर ओढ्नत सकिँदैन वा हिमनदी बगेको किनारमा घर पनित हुदैनन् ।हिमालमा पिउने पानीको अभाव छ त्यो कुरा शायद हामीले बुझेका छैनौ । हिमालमा प्रसस्त जडिबुटी छ तर उपचार गर्न सदरमुकाम नै झर्नुपर्छ । हिमालमा अलिकति आलु अलिकति जौ अलिकति जुनेलो अलिकति कोदो अलिकति कागुनो अलिकति हिउसिमी फलेर के गर्नु उब्जेको अन्नले दुई महिना पनि खान पुग्दैन ।
तराईका नेपालीकोत भारत ससुराली होला ठाँउ समथर छ यता नपुगे उता बाट उता नपुगे यता बाट लैजालान तर हिमाली भेगमा बस्ने नेपाली तिब्बत वा चीन जानलाइ हिउको पर्वत नाघ्न पर्छ । हिमालय आफै पर्खाल हो । त्यो पर्खाल यति दुर्लङ्य छ कि कसैले पनि नाघेर जान सक्तैनन् । तराईले जस्तो रोटी बेटिको  सम्बन्ध राख्दैनन चीन सग हिमालका वासिन्दाले ।
भौगोलिक बिकटताको आँसु धेरै पिएर बाचे हिमाली भेगका जनताले। आज पनि कर्णाली मुगु जुम्ला डोल्पा पाँचथर सोलु पाँचथरका जनता बुद्ध जस्तै शान्त बाचेका छन । तिन्का आवाज किन मौन छन बुझ्न सकिएको छैन । दिनदिनै तराईको चीत्कार सुनिरहेका यी कानले हिमालय पर्वतको गीता सुन्न पाएको छैन । बोल्नु चिच्याउनु वा आवाज निकाल्नु मात्रै ठुलो कुरा होइन । आवाजत पाहाडमा पहिरो खस्ता पनि आउँछ ,आवाजत नदीमा भेल बग्दा पनि आउँछ। आवाजत मेघ गर्जिदा पनि आउँछ। आवाजत निरीह हरिणलाइ बाघले झम्टदा पनि आउँछ । तर मौन बस्नु भित्र कति ठुलो आवाज हुन्छ त्यो कुरा पनि सरकारले बुझ्नुपर्छ । तराईले जस्तो बिकास खोसेर लिएन हिमालले । तराईमा जस्तो सधैं आँखा पुगेन सरकारको तर हिमालको दुख कहिले पनि सम्बोधन भएन । सम्बिधान संसोधनको प्रस्ताव कहिले राखेन हिमालले ।
हिमाललाई त हामीले बेच्यौ मात्रै सालिन्दा । त्यस्को आनन्द ताप्न दियौ अरुलाइ, त्यस्को स्पर्शले अरुलाइ पुलकित बनायौ तर उनै रोएको खोइ त हामीले देखेको वा तिन्को आँसु पुछेको ।
हिमाल रोएको आँसु तराई पुगेको छ । त्यही आसुमा तराइ पौडी खेल्छ । त्यही आसुलाइ तराई बाध बाधेर सिंचाइ गर्छ र सुन फलाउछ । तर कहिले सोधेन तराईले हिमाललाइ के छ तिम्रो दुख भनेर । तराई सधैं आफ्नो बिहेको रत्यौलीमा रङबङ्गी रह्यो । उस्ले कहिले सोधेन हिमालको चिसोको पीडा । तराई सधैं आफ्नै मधुमासमा राज्यलाई मेरो मधुमास हेर भनेर घचघच्याइ रह्यो। उस्ले शिरतिर फर्किएर कहिले हेरेन त्यो लेकको कालो घनघटा ।
हिमाली भेगको सम्पन्नताको बारेमा राज्यले कहिले चासो राखेन ।
वास्तवमा हिमालय पर्वत हेर्नलाइ मात्रै हो भन्ने हेतुमा हामी अलमलिएकै हो । त्याहाका स्थानीय जनताको समृद्धिको लागि राज्यले बनाउनु पर्ने निति अब निर्माण गर्नुपर्छ ।
हिमाल र हिमाली जनता, हिमाली सस्कृतिको उत्थानका लागि अब –
१) आर्थिक सम्पन्नताको लागि पहिलो प्राथमिकता त्याहाको स्थानीय स्रोत साधनको परिचालन ।
२) हिमाल आरोहण गर्दा उठे बापतको रोयल्टी शतप्रतिशत त्यहिको स्थानीय बिकासका लागि खर्च गर्ने।
३) हिमाली भेगका स्थानीय जनतालाई उच्च  माध्यमिक तह सम्मको शिक्षा पुर्ण रूपमा निशुल्क बनाउने ।
४) यार्सागुम्बामा स्थानीय हिमाली भेगका जनताको मात्रै अधिकार प्रत्याभुत गर्ने
५) हिमाली भेगको स्थानीय सरकार आफ्नै समुन्नतिका लागि
  त्यति कृयाशिल देखिदैन । त्यस्मा केन्द्रीय सरकारले प्रत्येक्ष
  निगरानी राखी स्वरोजगार सिर्जनामा स्थानीयलाई सकृय
  बनाउने ।
६) प्रत्येक हिमाली जिल्लामा जडिबुटी प्रशोधन तथा औषधि
  उत्पादन तथा अनुसन्धान केन्द्र स्थापना गर्ने ।
७) जलविद्युत उत्पादनको प्रस्तावित क्षेत्र निर्धारण गरि हिमाली
  क्षेत्र नजिक उत्पादन जलविद्युत गृहलाइ सरकारले अनुदान
  दिई स्थानीयलाई नै अधिकार सप्पन्न बनाउने
८) हिमाल आरोहणका लागि आउने बिदेशीका लागि चाहिने
  टुर गाइड काठमाडौं बाट लिएर जान नपाउने त्यहि टुर गाइड
  उत्पादन गर्न तालिम केन्द्र वा कलेज निर्माण गर्ने ।
९) हिमाली प्रान्तमा खोलिने होटेल ब्यवसायलाइ नेपाल सरकारले
  अनुदान प्रोत्साहन र करमा छुट दिने
१०) सडकको पहुच प्रायः हिमाली जिल्लाहरुमा आजसम्म छैनन
  सडक निर्माण लाई पहिलो प्राथमिकता राख्ने ।
११) पर्यटन प्रबर्द्धनका लागि हिमाल र हिमाली जनतानै आधार स्रोत भएको नाताले तिनको समृद्धिका लागि नेपाल सरकारले प्रचुरमात्रामा बजेट ब्यावस्थापन गर्ने ।
१२) नेपाल घुम्न आउने बिदेशीलाई पर्वतीय यात्रा अनुमति पत्र दिदानैस्थानीय बिकास कर भनेर छुट्टै रोयल्टी उठाउने र त्यो उठेको निर्धारित रकम स्थानीय बिकासमा खर्च गर्ने
१३)  हिमाली भेगको बिकासका निम्ति राजधानीमा स्थापना गरिएकापाँच तारे होटेललाइ विशेष कर लगाउने र त्यो रकम त्यस
भेगको आर्थिक समृद्धि योजनामा खर्च गरिने ।
१४) शेर्पा समुदायको जातीय समुत्थानका लागि अनुसन्धान र
   शेर्पा सस्कृतिको अध्ययन युनिभर्सिटीहरु बाट गराउने
१५) आदिवासी अन्तर्गत पर्ने शेर्पाहरुलाइ लोपोन्मुख समुदायमा
   राखेर त्यस्को जनसान्खिक वृद्धिका लागि पहल गर्ने
१६) हिमाल मुनिका आदिवासी शेर्पा र अन्य बर्गलाइ बिदेश पलायन हुन बाट जोगाउने ।
१७) शेर्पाहरुलाइ हरेक बर्ष हिमाल आरोहण गर्न आएका बिदेशीले स्पोन्सर गरेर युरोप अ्मेरिका अस्ट्रेलिया लिएर जाने क्रम धेरै बढेको छ । यो प्रक्रियामा रोक लगाइयन भने हिमाल निकटभविस्यमा खाली हुने अवस्था आउन सक्नेछ ।
हिमालय छैन भने नेपाल पनि छैन । हिमालयको सुरक्षा भनेको पर्वतको मात्रै सुरक्षा होइन । हिमालको फेद मुनि बाचिरहेको हुर्किरहेको त्याहाका जनता र तिन्को हिमाली सस्कृति पनि हो ।शेर्पा समुदायको उत्थान र संरक्षकत्वको लागि आज सम्म नेपाल सरकारले के काम गर्यो त्यस्को  अभिलेख स्थानीय तथा पर्यटन मन्त्रालयमा होला तर त्यहाको अवस्था आज पनि पुरातन नै छ ।
 केवल लुक्ला एयरपोटमा तारा एयरले दिनको पचास फ्लाईट उडान भरेर बिदेशीलाइ हिमाल देखाउन ओसारपसार गरेर मात्रै समस्त हिमाली जनताको आर्थिक उत्थान हुदैन । त्यही लुक्ला  हो जहाँ एक पाकेट नुनको ७० रुपैया छ ,एक पाकेट वाइवाइको ६० रुपैयाँ छ , एक किलो चामलको ३०० छ, एउटा कुखुराको अन्डाको २५ रुपैया छ , एक पत्ता सिटामोलको २०० छ । एक छाक खानाको पाँच शय छ ।  पैसा हुनेले मात्रै बाच्न पाउने होर ?
सोलु सल्लेरी हुँदै लुक्ला सम्म मोटर बाटो पुर्याउने योजना बिचमै अलपत्र परेको छ । लुक्ला सम्म मोटर बाटो पुर्याउन सकिएको खण्डमा हवाई जहाज बाट बोकेर लगेको खाद्यान्नको महगाइ बाट स्थानीयले राहत पाउने थिए ।
हिमाल भनेको सगरमाथा मात्रै होइन । हिमाल भनेको अन्नपूर्ण र गौरीशंकर मात्रै होइन । सयौं हिमालय पर्वतले सुसज्जित छिन नेपाल आमा  । हिमाल आफै मौन छ । चुपचापले बसेको छ । चुपचापले सहेको छ यस्ले बिदेसी बुटको चाप । शौन्दर्य बेचेर कमायको पैसा राजधानी भित्रीन्छ, त्याहात केवल फोहोरको थुप्रो लाग्छ । पन्ध्र दिन बिदेसीको हरक आउँछ त्याहा । केही आम्दानी होला स्थानीय जनतालाई पनि । केही भरिया भएर थोरै कमाउलान तर अर्को एघार महिना बेरोजगार भएर बस्नु परेको पीडा खोइ कस्ले बुझ्यो र आजसम्म ?
एन जि यो र आइ एन जि यो का हरीया झिंगाहरु खुब भन्किन्छ त्याहा पनि ! तर एक पाकेट जीवन जल बेच्दा पसलेले तारा एयरले बोकेको हवाई भाडाको चौबर दर कसेर लिन्छ अनि पाखाला लागेर थलिन्छन शेर्पा दाइहरु । शेर्पा दाइको ओठको उभारमा हिमालय हासेपनी खोइ किन हो शेर्पा दाइले कहिले पनि मेच कुर्सी भाचेनन प्रतिनिधि सभाहलमा । कहिले गुनासो सुनिन मैले तिन्को मुखबाट ।
 समावेशी गणतन्त्र नेपालमा खोइ मेरो हिमालयका शेर्पा दाइ र शेर्पिनी दिदीको नाम र प्रतिनिधित्व कहाँनीर छ देखाउनुस्त ? केवल तराईको तातोले मथिङ्गल हल्लाउछ यहाँ तर हिमालय कहिले बोलेन । न उ दङ्स्यावो पिङ्गको कुरा गर्छ न उ मोदी आउदा चिच्याउछ । हिमाल बुद्द बनेर चुपचापले मौन छ तर हामीले कहिले बुझेनौ त्यो मौनता भित्रको आदिम लय ।

laxmanrajsitaula@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *